शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल परिवर्तन गर्नुभएको छ । एकजना सरकार प्रमुखले आफ्नो मन्त्री परिवर्तन गर्नु स्वभाबिक नै मान्नुपर्ने हुन्छ । जुन तामझामका साथ मन्त्री मण्डल परिवर्तन गरियो यसलाई हेरेपछि मलाई हाम्रो देशका कवि भुपी शेरचनले लेख्नुभएको– ‘यो हल्लै हल्लाको देश हो’ यहाँ कानमा एअरफोन लगाउनेहरू संगीत प्रतियोगिताका जज हुन्छन् । नेपालका चर्चित कवि भुपी शेरचनले लेख्नुभएको कबिता घुम्ने मेचमाथि अन्धो मान्छे अहिले फेरि चर्चामा आएको छ । हुनतः अहिलेका नयाँ पुस्ता धेरैले कवि भुपीलाई बिर्सिसकेका होलानन् तर पनि उनले लेख्नुभएको कबिता भने अहिलेसम्म पनि सान्दर्भिक नै छ । प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालको आधा अबधि सकिन लाग्दै गर्दा मन्त्रीहरूले गरेको कार्यसम्पादनको आधारमा मुल्यांकन गरेको कुरा बाहिर आएको थियो । अहिले भएको हेरफेर हेर्दा त्यसको ठिक बिपरित भएको देखियो ।
अहिले सामाजिक संजालमा सबैभन्दा बढी आलोचना श्रम मन्त्री गोकर्ण बिष्टलाई हटाएको बिषयमा भएको छ । हिजोको दिनमा श्रम तथा रोजगार मन्त्री बिष्टले गर्नुभएको कामको मुल्यांकनको आधारमा नेपाल नयाँ युगमा प्रवेश गरेको भनेर बिजुलीको पोलपोलमा सरकार प्रमुखको फोटो टासिंएको नेपाली जनताले भुलेका छैनन् । प्रत्येक अखबारका पानामा देशका प्रधानमन्त्री केपी ओलीको फोटो हेरेका नेपाली जनता अहिले एकपटक निराश हुन पुगेका छन् । हिजोको दिनमा श्रमिकको सामाजिक सुरक्षा कोष बनाउने कामको शुरूवात गरेपछि सरकार प्रमुख ओलीले देशमा नयाँ युगमा प्रवेश गरेको भन्दा नेपालमा साँच्चिकै समाजवाद आयो कि भन्ने महसुस गर्न खोजेका थिए । अहिले रातारात मन्त्री बिष्टलाई हटाएपछि सरकारले ल्याएको नारा फगत नेपाली जनता र बिदेशीलाई उल्लु बनाउनको लागि हो भन्ने प्रमाणित भएको छ ।
नेपालको सबैभन्दा विकृति बिसंगती भएको ठाउँ भनेको बैदेशीक रोजगार थियो । कामको सिलसिलामा बिदेश नजाने नेपाली कमै होलानन् त्यहीँ नेपाली जनतालाई ठग्ने मेनपावर ब्यबसायीलाई कानुनी दायरामा ल्याउने काम गरेका मन्त्री बिष्ट हुन । मन्त्री बिष्ट यस्तै दलाल, भ्रष्ट र ब्रम्हलुट मच्चाउने तत्वलाई मनपर्ने कुरै भएन, जब सरकार प्रमुख केपी ओलीले मन्त्री परिवर्तन गर्ने कुरा अगाडि सार्न बित्तिकै देशीबिदेशी शक्ति केन्द्र कहाँ धाएर मन्त्री बिष्टलाई हटाउन सफल भए । मन्त्री बिष्ट हटेको खुशीयालीमा राजधानी लगायत शहरी क्षेत्रमा मदिराको छेलोफेलो भएको खबर पनि बाहिर आएको छ । अहिले भएका मन्त्रीहरूमध्ये बिष्टले केही सकारात्मक काम गरेका थिए, त्यहीँ राम्रो काम गरेको कुरा माफिया दलाललाई मनपरेको थिएन, त्यहीँ भएर नै सबै एकजुट भएर हटाउन लगाएका हुन भन्ने कुरा स्पष्ट भएको छ । हिजोका दिनमा सरकार देखिन भनेर आलोचना गर्नेहरूलाई श्रम मन्त्री बिष्टले गरेको काम र उनले अगाडि सारेको अवधारणा कै कारण प्रधानमन्त्री ओलीलाई सरकार यहाँ छ भनेर भाषण गर्ने अवसर मिलेको थियो । नयाँ नेपालको यात्रा समृद्ध नेपालको यात्रा शुरूवात भएको भनेर प्रचारप्रसार गर्ने मौका मिलेको थियो । अहिले मन्त्री परिवर्तन गर्दा तय गरेको आधार भन्दा पछि गएको देखियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपनि अझैसम्म गुट अनुसार मन्त्री र मन्त्रालय बाँडफाँड गर्ने चलन भने कायमै रहेको कारणले पनि योग्य र राम्रो मान्छे हट्ने हटाउने खेल भएको कुरा स्पष्ट भएको छ ।
हामी जतिसुकै समाजवादको कुरा गरेपनि हाम्रो व्यवहार भने नाँगो पुँजीवादी छ । अहिले यस्तै दलाल फटाहाको चंगुलबाट देश माथि उठ्न सकेको छैन । सरकार अहिलेका कृषि मन्त्री घनश्याम भुुसालले भनेझै दलाल र माफियाको चंगुलबाट मुक्त छैन । मन्त्री बनाउन समेत पैसाको चलखेल भएको कुरा बाहिर आएको छ । हिजोको दिनमा सफल राष्ट्रवादी नेता प्रधानमन्त्री भनेर नाम कमाउन सफल केपी ओली अहिले नराम्ररी पतनको दिशातर्फ उन्मुख भएको महसुस नेपाली जनताले गरिरहेका छन् । मन्त्री मण्डल परिवर्तन गर्नुभन्दा पहिला आफ्ना सबै सल्लाहकारलाई राजिनामा गर्न लगाएको छनक हेर्दा प्रधानमन्त्री ओलीले यसपटक राम्रो र योग्य मान्छेलाई मन्त्री बनाउने छन् अनि नराम्रो मन्त्री हटाउने छन् भन्ने सोचेका थिए तर परिणाम ठिक उल्टो भयो । यहीँ तरिकाले जाने हो भने नेकपाका बरिस्ठ नेता बामदेव गौतमले भनेझै ५ बर्षमा छिमेकी देश भारत र १० बर्षमा चीनलाई उछिन्ने कुरा हावादारी भन्दा अरू केही पनि हुनेछैन ।
अबको दुई बर्षपछि निर्वाचन हुँदा नेकपाको हालत फेरि नेपाली कांग्रेसको भन्दा खराब हुनेछ, अहिल्यै नै सोच्न जरुरी छ । अबदेखि मन्त्रीलाई नम्बर दिने काम बन्द गर्दा राम्रो हुनेछ । अन्तमा यतिबेला फेरि प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रीको नम्बर मुल्यांकनमा पौराणिक कथामा भगवान शिवले आफ्नो दुई जना छोरा कुमार र गणेशलाई सुमेरू पर्वत परिक्रमा गर्न आदेश दिए, कुमारले आफ्नो बाबुको आदेशबमोजिम सुमेरू पर्वत परिक्रमा गरेर आए तर गणेशले सुमेरू पर्वत घुम्न सकेनन् । त्यो बेलाका चाकरी बाजले गणेशलाई खुराफाती सिकाइ दिए । आफ्नो बाबुआमाको अगाडि गएर परिक्रमा गर्नु मेरो लागि तपाईं नै सुमेरू पर्वत हो भने अनि खेलमा गणेश पुरस्कृत भए । अहिले पनि फालिनु पर्ने मन्त्री जोगीए, राम्रो काम गरेका मन्त्री फालिए । यसले अहिले पनि गणेश प्रवृत्ति हावी छ भन्ने कुरा स्पष्ट भएको छ ।




