आगामी मंसिर १४ गते देशका केही भागमा उपनिर्वाचन हुदैछ । उपनिर्वाचन क्षेत्रमध्ये पनि यतिबेला सबैको ध्यान कास्कीमा केन्द्रित छ । देशमा यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार छ, त्यो पनि सामान्य हैन पुरै दुई तिहाइको । यतिबेला राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति केन्द्रको ध्यान समेत उपनिर्वाचन मै केन्द्रित हुन पुगेको छ । पर्यटन तथा नागरिक उड्डन मन्त्री रबिन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्की जिल्लामा पनि उपनिर्वाचन हुन गइरहेको छ । कास्कीमा रबिन्द्र अधिकारीको मृत्यु भएपछि रिक्त रहेको उक्त क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता बामदेव गौतम निर्वाचन लड्ने भनेर ठूलो हल्लाखल्ला गरियो । धेरै नेताहरूले कास्कीमा आँखा पनि लगाए ।
पार्टीबाट पनि फरकफरक खालको धारणा बाहिर आयो । सोमनाथ अधिकारी प्यासी, राजकाजी गुरूङको नाम प्रदेश कमिटीबाट सिफारिस भए पनि अन्तिममा आएर स्वर्गीय नेता अधिकारीकी धर्मपत्नी बिद्या अधिकारीलाई निर्वाचनमा अगाडि सारिएको छ । नेपाली राजनीतिमा श्रीमानको मृत्यु पश्चात् सो ठाउँ सुरक्षित राख्नका लागि पार्टीहरूले श्रीमतीलाई नै अगाडि सार्ने गरेको घटना भने नौलो हैन । अहिले कास्कीको उपनिर्वाचनमा विद्या अधिकारीलाई उम्मेदवार बनाएर नेकपाले देशकै चर्चित नेता रविन्द्र अधिकारीको रिक्त राजनीति र सांसद पदलाई सुरक्षित गर्न बलियो हतियार प्रयोग गरेको हो भन्ने कुरा राजनीति सम्बन्धि सामान्य जानकारी राख्ने मान्छेलाई पनि भनिरहन आवश्यक पर्दैन होला ।
देशमा शक्तिशाली सरकार छ, गण्डकी प्रदेशमा पनि नेकपाकै बहुमतको प्रदेश सरकार छ । यतिबेला नेपाली कांग्रेस पार्टी जसरी भए पनि कास्कीको उपनिर्वाचन आफ्नो पोल्टामा पार्न कम्मर कसेर लागेपनि कांग्रेसभित्रकै गुट उपगुट मै रूमली रहेकोले यसपटक पनि कांग्रेसलाई उपनिर्वाचन फलामको चिउरा साबित हुने निश्चित प्रायः देखिन्छ । अन्य राजनीतिक पार्टीहरू समेत यतिबेला कास्कीमा मोर्चाबन्दी गरेर निर्वाचन जित्न सकिन्छ कि भनेर लागिपरेको देखिन्छ । अब एक महिना पनि बाँकी छैन निर्वाचन हुन र नतिजा बाहिर आउन । हो, निर्वाचन हुन गइरहँदा यतिबेला सरकारसंग जनताको आक्रोश अवश्य पनि देखिन्छ । यहाँ जसले जतिसुकै कुरा गरे पनि आखिर मतदान हुने समयमा मान्छेले आफ्नो पार्टी नै हेर्ने गर्छन् । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अरू राजनीतिक पार्टीभन्दा शक्तिशाली पनि भएको कारणले यसपटकको निर्वाचनमा पनि अरू शक्तिले यसलाई सजिलोसँग हराउन भने गाह्रो देखिन्छ । हुनतः अहिले एक÷दुई सिटले सरकार चल्ने र ढल्ने अवस्था छैन, मात्रै सरकारको कामको मुल्यांकन गर्ने बेला पनि भएको कारणले यसलाई सबैले मिनी जनमत संग्रह भनेर संज्ञा दिएको हो जस्तो लाग्छ ।
नेकपाले निर्वाचनमा बिद्यालाई खडा गरेर निर्वाचन जुनसुकै हालतमा आफ्नो पक्षमा पार्ने रणनीति अगाडि सारेको छभने रबिन्द्र अधिकारीको मृत्यु श्रीमती बिद्याको आँशु अझैसम्म सुकेको छैन । अहिले मतदाताको घर–घरमा गएर मत माग्न, मतदातालाई आफ्नो पक्षमा पार्न बिद्याको आँशु काफी हुनेछ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई मतदाताकोमा कसरी जाने भनेर अन्यौल भइरहेको समयमा उम्मेदवार छनौटमा छलाङ मारेपछि भने धेरै सहज भएको छ । राजनीतिक पृष्ठभूमिको ब्यक्ति भएको कारणले पनि मतदाताकोमा गएर बोल्न, भाषण गर्न र भोलीको दिनमा निर्वाचन क्षेत्रमा काम गर्न समेत सहज हुने देखिन्छ । साँच्चै निर्वाचनको बेलामा गर्ने प्रतिबद्धतालाई ब्यबहारिक रूपमा लागू गर्न नसकेको कारणले पनि जनताको असन्तुष्टि बढेको हो भन्ने कुराको यहाँ ब्याख्या गर्न जरुरी छैन ।
अहिले भएको गरेको राम्रो कामको समेत जस लिन सकेको देखिदैन, एक त हामी कहाँ सकारात्मक भन्दा नकारात्मक कुराले ठाउँ लिन्छ । जताततै निराशा छाएको देखिन्छ, निर्वाचन लड्न न त सजिलो छ । पैसा बिना केही पनि हुँदैन, आफ्नो पार्टीका समर्थकलाई समेत भोट हाल्न पैसा दिनुपर्ने अबस्था छ । एकजना मान्छे निर्वाचन जित्न लाखौं हैन करोडौं रूपैयाँ खर्च गर्नुपर्छ, यस्तो खालको राजनीतिक प्रणाली भएसम्म यसबाट निस्कने नतिजा भनेको भ्रष्टाचार, नातावाद, कृपावाद र बेथिति नै हो । यसलाई रोक्न÷छेक्न, राजनीतिक प्रणाली शुद्ध बनाउन जरुरी छ । जबसम्म हामीले यस्तो खालको भ्रष्ट प्रणाली बनाइरहेसम्म शुद्धता खोज्नु बेकार साबित हुनेछ । अहिले हुन गइरहेको उपनिर्वाचनबाट नेपाली जनताले खासै परिवर्तनको अनुभुती गर्न भने पाउने संभावना निकै कम नै देखिन्छ । सबै राजनीतिक दल मिलेर जबसम्म अहिले देखिएको विकृति विसंगति सुधार गर्न सकिदैन तबसम्म राजनीति भनेको हुने खानेले, पैसा हुनेले गर्ने पेशाभन्दा अर्को केही पनि हुनेछैन ।




