बागलुङ,११ कात्तिक – गौरवको योजना भनेपछि क्रमागत बजेट र नियमित बनाउने सूचीमा राख्नुपर्नेमा नभएको भेटिएको छ । अघिल्लो बर्षको बजेटले जति काम भयो त्यतिमा सिमित भएका उदाहरण भेटिएको हो । गलकोट, बडिगाड र अन्य स्थानीयले तहले पनि ती योजनामा बजेट नपारेका हुन् ।
मध्यपहाडी लोकमार्गदेखि गलकोट नगरपालिका वडा नं. ११ रिघा पुग्ने सडकलाई नगरपालिकाले गत बर्ष गौरवको योजनामा राख्यो । गौरवको योजना भएकोले प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ५० लाख गरी एक करोड लगानी पनि गरियो । उक्त बजेटले केही खण्डमा स्तरोन्नती गरिएको छ । सडक छेउमा नाली र पर्खाल पनि बनेको छ । तर यो सडकको तीन खण्डको एक खण्ड मात्र स्तरोन्नती भएको छ । दुईखण्ड बनाउन बा“की छ । चालु बर्ष बजेट पर्छ भन्ने आस गरेका रिघाबासी अहिले भने निरास छन् । गौरवको योजनामा समावेश भएकै योजनामा दोश्रो बर्ष बजेट परेन ।
रिघादेखि सिसाखानीहु“दै पाण्डवखानी र रणसिंकिटेनीसम्म यो सडक जोड्ने लक्ष छ । तर चालु बर्षका लागि बजेट नपरेपछि गौरवको योजना बन्छ भन्ने विश्वास नलागेको स्थानीय मित्रलाल खरेलले बताए । ‘गत बर्षको बजेटले राम्रो काम पनि भएको थियो, तर चालु बर्ष बजेट आएन’ उनले भने, ‘गौरवको योजना भएपछि निरन्तर बजेट राखेर काम सम्पन्न गर्नुपर्नेमा नगरपालिका पछि हट्यो ।’ संघिय, प्रदेश र स्थानीय तह कतैबाट पनि यो बर्ष बजेट नपरेको उनले गुनासो गरे ।
रिघालाई पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाको लक्ष पनि छ । यहा“स्थित बौद्ध गुम्बा घुम्न पुग्ने धेरै छन् । तर यो सडक जोखिमको भएपछि सानो रिघा भन्ने स्थानबाट केही मानिस आउजाउ गर्छन् । मुख्य सडकमा भने खाल्डा, सा“घुरो र भीरको बाटो भएकोले यात्रा गर्न डराउ“छन् । सडक उपभोक्ता समितिका अध्यक्ष लालप्रसाद घर्तीले बजेट निरन्तर पारेर सडकको काम पुरा गर्न आग्रह गरेको बताए । ‘नगरपरिषदले यो बर्ष बजेट पारेको छैन, काम पुरा नहुने भयो’ उनले भने, ‘गौरवको योजनालाई कम्तिमा तीन बर्ष बजेट बिनियोजन गरिनु पथ्र्यो ।’ वडा नं. ११ को गौरवको योजना भनेपनि अहिलेसम्म वडा नं. ९ मा मात्र सडक बनेको छ । रिघाको सिमाना पुगेको काम त्यसअघि पुग्न नसकेको हो ।
अन्य केही योजनामा राम्रो काम नभएकोले गौरवको योजना भनेर बजेट बिनियोजन नगरेको नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । ‘कतिपय काम राम्रै भएका छन्, कतिपयलाई केन्द्रीय र प्रदेश सरकारको बजेट भित्राउन पहल भैरहेको छ, त्यसैले नगरको बजेट नराखेको हो’ गैह्रेले भने, ‘अघिल्लो बर्षको बजेटले राम्रो काम भएकोमध्ये रिघाको सडक पनि हो, त्यसलाई ठूलो रकम पारेर काम सम्पन्न गर्ने लक्ष बनाएका हौं ।’ छलफलको चरणमा भएकोले तत्काल यो सडक अलपत्र जस्तो देखिएको भएपनि केही बर्षमै पुरा गर्ने लक्ष उनले सुनाए । नगरपालिकाले यो सडकस“गै रिघाको बौद्ध गुम्बालाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न लागेको उनले बताए । नगरपालिकाले सडकलाई गौरवको सूचीबाट भने हटाएको छैन ।
बडिगाड गाउ“पालिकाले पनि गत बर्ष गौरवको योजना भनेका सडकमा यो बर्ष बजेट लगानी गरेको छैन । ग्वालीचौरदेखि जलजला जाने सडकमा गत बर्ष २ करोड लगानी गरेकोमा यो बर्ष रकम घटाएको हो । ‘स्तरीय सडक बन्यो भने पटकपटक बजेट चाहिंदैन, तर यो बर्ष ठूलो लगानी गर्नु पथ्र्यो’ स्थानीय थमनबहादुर थापाले भने, ‘बजेट घटेको रहेछ, यो बाटो अझै जोखिम मोलेर हिड्नुपर्ने भयो ।’
गाउ“पालिकाका अध्यक्ष मेहरसिंह पाईजाले भने सडकमा पर्खाल, नाली र स्तरोन्नतीको काम गरिने बताए । गाउ“पालिकाबाट रकम घटेपनि संघिय सांसदमार्फत आउने पूर्वाधार साझेदारी बिकास कार्यक्रमको बजेट लगाउने उनले बताए । ‘ग्वालीचौरदेखि जलजलाहु“दै रणसिंकिटेनी पुग्ने सडक मेरै पालामा कालोपत्रे बनाउने योजना छ’ नगरको बजेट घटेको देखिए पनि सबै श्रोत परिचालन गरेर काम सम्पन्न गर्ने हो ।’ उनले चालु बर्षपनि दुइवटा सडकलाई गौरवको योजनामै राखेको बताए । यो सडकबाहेक दर्लिङहु“दै प्युठान जोड्ने सडकलाई पनि एक करोड बढी रकम खर्चेर स्तरीय बनाउने योजना उनले सुनाए ।
गौरवकै योजनाको रुपमा सूचीकृत सदरमुकामदेखि भकुण्डे, रायडा“डाहु“दै बरेङ पुग्ने भनिएको सडकमा पनि चालु बर्ष बजेट छैन । भएको सानोतिनो बजेटले खाल्डाखुल्टी पुर्दैमा ठिक्कै हुने स्थानीयले बताए । गत बर्ष सदरमुकामदेखि नै सिगानाहु“दै गाजादह जाने सडकका लागि ठूलो रकम खर्चेपनि यो खण्डको एक तिहाई मात्र चौडा भएको छ । चालु बर्ष उक्त खण्ड चौडा पार्ने कामका लागि बजेट नआएको स्थानीयले गुनासो गरे । ‘गौरवको योजना भनेर नाम लिनुभन्दा नियमित रकम खर्चेर नाली, संरचना र पहिरो नियन्त्रण गर्दा सडक स्तरीय बन्छ’ बागलुङ नगरपालिका वडा नं. ८ का अध्यक्ष राजन जिसीले भने, ‘हल्लाखल्ला गर्ने भन्दा काम गरेर देखाउनु राम्रो हुन्छ ।’





