बागलुङ,२४ कात्तिक – ताराखोला गाँउपालिकाले कात्तिक २६ गते सार्वजनिक विदा दिएको छ । गाँउपालिकाको वडा नम्बर २ अर्गलमा प्रचलित भुष पोल्ने पर्वको अवसरमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । गाँउपालिका मातहतका सबै संघ सस्था ,शिक्षण सस्थामा बिदा दिइएको शर्माले जानकारी दिए । १५ औं शताब्दीमा पाल्पाको अर्गलीबाट बसाई सरेर आएका आर्गली मगर समुदाएले प्रत्येक वर्ष कात्तिक २४ गते देखि २६ गते सम्म भुष पोल्ने पर्व मनाउछन । अर्गलमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ति मगरहरुले आफ्नो पहिचान र सभ्यताको रुपमा भुस पोल्ने पर्व मनाउदै आएका छन् । प्रत्येक पर्व कात्तिक २४ गते देखि २६ गते सम्म उनिहरुले यो पर्व मनाउने गर्दछन् । अधिकांश मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुष पोल्ने मेलाको छुट्टै बिषेशता रहेको छ । यहाँको ऐतिहासिक मेलाको रुपमा यस पर्वलाई लिने गरिन्छ ।
पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाई सरी आएका मगरहरुले मेलामा आफ्ना समुदायका मानिसहरुको मृत्यु र जन्म संस्कारसंग सम्वन्धित गोपिचन गित गाउने र नाच्ने गर्दछन्् । मेलाको अन्तिम दिन २६ गते उनिहरुले एक वर्ष भरी मृत्य भएका आफ्ना परिवारका सदस्यको बरखी फाल्ने गर्छन् । सोही दिन पुर्खाहरुले खेती गरेको सम्झनामा शखुबारीमा छापे खन्ने र पुजाआजा गरी हिउँदे अन्नवालीको खेति सुरु गरिन्छ । दिउसो ४ बजेको समयमा शंखुघरमा पूजा आजा गरि शंखुबारीमा छापे खन्ने गहुँ, जौ छर्ने गरिन्छ । अविवाहित युवा युवतिले बारी नसकुन्जेल सम्म नरोकी खन्ने गर्दछन भने विवाहितहरुले बिऊ छर्ने गर्दछन । पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रुपमा लिने गरिएको छ । मारुनी नाच्ने, नौमती बाजा बजाउने देखि छापे खन्ने लगाएतका कार्यहरुमा युवा युवती उत्साह का साथ संग्लग्न हुने गरेका छन ।यो पर्व गाँउपालिका भित्रको ऐतिहाँसिक पर्व भएकोले सार्वजनिक विदा दिएको गाँउपालिका कार्यालयले जनाएको छ ।





