नेपालका गायक बिधान श्रेष्ठले गाउनु भएको गीत ‘माछी मार्न जाउँ है दाजै कालापानीमा’ आलै छ । घाउ १८ सयको नालापानीमा बिदेशीको नोकरीको भर छैन । फर्केर आउँदा घर छैन भन्ने गीत फेरि चर्चामा आएको छ । राष्ट्र र राष्ट्रियताको पक्षमा आजभन्दा एक दशक अगाडि गाउनु भएको गीत त्यतिबेला पनि चर्चामा नभएको हैन । तर, नेपालका रेडियो टेलिभिजनमा यसले खासै ठाउँ पाएन, अहिले फेरि घटनाक्रमले फेरि राम्रो ठाउँ पाएको छ । अहिले नेपाली जनजनमा यहीँ गीत गुन्जी रहेको छ । छिमेकी गतिलो परेन भने धेरै दुख पाइन्छ भन्ने नेपाली उखान त्यसै बनेको हैन । अहिले हामी दुई बिशाल छिमेकीको बिचमा अबस्थित छौ । पृथ्वीनारायण शाहले भन्नु भएको थियोे नेपाल दुई ढुंगा बीचको तरूल हो अहिले नेपाल त्यहीँ ढुंगाको चेपुवामा परेको छ । छिमेकी मुलुक भारतले सार्वजनिक गरेको नक्सामा नेपालको चर्चित भुमि लिपुलेक र कालापानी आफ्नो नक्सामा पारिसकेको छ । भारतले आफ्नो नक्सामा नेपाली भुभाग गाभेपछि नेपालमा आन्दोलन सुस्त गतिमा चल्न थालेको छ ।
नेकपाका स्थायी समिति सदस्य रावलले सामाजिक संजालमार्फत ट्विट गर्दै नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको भन्दै आपत्ति जनाउनु भएको छ । नेता रावलले नेकपा स्थायी कमिटीको र सर्बदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल भारतसँग वार्ता गर्नुपर्ने सुझाव समेत दिनुभएको छ जसलाई राष्ट्र र राष्ट्रियताको पक्षमा सकारात्मक कदम मान्नुपर्छ । हुनतः अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देखि नेपाली कांग्रेस राप्रपा राष्ट्रिय जनमोर्चा लगायतका दर्जनौं पार्टी भारतीय बिस्तारवादको बिरोधमा कम्मर कसेर बिरोध गरिरहेका छन् । भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो यसलाई सरकारले पहलकदमी लिएर समाधान गर्नुपर्छ । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि भारतमा समेटिएको छ जुन सबैभन्दा बढी खतरनाक हो, छिमेकी मुलुक भएर नेपाली भुमि रातारात आफ्नो नक्सामा पार्नु ठूलो दादागिरी हो हेपुवा÷मिचुवा प्रवृत्ति अहिलेसम्म हटेको छैन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेक फिर्ता गर्न सरकारले चाल्ने जुनसुकै कदममा साथ दिने प्रतिबद्धता जनाउनु भएको छ यसलाई राष्ट्र र राष्ट्रियताको लागि सकारात्मक कदम मान्नुपर्छ । भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भूमि नेपालको हो । कालापानी पश्चिमको नदी महाकाली नदी हो । सो पूर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लागि हाम्रो पूर्ण साथ रहनेछ देउवाले बैठकमा भन्नु भएको छ । अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभएको प्रतिबद्धता साच्चै राष्ट्रवादी हो कि नक्कली हो भन्ने कुरा अब हुने आन्दोलनमा स्पष्ट हुनेछ । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई सीमा समस्या समाधान गर्न चार बुँदे सुझाव दिनु भएको छ । नेपाली भूभाग मिचिने गरी भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि विकसित अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा डाकिएको सर्वदलीय बैठकमा डा. भट्टराईले चार बुँदे सुझाव दिनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वदलीय सर्व पक्षिय बैठकमा समाजवादी पार्टी अध्यक्ष समेत रहेका नेता डा. भट्टराईले जुन ४ वटा सल्लाह सुझाव दिनु भएको छ यसलाई सकारात्मक सुझावको रूपमा लिएर कुटनैतिक रूपमा अगाडि बढ्नुपर्छ भन्ने लाग्छ । सीमासम्बन्धी विवाद हल गर्नको निम्ति करिव ३० वर्षदेखि नै एउटा सचिवस्तरीय संयन्त्र बनेको छ । त्यो सचिवस्तरीय संयन्त्रले लामो समयदेखि कुराकानी गर्दा पनि अहिलेसम्म विवाद हल गर्न सकिराखेको छैन । त्यसैले अब उच्च राजनीतिक स्तरबाट नै नयाँ संयन्त्र बनाएर, राजनीतिक आयोग नै बनाएर, यसको समाधान गर्नु उपयुक्त हुन्छ । त्यसको निम्ति हाम्रा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग पहल गरेर सीमासम्बन्धी विवाद हल गर्न एउटा उच्चस्तरीय राजनीतिक आयोग बनाउनु उपयुक्त हुन्छ । त्यसको लागि तत्काल नै प्रधानमन्त्रीले पहल गर्नुहोस् । अहिले फेरि नेपाल र नेपालीलाई इतिहासले राष्ट्र र राष्ट्रियताको पक्षमा एकजुट हुने वातावरण अगाडि सारेको छ । साँच्चै सबैभन्दा ठूलो कुरा राष्ट्र र राष्ट्रिय नै हो जब यो दुईवटा नै रहदैन भने हामी यहाँ रहन सक्दैनौं । रातारात हाम्रो भुमि भोली छिमेकी देशमा मिसिन सक्छ । बिश्वमा यस्तो घटना धेरै घटिसकेका छन् । बिस्तारवादी नीति भएको छिमेकी परेपछि यतिबेला नेपाल र नेपालीले धेरै दुख कष्ट पाइरहेका छन् । भारतीय प्रधानमन्त्री मोदीले भाषण एउटा गर्छ काम र ब्यबहार अर्को थोक गर्छ भन्ने कुरा अब यहा ब्याख्या गर्न जरुरी छैन । नेपाली राजनीति नेताहरूको कारणले गर्दा नै अहिले भारतले नेपालको सिमा मिच्ने काम गर्दै आएको थियो अहिले भने नक्सा नै परिवर्तन गरेर बिश्व सामुन्ने आफ्नो दादागिरी प्रर्दशन गरेको छ । यतिबेला सबै नेपाली एकजुट भएर बुद्धिमानी तरिकाले समस्याको समाधान खोज्न जरुरी छ । अहिले बाहिर बाहिर चर्को राष्ट्रवादको कुरा गर्ने भित्र–भित्र उहीँ भारतकै दलाली गर्ने जुन प्रवृत्ति छ त्यो अब भने छर्लङ्ग देखिनेछ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब कालापानी फिर्ता गर्ने मिसन र परीक्षा सुरु भएको बताउनु भएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कालापानी नेपाली भूभाग भएको र त्यसलाई सरकारले फिर्ता ल्याउन पहल गर्नुपर्ने सुझाव दिनुभएको छ प्रवक्ता शर्माले सरकारको मिसन र परीक्षा सुरु भएको बताउनु लाई राम्रो एकता मान्नुपर्छ । प्रवक्ता बिश्वप्रकाशले प्रधानमन्त्री केपीशर्मा ओलीलाई मेन्सन गर्दै भन्नुभएको छ, ‘रास्ट्रवादको अडान पिएम नेपाल परिणाममुखी हुनुपर्छ । दबाब झेलेर अडान लिँदा सुशील कोइरालाको नेतृत्वमा देशले संविधान पायो, यहाँहरुले भोट । अब कालापानी फिर्ता गर्ने मिसन र परीक्षा सुरु भएको छ । हाम्रो दृढ़ साथ रहन्छ ! भनेर जुन हौसला दिने काम गर्नु भएको छ यसलाई अब सरकारले परिणाम मुखी परिणाम दिने काम गर्ने बेला आएको छ । हिजो संविधान घोषणा गर्ने समयमा भारतले आफ्नो अनुकूल नभएको भन्दै नाकाबन्दी गरेको कुरा नेपाली जनताले भुलेका छैनन् । फेरि भारतीय शासकले नेपालको राष्ट्रवादी सरकारको नाडी छाम्दै नेपाली भुमि आफ्नो नक्सामा समावेश गरेर एकपटक फेरि ठाडो चुनौती दिएका छन् । अब राष्ट्रवादी सरकारले कुटनैतिक तरिकाले समस्याको समाधान खोज्न जरुरी छ । साँच्चै यतिबेला हामी उत्ताउलो नबनिकन नेपाली भुभाग फिर्ता गराउन पहल गर्न जरुरी छ । यतिबेला सबै नेपाली एकजुट भएर आफ्नो मातृभूमिको पक्षमा एक हुन जरुरी छ । जबसम्म हामी यो वा त्यो नाममा एकआपसमा बिभाजीत हुन्छौं तब छिमेकीले यस्तो गलत हरकत गरि रहनेछ ।




