बागलुङ, १ मंसिर – मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको सडकखण्ड निर्माणमा अत्यन्त ढिलाई भएको भन्दै युवाहरुले विरोध सुरु गरेका छन । बागलुङ र यहाबाट देशविदेशमा गएका युवाहरुले विरोध अभियान सुरु गरेका हुन । पश्चिम बागलुङको लाईफलाईन र पश्चिम नेपालको प्रवेशद्धारको रुपमा रहेको यस सडकखण्ड समयमा नै निर्माण सम्पन्न नहुँदा यस क्षेत्रका सर्वसाधारण समेत आक्रोशित भएका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत पनि विरोध गर्दै आफ्ना जनप्रतिनिधीहरुलाई सचेत गराएका छन । जनताको प्रश्न खासगरी संघिय सांसद देवेन्द्र पौडेल र डा. सूर्य पाठकप्रति वढि छ ।
रिजाचोक विहुँका यूवा हरि काउँचाले फेसबुकमा लेखेका छन्- “यो सडक निर्माणवाला बारम्बार यहाँका स्थानीयबासीसँग किन झुठो बोल्दैछ । जवाफ चाहियो अब ?” त्यसैगरी यो सडकखण्ड निर्माणमा भएको ढिलाईको बिषयलाई पटक पटक आवाज उठाउदै आएका इन्जिनियर खिमानन्द कँडेलले आफ्नो फेसबुक पेजमा लेखेका छन् “नगरकोट, चरिकोटका जनताहरु बोल्न थालिसकेका छन्, अब पञ्चकोट, बिहुँकोट, गल्कोट, डाँसिकोट र अर्नाकोटका जनताहरु पनि बोल्न शुरु गर्ने हो कि ?” यो सडक खण्ड निर्माणमा ढिलाई भएकोमा जताततै आक्रोश छ ।
जापानमा रहेका गल्कोटका यूवा भवानी पन्तले बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं २ बाट संघीय संसदमा निर्वाचित माननीय देवेन्द्र पौडेललाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका छन, “ आदरणीय देबेन्द्र दाई, तपाई बागलुङ जिल्लाबाट जब निर्वाचित भएर जानुभयो, यहाँका जनताले तपाईबाट धेरै अपेक्षा गरेका छौं । नयाँ नयाँ योजना आउलान् जिल्लामा समृद्धिका बाटाहरु अगाडि लम्कलान् यस्तै यस्तै सोचेका हुन जिल्लाबासीले । तपाईका अडियो भिडियोमा पनि धैरै बाचा सुनिए तर कार्यान्वयन पटक्कै भएन ?” उनको प्रश्न सांसदले प्रतिवद्धता पुरा नगरेको प्रति पनि छ ।
यसै गरी बिहुँबाट जापानमा व्यवसाय गर्दै आएका टिकाराम कँडेल लेख्छन् “ लौन माननीय सूर्य पाठक ज्यू, हाम्रो आशा भरोसाको व्यक्ति तपाई मात्र हो जवाफ मात्र होईन काम पनि छिटो चाहियो ?” उनले आफ्नै निर्वाचन क्षेत्रका सांसद पाठकप्रति प्रश्न गरेका छन् ।
पश्चिम बागलुङ अन्र्तगत ताराखोला, गल्कोट, बडिगाड, बुर्तिबाङ, निसीखोला र तमानखोला क्षेत्रका यूवाहरुले यो सडकखण्ड कालोपत्रे नभएको बिषयमा कडा आक्रोश व्यक्त गरेका छन् । यो सडकखण्ड समयमा नै सम्पन्न हुने छाँठगाँठ नदेखिएपछि बागलुङ जिल्लाको यूवाहरुले सिधै प्रधानमन्त्री, माननीय मन्त्री, मुख्य मन्त्री, संघीय संसद र प्रदेश संसदका माननीयहरु, स्थानीय सरकारका प्रमुखहरु, सडक विभागका महानिर्देशक एवं सम्बन्धित कर्मचारीहरुलाई प्रश्न गर्दै यस बिषयमा जवाफ चाहियो भन्ने अभियान चलाएका छन् ।
यो सडकखण्ड समयमा नै सम्पन्न गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानकर्षण हुनु जरुरी भएको इन्जिनियर कँडेलले वताए । ठेकेदारले काम गर्ने कुनै लक्षण नदेखाएको अवस्थामा ठेक्का रद्ध गरेर फास्ट ट्रयाकमा यो सडकखण्ड कालोपत्रे गर्न स्थानीयको माग छ ।





