बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाल भ्रमण वर्षमा एनआरएनएसँग पर्यटक भित्र्याउने समझदारी

नेपाल भ्रमण वर्षमा एनआरएनएसँग पर्यटक भित्र्याउने समझदारी

गैरआवासीय नेपालीलाई सन् २०२० मा स्पेन्ड होलिडे इन नेपाल विथ फ्यामिली एन्ड फ्रेन्ड्स अभियान सञ्चालन गर्ने सहमति


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७६, सोमबार

काठमाडौ, ४ कात्तिक – विदेशमा हुने एक नेपालीले एक विदेशी साथी नेपाल गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयविच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमण वर्षलाई सफल पार्न विश्वभरबाट विदेशी पाठउन समझदारी भएको हो । यसको अभिलेखीकरण दुवै पक्षले गर्नेछन् । सचिवालयले सबैभन्दा बढी विदेशीलाई नेपाल पठाउने व्यक्ति तथा संघसंस्थालाई सम्मान गर्न सरकारलाई सिफारिस गर्नेछ ।
सचिवालयले ‘विदेशी साथी नेपाल’ पठाउ अभियानअन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाका लागि विभिन्न छुटको व्यवस्था मिलाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्षकुमार पन्तले १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
त्यस्तै संघले विदेशमा रहेका व्यावसायिक फर्म, होटल तथा रेस्टुरेन्टमा नेपालसम्बन्धी प्रचार सामग्री राखेर प्रचारप्रसार गर्ने समझदारी भएको छ । त्यस्तै प्रचारप्रसारका सामग्री आगन्तुकहरूलाई वितरण गरिनेछ । एनआरएनएले नेपाल भ्रमण वर्ष २०२० अवधिभर संघका विश्वभर आयोजना हुने सेमिनार, गोष्ठीलगायत कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउनेछ । यसरी नेपालमा आयोजना गरिने विभिन्न गोष्ठी तथा सेमिनारको समन्वयको काम सचिवालयले गर्नेछ । विभिन्न देशमा रहेका गैरआवासीय नेपालीलाई सन् २०२० मा स्पेन्ड होलिडे इन नेपाल विथ फ्यामिली एन्ड फ्रेन्ड्स अभियान सञ्चालन गर्ने सहमति भएको छ ।
संघले विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा भ्रमण वर्ष प्रवद्र्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउनेछ । नेपाल भ्रमण वर्षको प्रचारप्रसारका लागि सचिवालयको समन्वयमा संघले वर्षभरि विश्वका प्रमुख सहरमा कार तथा साइकल र्‍याली गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
संघका विश्वभरिका सदस्य तथा नेपाली संघसंस्थामा आबद्ध नेपालीहरूको माध्यमबाट उनीहरूको रोजगारदाता, व्यावसायिक साझेदार संघसंस्था तथा व्यक्तिलाई भ्रमणका निम्ति निमन्त्रणा गर्नेछ । सचिवालय र संघको समन्वयमा जनवरी साता हुने नेपाल भ्रमण वर्षको सुरुवातलाई सफल बनाउन सम्बन्धित देशका कूटनीतिक नियोगहरूसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्न संघ तयार भएको छ ।
संघले सम्बन्धित देशका सञ्चार माध्यममा डिजिटल मार्केटिङको व्यवस्था गर्नेछ । सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघसंस्थाको सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामग्री प्रवाह गरिनेछ । त्यस्तै संघले विभिन्न देशका सार्वजनिक स्थल, बस स्टेसन, रेल्वे स्टेसन तथा प्रमुख पर्यटकीय क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री वितरण गर्ने र यससँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ । उक्त कार्यक्रमहरू गर्दा लाग्ने खर्चको आर्थिक स्रोतको प्रबन्ध संघ आफैंले गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->