बागलुङ, २९ असोज – एनएमबि बैंकको शाखा कार्यालयले समयमा रकम जम्मा गर्न नसक्दा बागलुङको जैमिनी नगरपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुह दशैंअघि भत्ता लिनबाट बञ्चित भएका छन् । नगरपालिकाले दशैंअघि नै निकासा पठाएको भएपनि बैंकले भने मंगलबारसम्म सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा गरेको छैन् । जैमिनी नगरपालिकाले वडा नं १ देखि वडा नं ५ सम्मका सामाजिक सुरक्षा भत्ता पाउने २ हजार ५ सय जनाको रकम साविकको ओम डेभलपमेण्ट बैंकमार्फत भुक्तानी गर्दै आएको थियो । ओम बैंक र एनएमबि बैंक एकै ठाउँमा गाँभिएर बनेको एनएमबि बैंकले नयाँ पद्धती सुरुवात भएकै दिन रकम आएकाले समयमा भत्ता खातामा जम्मा गर्न नसकेको जनाएको छ ।
‘दशैंमा भत्ता नपाएर बुढाबुढीले हामीलाई सरापेका छन्’ जैमिनी–२ दमेकका वडाध्यक्ष लक्ष्मी प्रसाद सावपकोटाले भने ‘त्यहीँ भत्ताले नै खर्च जोहो गरेर चार्डपर्व मान्नेहरुलाई त बिजोकनै भयो ।’ भक्ता नाएका असाहयहरुले ऋण काँडेर दशैं खर्च चलाएका छन् । भत्ता आउने आशा मरेपछि दशैं खर्च चलाउनकै लागि व्याज दिने सर्तमा ऋण काडेको जैमिनी–१ कुश्मीशेराका ८७ बर्षिया बृद्धा मणिरत्न पाध्याले बताए । उनको अन्य कुनै आयस्रोत र आधार लिने परिवार समेत छैनन् ।
नगरका बाँकी पाँच वडामा भने दशैंअघि नै वडा सचिवमार्फत सामाजिक सु्रक्षा भक्ता बाँडिएको थियो । ‘हामीले एकैदिन बैंकमार्फत भुक्तानी हुने र वडामार्फत भुक्तानी हुने रकम निकासा गरेका हौं’ प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने ‘बैंक मर्जरमा जाँदा केही समस्या भएर ढिला भएको होला ।’ नगरको लेखा शाखाले असोज १४ गतेनै सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरेको थियो ।
बैंकले भने मरिसकेका मान्छेको समेत भत्ता आएको र केही नयाँ भत्ता लिनेहरुको खाता खुलाउन बाँकी रहेका बितरण गर्न नसकेको जनाएको छ । ‘ढिलो गरी पैसा आयो हामीले काम गरिरहेका छौं’ एनएमबि बैंक कुश्मीशेरा खाशाका प्रबन्धक दिनेश सुवेदीले भने ‘भेरीफाई गरेर बुधबारबाट खातामा पैसा पठाउन सुरु गर्छौं’ बैंक मर्जिङ हुँदा नयाँ पद्धतिमा काम गर्नुपर्ने र खाता नम्बरहरु समेत परिवर्तन भएकाले समस्या आएको सुवेदीले बताए ।





