बागलुङ, १ कात्तिक – धानमा दाना लाग्ने समयमा कालो पोके रोग लागेपछि बागलुङको जैमिनी नगरपालिकाका किसान चिन्तित बनेका छन् । जैमिनी नगरपालिकाको झण्डै ३ सय हेक्टर जमिनमा लगाईएको ‘शंकर युएस १२’ नामको हाईब्रिड धानमा कालो पोके रोग लागेको छ । चिसो र बर्षाका कारणले लाग्ने यो रोगका कारण ५० प्रतिशतसम्म उत्पादन घटाउने कृषि प्राबिधिकहरु बताउँछन् । कालो पोके रोग लागेपछि धानको दाना नलाग्ने, लागेको दाना नबढ्ने र पुष्ट दाना नहुने समस्या हुन्छ । ‘धानका लागि कालो पोके खतरनाक रोग हो’ कृषि प्राबिधिक रबिन्द्र शर्माले भने ‘यसपालि पोके धेरै देखिएकाले धान उत्पादन घट्ने निश्चित छ ।’ धानमा दाना लागेर पुष्टिने बेलामा लागेको कालो पोके रोगले उत्पादन घाटाउने स्थानीय किसान होमनाथ शर्माले बताए । ‘भएको एक हलको मेलो जमिनमा यहिँ धान लगाएको थिएँ, पाँच मुरी धान फल्ने खेतमा ५० पाथी उब्जिन्छ कि उब्जिन्न ।’ शर्माले भने ‘बिउ अगतिलो परेर हो की मौसमका कारणले हो, उत्पादन घटेर बर्बाद बनाउने भयो ।’ शर्मा जस्तै अन्य किसानले लगाएको धानमा यो रोगको समस्या छ । कालो पोके रोगकै कारण बिगतको तुलनामा यस बर्ष धानको उत्पादन ह्वात्तै घट्नेमा किसान चिन्तित बनेका छन् ।
बिषेश गरेर ‘शंकर युएस १२’ जातको धानमा मात्रै यो समस्या देखा परेको हो । अरु स्थानीय जातका धानमा रोगको संक्रमण नरहेको प्राबिधिक शर्माले बताए । जैमिनीका किसानले केही बर्ष पहिलेदेखि नै यो धानको बिउ प्रयोग गर्दै आएका थिए । ‘दर्श बर्ष पहिलेदेखि यहाँ उत्पादन हुँदै आएको धान हो’ जैमिनी नगरपालिकाका कृषि शाखा प्रमुख अर्जुन प्रसाद श्रेष्ठले भने ‘यसपटक चिसो र बर्षाका कारण कालो पोकेको समस्या देखाप¥यो ।’ अरु धानभन्दा धेरै उत्पादन हुने भएकाले किसानहरुको रोजाईमा ‘शंकर युएस १२’ जातको धान परेको थियो । रोगको संक्रमणका कारण धान खेतीमा क्षति पुग्ने निश्चित भए पनि किसानले क्षतिपूर्ति भने नपाउने भएका छन् । नेपाल सरकारले ‘शंकर युएस १२’ जातको धानको बिउँ सामुन्द्रिक सतहबाट ७ सय मिटर तल मात्रै प्रयोग गर्न सिफारिस गरेको छ । जैमिनीका किसानले यो धान लगाएको अधिकांश भू–भाग ७ सय मिटरभन्दा माथि १४ सय मिटरसम्म रहेकाले क्षतिपुर्ति सिफारिस गर्न नसकिने कृषि प्राबिधिक बताउँछन् ।
‘हाम्रो सल्लाह र सिफारिसमा लगाईएको होईन, किसानले आँफै ल्याएर बिउ लगाए’ उनले भने ‘सिफारिस नभएको बिउले बेला–बेला धोका दिईरहन्छ ।’ बिगतका बर्षमा राम्रो उत्पादन भएको भन्दै कृषि शाखाका प्रमुख श्रेष्ठले नै व्यक्तिगत रुपमा समेत बिउ बिक्री गरेका थिए । ‘सरकारले सिफारिस गरेको छैन तर किसानले मागेपछि हामीले पनि बिउँ दियौं’ श्रेष्ठले भने ‘अहिले अधिक बर्षा र छिटो चिसो मौसम सुरु भएकाले समस्या देखियो ।’ किसानहरुले भने मौषमी संक्रमणका कारण बालीमा भएको क्षतीको पूर्ती पाउनुपर्ने माग गरेका छन् ।





