संसारमा सबैभन्दा ठूलो पैसा भगवान भन्दापनि पैसा ठूलो, पैसाको लागि मान्छे के गर्दैनन्, सबथोक गरेका छन् । पैसा आउने भए यो÷त्यो केही पनि भन्नुपर्दैन, बस सबथोक गर्छन् । राष्ट्र राष्ट्रियतालाई समेत बेचेको थुप्रै इतिहास साक्षी भएको बेला नेपालका केही नाम चलेका कानुन ब्यबसायीले पैसाको लागि मोहमद आलमको पक्षमा बहस गर्नुलाई अन्यथा मान्नु हुँदैन । ब्यबसाय भनेको नाफाको लागि गरिने काम हो, यो कुरामा अन्यथा मान्नु हुदैन । साँच्चै पैसाको लागि मान्छेले इमान–जमान र मान–मर्यादा सबै बेच्छन् भन्ने कुरा अहिले राैटहटको चर्चित आलम काण्डले स्पष्ट पारेको छ । यसबाट हामीले बुझ्न सक्छौ पैसामा कति पावर र कति शक्ति छ भनेर । आजभन्दा १२ बर्षअघि संबिधान सभाको निर्वाचनको बेलामा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफ्ताब आलमले चुनाव आफ्नो पक्षमा पार्नको लागि मान्छेहरू लगाएर बम बनाउने शिलशिलामा बम बिस्फोट हुँदा एक दर्जन मान्छे घाइते हुन पुगे, घाइते भएका मान्छेलाई उपचार गर्न हस्पिटलमा लैजानुको सट्टा बोरामा राखेर इट्टाभट्टामा लगेर ज्युदै मारेको घटनाको जतिसुकै निन्दा गरेपनि कमै हुन्छ होला । अहिले रौटहट जिल्ला अदालतका न्यायाधिशले १२ जना हत्याकाण्डको आरोपमा पक्राउ परेका आलमलाई पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेर माननीय न्यायाधीश र जिल्ला सरकारी वकिल समेत जिल्लामा आफ्नो ज्यानको सुरक्षा नभएको भन्दै रातारात काठमाडौ जानुपर्ने अबस्था सृजना भएको छ । आलमको निर्देशनमा जुन जघन्य अपराध भएको थियोे त्यो घटना अहिलेसम्म शक्ति, पैसा र गुन्डागर्दीको आडमा रोकेर राख्ने काम भएको थियो भन्ने कुरा घटनाक्रमले समेत पुष्टि गरिसकेको छ ।
देशमा माननीय न्यायाधीश र सरकारी वकिलको ज्यानको सुरक्षा छैन, रातारात ज्यान जोगाउन जिल्ला छोडेर भाग्नु पर्ने अबस्था छभने त्यो काण्डका पिडित परिवार कसरी त्यो ठाउँमा बसिरहेका होलान् आफै अनुमान लगाउन गाह्रो छैन । ढिलो भए पनि अदालतले एउटा साहसिक फैसला गरेको छ, भलै न्यायाधीश र सरकारी वकिलले जिल्ला छोड्नु किन नपरोस् । अहिले गणतन्त्रमा पनि यस्तै आलम जस्ता अपराधीले देश चलाउने, सरकार चलाउने भएपछि कसरी गणतन्त्र बलियो हुन्छ । जबसम्म अदालत बलियो हुँदैन, प्रहरी प्रशासन बलियो हुँदैन तबसम्म गणतन्त्र पनि संस्थागत हुन सक्दैन ।
यतिबेला आलमलाई बचाउन नेपालका ३ दर्जनभन्दा बढी बरिष्ठदेखि चर्चित वकिलले बहस गर्नको लागि नाममात्र लेखाएनन् पुरै आलमको पक्षमा वकालत गरे । नेपाल बार एशोसियसनका केन्द्रीय महासचिव र नेपाल सरकारका महान्यायाधिवक्ता समेत भइसकेका रमणकुमार श्रेष्ठले आलमको पक्षमा बहस गर्नु भनेको आफुहरूको ब्यबसायीकता हो भनेर तर्क पेश गरिरहेका छन् । यस्तै नेपालका चर्चित कानुनी ब्यबसायी शम्भु थापा लगायतले आलम निर्दाेष हुन भनेर अदालतमा बहस पैरवी गरे । साँच्चै हामीले इतिहासमा हिटलरलाई नराम्रो शासक भनेर चित्रण गर्छाैं । अहिले २१ औ शताब्दीमा मान्छेलाई ज्युदै दनदनी आगो बलिरहेको इट्टा भट्टामा जलाएर मान्छे मार्ने अपराधीको पक्षमा बहस गर्नुलाई कस्तो खालको ब्यबसायीकता भन्न खोजेका हुन् नेपाली जनताले बुझ्न सकेका छैनन् ।
साँच्चै ब्यबसाय भनेको के हो, जे–जस्तो पनि गर्नु ब्यबसाय हो, पैसा आउँछ र फाइदा हुन्छ भने जे गरेपछि भयो । फाइदा हुन्छ फेरि अर्को छोराछोरी जन्माउने ? पैसाको लागि निच काम गर्नु भनेको ब्यबसायीकता हो भने ठिक छ, हैन भने कुनै पनि पेशाको धर्म हुन्छ, मर्यादा हुन्छ । नेपालको प्रसिद्ध शक्तिपिठ कालीका भगवती मन्दिरमा अहिले पनि बोका, राँगो, हाँस र कुखुरा बलि दिने चलन छ । तर औशी एकादशी १६ श्राद्वमा भने भक्तजनले बलिको लागि ल्याए पनि काट्ने चलन छैन । मन्दिरलाई आम्दानी हुन्छ भनेर एकादशीमा बोका काट्ने काम गर्दैनन् । आफुलाइर्् जनताको वकिल मानवअधिकारको कुरा गर्नेहरू समाजमा जनताले न्याय पाउनुपर्छ भनेर चिच्याउनेहरू आज पैसाको पछाडि दौडीरहेका छन् । अहिले मात्रै ब्यबसायीक कुरा गर्नुस् भनेर पत्रकार लाई उल्टो प्रश्न गरिरहेका छन् । नेपालीमा एउटा उखान छ– ‘पाप धुरीबाट कराउँछ’ । हो अहिले १२ बर्षपछि आलमले गरेको पाप छताछुल्ल हुन पुगेको छ । १२ बर्षपछि खोला पनि फर्कन्छ भनेको कुरा सत्य साबित भएको छ । साँच्चै यस्तो जघन्य अपराध गर्नेलाई कडा कार्वाही गर्ने कानुन बनाउन सकिदैन तबसम्म समाजमा आलमहरूको कमी हुने छैन । भोली नयाँ–नयाँ तरिकाले जनताको हत्या गर्ने छन्, अपराधीहरूले यहाँ फेरि ब्यबसायीक वकिलले पैसाको लागि ब्यबसायीक काम गरेर जस्तोसुकै अपराध गरेको भए पनि बचाउन कसम खाएर लाग्ने छन् । तर अपराधीले जतिसुकै अपराध लुकाउने प्रयास गरेपनि एकदिन त्यसको भण्डाफोर हुन्छ, अपराधी जतिसुकै ठूलो पदमा भए पनि उसले सजाय भोग्नुपर्छ भन्ने कुरा आलम प्रकरणले पनि प्रमाणित गरि दिएको छ । अपराधीलाई बचाउन ५ दर्जन वकिल लागेपनि न्यायको पक्षमा एकजना वकिल भए पनि पुग्ने रहेछ, यो कुरालाई मनन गर्न सकेको खण्डमा भोलिका दिनमा अबश्य पनि पैसाको लागि केही लाभको लागि आफ्नो नैतिकता बेच्ने काममा कमि आउने छ ।




