बागलुङ, ३० असोज – नौ बर्ष पहिलासम्म घरको समान्य खर्च चलाउन समेत श्रीमानको भर पर्ने सिता सुवेदीका दिन अहिले फेरिएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानकी सिता जब गाउँमै खुलेको बचत तथा ऋण सहकारीमा शेयर सदस्य बनिन् त्यसयता उनको दैनिक आर्थिक क्रियाकलाप आफ्नै पौरखमा चल्ने गरेको छ । हातमा पैसा हुँदा बचत गर्ने र नहुँदा सरसापटी लिने माध्यम बनेको छ घरछेउकै सहकारी ।
‘सुरुमा उहाँ (श्रीमान) ले नै पैसा दिएर शेयर बनेकी हुँ’ सिता भन्छिन् ‘अहिले त अलि–अलि पैसा म सँग पनि छ, सहकारीमा बचत गरेकी छु, चाहिँदा खर्च गर्छु ।’ गोठमा पालेको भैसीको दुध, एक÷दुई वटा बाख्रा र खेतबारीको नगदेबाली बिक्रीबाट आउने रकम उनको बचत गर्ने स्रोत हो । सिता बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाकी संस्थापक शेयर सदस्य बनेकी छिन् । सहकारीमा शेयर सदस्य बने यता ठुलै खर्च हुने काममा बाहेक सानातिना खर्च गर्न आफै समक्षम भएको उनी बताउँछिन् ।
उनी मात्रै होईन नारायणस्थानका प्रत्येक घरका महिलाहरु गाउँमा खुलेका सहकारी संस्थाहरुमा आवद्व भएका छन् । बलेवा एकता, राहत, सानाकिसान लगायतका सहकारीले यहाँका महिलामा आर्थिक पहुँच बढाएका छन् । ‘हाम्रो सहकारीमा शेयर सदस्यहरु महिला नै बढि हुनुहुन्छ’ बलेवा एकता बचत तथा ऋण सहकारीका प्रबन्धक भरत पौडेलले भने ‘दैनिक कारोवार गर्ने ८० प्रतिशत महिलाकै संख्या छ ।’ अधिकांश युवा रोजगारीको शिलशिलामा बिदेशमा रहेकाले नजिकको बैंक जस्तै बनेका सहकारीमा कारोवार गर्न महिला नै पुग्छन् ।
गाउँघरमा हुने पशु चौपायाको बिक्री र त्यसबाट आउने रकम समेत जम्ममा गरेर यहाँ महिलाहरुले आफ्नो आर्थिक क्षमता बिकास गरेका छन् । ‘पाठापाठी बेचेर पैसा जम्मा गर्न सहकारीमा आउनुहुन्छ’ सहकारीका निवर्तमान अध्यक्ष दिपेन्द्र खड्का भन्छन् ‘बचत गर्ने र खर्च कम गर्ने बानीको बिकास भएको छ ।’ पुरुषहरुको तुलनामा बचत गर्न महिलाहरु सिपालु रहेको अनुभव खड्काले सुनाए ।
झण्डै एक दर्जन सहकारी रहेको वडामा तीन चार वटा सहकारीले मात्रै सक्रिय कारोवार गरेका छन् । यहाँका सहकारीले महिला शेयर सदस्यमार्फत गरेको लगानी उत्पादनशिल क्षेत्रमा प्रयोग भैरहेको पनि दाबी गर्छन् । ‘हामीले जम्मा गरेको सानो–सानो पूँजी लगानी गर्दा सानै भएपनि उत्पादनशिल क्षेत्रमा भएको छ’ प्रबन्धक पौडेलले भने ‘दुधको व्यापार गर्न भैसी किन्न, बाख्रा पाल्न र तरकारी तथा फलफुल खेती गर्न ऋण माग्न आउनेहरु धेरै छन् ।’ अधिक बिप्रेषण भित्रिने नारायणस्थानमा सहकारीले नै सबै खाले बिप्रेषणको कारोवार गर्दै आएको छ ।
‘बिदेशबाट आएको रकम झिक्न महिला नै आउँछन्, सहकारीमै रहेको खातामा जम्मा गरेर जान्छन् ।’ सहकारीकी आर्थिक विभाग प्रमुख अस्मिता गौतम खड्का भन्छिन् ‘घरमा हुने सामान्य आम्दानीदेखि बिदेशबाट आउने रकममा समेत महिलाहरुको पहुँच बढेको छ ।’ शेयर सदस्यसँग मात्रै कारोवार गर्ने सहकारीहरुलाई स्थानीयले नजिकैको बैंक सम्झिने गरेका छन् । ‘ऋण चाहिए पनि यहीँ आउने हो, धन भए पनि यहीँ’ स्थानीय प्रताप पौडेलले भने ‘हाम्रो धनको सुरक्षा र आवश्यकताको सहयात्री बनेको छ सहकारी ।’ पहिले बिदेशबाट आउने रकम र गाउँका उत्पादन बिक्रीबाट आउने रकमको सुरक्षाका लागि जिल्ला सदरमुकामका बैंक जानुपर्ने बाध्यता हटेको पौडेलले सुनाए ।





