गायन र अभिनय दुवैमा दख्खल राख्ने कलाकार दुर्गेश थापा नेपाली सांगीतिक क्षेत्रमा उदायको केही बर्ष भयो । युवा पुस्तामा केही समय पहिलादेखि नै चर्चामा रहेका थापा तीजका बेला बजारमा आएको ‘बिच बिचमा’ बोलको गीतले भने प्रायः सबै नेपालीको मनमा बसे । गाउँले टिपिकल शब्दलाई नयाँ शैलीले प्रस्तुत गरेका थापाको गीत निकै रुचाईयो । केही आलोचकबाहेक उनले सबैको माया नै पाए । थापाले गाएको ‘बिच बिचमा’ गीत युवा पुस्ताको थेगो मात्रै बनेन् श्रव्य÷दृष्य सञ्चारमाध्यमले बिज्ञापन बिकाउने साधन पनि बन्यो र भन्न थाले ‘बिज्ञापन त आईनै हाल्छ बिच बिचमा ।’ थापाले ‘बिच बिचमा’ बोलको गीतबाट पाएको सफलताले हौसिएर पछिल्लो समय तिहार लक्षित गीत बजारमा ल्याएका छन् । ‘ह्याप्पी तिहार, चिसो बियर’ नाम दिईएको गीत उनको आफ्नै युटुब च्यानलमार्फत दर्शक श्रोता माझ आएको छ । तिहारको बेला गाउँघरमा खेलिने देउसी भैलोमा प्रयोग हुने शव्दहरुलाई समावेश गरिएको गीतमा थेगो र बीच बीचमा आउने केही शव्दहरु भने हाम्रो सामाजिक मुल्य मान्यता र कानुनलाई नै चुनौती दिने खालका छन् । दुर्गेशले सुरुकै अन्तरामा प्रयोग गरेको ‘ले निकाल गाँजा खाने हो आज’ शव्द कानुन बिपरितको शव्द हो ।
नेपालको कानुनले गाँजालाई लागुपदार्थ भनेको छ । यसको प्रयोगमा प्रतिबन्ध लगाईएको छभने बिक्री वितरण गर्नेलाई कारवाहीको व्यवस्था छ । कानुन अनुसार मदिराको प्रयोग तथा मदिराजन्य बस्तुको प्रचारमा कानुनले तोकेको चेतनामुलक सामग्री राख्नु पर्छ । तर दुर्गेशले गाएको उक्साउने खालको गीतमा मदिराको व्यापक प्रयोग गरेर भिडियो बनाईएको छ तर चेतनामुलक सामग्री छैन् । तिहार लक्षित गीत भएकाले यहाँ तिहारको बिषयमा केही लेख्नु आवश्यक होला । हिन्दु परम्परा अनुसार राक्षसलाई पराजय गरेर देवी देवताहरुले बिजय हाँसिल गरेको पर्वको रुपमा तिहारलाई मनाईन्छ । यो पर्व, उज्यालो पर्वको रुपमा पनि मनाउने चलन छ । रंग, दिप र फुलसँगै यो पर्वलाई सांगीतिक पर्व पनि भन्ने गरिएको छ । देउसी र भैलो खेल्ने पर्व भएकाले यसलाई सांगीतिक पर्व भनिएको हो । दुर्गेशले पनि यहि शव्दलाई आत्मासाथ गरेर गीत बजारमा ल्याए तर त्यो गीत देउँसी र भैलोको मर्मसँग मिल्ने खालको छ वा छैन् । दर्शक स्रोताले मुल्यांकन गर्ने बिषय हो । खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभं्रश भएर आएको मानिन्छ । अयोध्याबासीले आफ्ना राजाको आगमनमा खुसीयालीमा दियो बालेका थिए । त्यो कालो रात दियोको उज्यालोले धर्ती जगमगाएको थियो । त्यसबेला भगवान रामको नाम पुकार्दै मानिसहरु घर, टोल घुमेका थिए । यहि प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ । अर्को कथन अनुसार एकजना राजा थिए, बली भन्ने । उनी अति नै दानी थिए । प्रत्येक दिन दान गरेर मात्र उनी आफु भोजन गर्थे । उनको यो पुण्यको कामले ठूलो ख्याती पायो । उनको प्रतापले स्वर्ग लोक हल्लिन थाले । त्यसपछि देवताहरुको आग्रह मान्दै भगवान बिष्णुले वामनको रुप धारण गरे । वामनको रुप विराट भयो । एउटै पाउले समस्त पृथ्वी ढाकीदियो । अर्को पाउले आकाश र तेस्रो पाउ पर्नसाथ बली भाँसिएर पाताल पुगे । उनले अन्त्यमा विष्णुसँग प्रार्थना गरे की, बर्षमा एक पटक तिहारको बेला पृथ्वी घुम्न पाइयोस् । यसलाई स्विकार्दै विष्णुले बलीलाई बर्षमा एक पटक पृथ्वीमा घुम्ने अनुमति दिए । अतः उनै बली राजा तिहारको दिन घुम्न आउने धार्मिक विश्वाससहित दिप प्रज्वलन गर्ने, देउसी भैलो खेल्ने गरिन्छ । देउसेहरु बली राजा आउन नभ्याएको । आफुहरु बली राजाको हुकुम अनुसार आएको भन्दै देउसी भट्याउने गर्छन् । यहि मान्यतामा आधारित रहेर गाईएको गीत हो ‘ह्याप्पी तिहार ।’
तिहारको कोशेली भनेर दर्शक स्रोतामाझ आएको गीतले तिहारको झल्को भन्दा धेरै बियरको प्रचार गरेको छ । शव्दहरुमा पश्चिमा संस्कृतिको व्यापक प्रभाव देखिन्छ । जुन हाम्रो मौलिक संस्कृति माथिको प्रहार हो । कलाकार देशका गहना मात्रै हैनन् बिकासका साझेदार र चेतनाका प्रबर्धक पनि हुन् । एउटा कलाकारले गाएको गीतका प्रभावले समाज कसरी परिवर्तन हुन्छ भन्ने कयौं उदाहरणहरु छन् । नेपालमै हेर्ने हो भने जीवन शर्मा, बिष्णु खत्री, पशुपती शर्मा लगायतले गाएका गीतका प्रभावले भएका परिवर्तन उदाहरण हुन् । आम मानिसको धारणा बनाउन कलाकारले गाएका गीतले मद्धत गर्छ । जसको उदाहरण दुर्गेश आँफैपनि हुन् । ‘छ मायाँ छपक्कै’ टिमले उनको तिज गीतको थेगोमा आफ्नो चलचित्र प्रचार सामग्री त्यही कारण बनाउन लगाएको हो र सफल पनि भयो । अन्तराष्ट्रिय उदाहरण हेर्ने हो भने अमेरिकाका एक जना कलाकारले गीतबाट सामाजिक परिवर्तनमा योगदान पु¥याएको भन्दै नोबेल पुरस्कार नै पाए ।
स्रोतका अनुसार सन् २०१६ को साहित्यको नोबेल पुरस्कार अमेरिकन गायक बब डिलनलाई दिइयो । उनलाई अमेरिकी गीतको परम्परामा नयाँ अभिव्यक्तिको सृजनाका लागि यो पुरस्कार दिइएको हो । उनले गाएका गीत ब्लोइनुइन द वीन्ठ र र दे आर अ चान्जिन पुरै अमेरिकासँगै विश्वमा युद्ध विरोधी र नागरिक अधिकारका गीत बन्न सफल भएका थिए । उनले पाएको नोबेल पुरस्कारले गीत संगीतमा कत्तिको दम छ र समाज परिवर्तनमा भुमिका छ छैन भन्ने देखाउँछ । दुर्गेशले गाएको पछिल्लो समयको गीतले भने जस्तै ‘ह्याप्पी तिहार चिसो बियर’ सँग मनाउन थाल्ने हो भने के होला ? यसको असर समाजमा कस्तो खालको पर्ला, यसको उत्तर दुर्गेश आँफैसँग समेत नहोला । किनभने पछिल्लो समय युटुवमा भ्यूअर बढाउने, बिज्ञापन तान्ने र पैसा कमाउने ध्याउन्नमा बनेका गीत धेरै छन् । त्यसको प्रभाव दुर्गेशमा पनि परेको हुन सक्छ । दुर्गेश आँफैले बनाएका गीतमा प्रयोग भएका सबै शव्द र गीतको शैलीमा कुनै गुनासो छैन् । थेगोमा प्रयोग भएको शव्द र उनकै भाषामा बिच बिचमा आउने शव्दहरुको प्रभावका बिषयमा भने खोजी गर्नु आवश्यक छ ।
यो सामाग्री तयार गर्दासम्म उनको गीत युटुवमा झण्डै १९ लाख दर्शकले हेरेका छन् । उनको गीतमा के कस्ता प्रतिकृया आए भन्ने बिषयलाई भने गोप्य राखिएको छ । यसले पनि के देखाउँछ भने उनको आफ्नो अभिव्यक्ति जर्बजस्त बिकाउने तर दर्शकका अभिव्यक्ति अस्विकार गर्ने प्रबृत्ति बढी छ । दुर्गेश थापाको पछिल्लो समय बजारमा आएको गीत मात्रै होईन नेपालमा कयौं गीत संगीतहरु बेला बेलामा विवादमा आउने गरेका छन् । पर्वका नाममा आएका हुन् वा हिउँद बर्षाको मौसम छोपेर । देशमा निर्माण हुने चलचित्रमा जाँचबुँज भए जस्तै गीत संगीतको क्षेत्रमा पनि जाँच बुँजको प्रबन्ध गर्नु राज्यको दायित्व बन्नु पर्छ ।




