बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार

च्याङ्ग्रा अभाव, च्याङ्ग्रीको व्यापार


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७६, शुक्रबार

बागलुङ, ८ कात्तिक – गत बर्ष समान्य देखिएको हिमाली खसी च्याङ्ग्राको मुल्य यस बर्षको दशैंमा अस्वभाविक बृद्धि भयो । च्याङ्ग्राको मुल्य बृद्धिको बिषयलाई लिएर उपभोक्तादेखि व्यवसायीसम्मले बिभिन्न अड्कलबाजी गरे । गत बर्ष १२ सय प्रतिकिलोमा च्याङ्ग्राको मासु बिक्री गरेका व्यवसायीहरु यस बर्षको दशैंमा १३ सय रुपैयाँ प्रतिकिलोका दरले बिक्री बितरण गरे । नेपाल सरकारले बिगतका बर्षहरुमा भारतबाट आयात हुने गरेका खसीबोका रोक्ने घोषणा गरेपछि खसीबोका र हिमाली खसीको मुल्य आकासिएको आँकलन धेरैले गरेका थिए । तर दशैं सकिएर तिहार लाग्दा साविकको धौलागिरीका बजारमा हिमाली खसी च्याङ्ग्राको अभाव भएको छ । दशैंका बेला बिक्री नभएका छिटफुटबाहेक बागलुङ, पर्वत र म्याग्दीका सदरमुकाममा चयाङ्ग्रा देखिएका छैनन् । हिमाली जिल्लाहरुमा उत्पादन भएका च्याङ्ग्रा देशका ठुला शहरमा निर्यात भएको र उत्पादन समेत कम रहेकाले दशैंमा नै मुस्ताङमा च्याङ्ग्राको सञ्चिती सकिएकोले घेकर दामोदरकुण्ड गाउँपालिका–५ का च्याङ्ग्रा व्यवसायी सोम गुरुङले बताए । बजारमा हल्ला चलेको जस्तो च्याङ्ग्राको मुल्य नबढेका कारणले नै सञ्चिती सकिएको उनले बताए । ‘गत बर्ष गोठबाट पठाउँदा दिएको मुल्यमै यसबर्ष पनि हामीले बिक्री गरेको हो’ गुरुङले भने ‘बिदेशी खसीबोका रोकिएर हाम्रा खसीको मुल्यमा केही परिवर्तन भएन् ।’ मौका छोपेर बिचौलियाले मुल्य बढाएर किसान र उपभोक्ता दुवैलाई मारमा पारेको उनको गुनासो थियो । ‘अहिले पहिले–पहिलेको जस्तो धेरै च्याङ्ग्रा छैनन्’ बेनी बजारमा च्याङ्ग्री बेच्दै गरेका उनले भने– ‘मेरो गोठमा अहिले दुई सय मात्रै च्याङ्ग्रा छन् ।’ चार सयको बगालमा च्याङ्ग्रा–च्याङ्ग्री पालेका गुरुङले गत बर्षहरुमा जस्तो च्याङ्ग्रा बिक्री गर्न नपाएको बताए । बिचौलियाले मुल्य बढाएर बेचेको थाहा भएकाले च्याङ्ग्री बिक्रीका लागि आँफै बजार झरेको गुरुङले सुनाए । दशैंका बेला अत्याधिक च्याङ्ग्राको प्रयोग हुने भएकाले मुस्ताङका किसानले तिहारको समयमा च्याङ्ग्रीको व्यापार गर्ने गरेका छन् । च्याङ्ग्राका तुलनामा च्याङ्ग्राको मुल्य कम पर्छ । ‘छ बर्ष पुगेपछि च्याङ्ग्रीले पाठा पाउँदैन’ च्याङ्ग्री बेच्नकै लागि बेनी बजार छेउमा बसेका अर्का व्यवसायी धन शेरचनले भने ‘थारा पाठी र बुढा च्याङ्ग्री तिहारको बेला बेचिन्छ ।’ कार्तिक महिना लागेसँगै उपल्लो मुस्ताङमा चिसो बढेको छ । च्याङ्ग्रीको हुल खेदेर बजार झरेपछि व्यापार पनि हुने र चिसो पनि छलिने भएकाले आँफै बेनी झरेको उनले बताए ।
नेपालीहरुले दशैं तिहार जस्ता पर्वमा हिमाली खसीको प्रयोग धेरै गर्ने गरेको भएपनि यसबर्ष तिहार नलाग्दै बजारमा च्याङ्ग्रा देखिन छाडेका छन् । ‘तिहारका बेला पहिले पनि च्याङ्ग्री खोज्ने धेरै हुन्थे’ व्यवसायी गुरुङ भन्छन् ‘च्याङ्ग्रा त गोठमै सकियो ।’ पर्वका बेलामा हिमाली खसीको मासु खोज्ने ग्राहक आउने गरेको भए पनि यसबर्ष तिहारमा च्याङ्ग्रा नपाएको बागलुङ बजारमा मासु व्यवसाय गर्दै आएका नन्दलाल घिमिरे बताउँछन् । ‘पोहोर त मंसिरसम्म बजारमा च्याङ्ग्रा देखिन्थे’ घिमिरेले भने ‘अहिले म्याग्दीको उपल्लो भेग पुग्दा पनि च्याङ्ग्री मात्रै भेटियो ।’ मुस्ताङका किसानले पहिले जस्तो च्याङ्ग्रा नपाल्ने र चिनबाट लुकीछिपी मुस्ताङहुँदै भित्रिने च्याङ्ग्रामा कमी आएकाले पनि च्याङ्ग्रा अभाव भएको व्यवसायीहरु बताउँछन् ।
मुस्ताङमा सहज रुपले सवारी पुग्न थालेपछि छिमेकी तथा नजिकका जिल्लामा भन्दा धेरै देशका ठुला शहर हरुमा यहाँका खसी निर्यात हुने गरेका छन् । ‘अहिले त गाडीमाथी नै पुग्छ’ गुरुङले भने ‘हिँडाएर ल्याउने भन्दा गाडिमा लग्ने धेरै छन् ।’ हिमाली बनस्पती खाएर बाँच्ने च्याङ्ग्राले बर्षमा एक पटक मात्रै पाठापाठी पाउँछ । मुस्ताङका किसानहरुले छ बर्ष पुगेका च्याङ्ग्रीहरु मासुको प्रयोजनका लागि बिक्री गर्छन्् । अहिले बजारमा आएका च्याङ्ग्री जिउँदो २० किलोको १० हजारदेखि ११ हजार ५ सय रुपैयाँसम्म बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->