बागलुङ, ९ मंसिर – बागलुङमा निर्माणाधिन नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको काम ८० प्रतिशत सकिएको छ । गतवर्षको चैत महिनाबाट निर्माण सुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ४ सय ६७ मिटर लामो झोलुङ्गे पुलको फाउन्डेसनको काम सम्पन्न भएको हो ।
‘पुल निर्माणको लागि आवश्यक कंक्रिटको काम सम्पन्न भयो’ निर्माण कम्पनी थानी/बिएलटि/हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले भने’ अब लठ्टा तान्ने र पुलको अन्य संचरना बनाउने काम मात्रा बाँकी हो ।’
कालिगण्डकी नदिमाथि बन्दै गरेको झण्डै एक सय ३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चूनौतीपूर्ण रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाई छ । लठ्ठा तान्नका लागि दुवै जिल्लातर्फ रहेका विद्युतका तार र मध्यपहाडी लोकमार्गको मालढुंगा–बागलुङ खण्ड एवं मालढुंगा–बेनी सडकले समस्या खडा भएको छ ।
बाङ्गेचौरदेखि पाङसम्म तुईन बनाई लठ्ठा तान्ने योजना निर्माण कम्पनीको भएपनि लठ्ठा खस्न सक्नेभन्दै विद्युतको तार व्यवस्थापनका लागि पहल गरिरहेको निर्माण कम्पनीले जनाएको छ । पर्वत र बागलुङका विद्युत प्राधिकरणहरुले तार व्यवस्थापन गरेमा ३ महिना भित्र काम सक्ने ठेकेदार कम्पनीले दाबी गरेको छ ।
‘पुल मुनि सडक र विद्युत नभएको भए १ महिना भित्र सबै काम सम्पन्न हुन्थ्यों’, खड्काले भने, ‘सडक र विद्युत कार्यालयले सहज रुपमा सहयोग गरेमा ३ महिना भित्र काम सम्पन्न गर्नेछौं ।’ विद्युत र सडक दबवै बन्द गरेको एक महिना भित्र काम सम्पन्न गर्न सकिने भएपनि दुवै बन्द नगरी काम गर्दा ३ महिना निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलको अनुमान छ । बागलुङ नगरपालिकाको समन्वयमा विद्युतको समस्याको लागि विद्युत प्राधिकरणलाई पत्र पठाएर सहजको लागि अनुरोध गरेको छ ।
नेपालकै गौरवको आयोजना अन्तरगत पर्ने भएकाले पुल निर्माणलाई सहज गराउन विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले पनि सहजिकरण गर्न तयार रहेको बताएको छ । विद्युत प्राधिकरण बागलुङका प्रमुख प्रमुख शिवनारायण गोशलीको टोलीले लठ्ठा तान्ने स्थानको अवलोकन गर्दै विद्युतको नाङ्गो तारमा इन्सुलेटर तार राखेर सुरक्षित बनाउने बताए ।
नेपाल सरकारले लठ्ठा तान्ने प्रविधिको मेसिन चीनबाट खरिद गरेर बागलुङ पठाइसकेको र निर्माण कम्पनीले सुरुवातमा तानिने २४ ओटा लठ्ठा ल्याइसकेकोले लठ्ठा तान्ने काम सुरुवात गर्ने तयारी गरेको छ । पहिलो चरणमा २४ ओटा लठ्ठा तानिने र त्यसपछि ४ ओटा लठ्ठा तानीने निर्माण कम्पनीका प्रतिनिधि खड्काको भर्नाइ छ । पुलको परस्क्यार फिटमा चार जना अटन सक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो हुने भएकाले बाइक संचालनमा रोक लगाइने छ । पुलको आयु ५० वर्षसम्म हुनेछ ।
पुल निर्माण पछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्नेछ । कालिगण्डकी नदी माथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए । ‘सस्पेन्सन’ पुल बिभाग मार्फत भएको खुल्ला बोलपत्र प्रकृयाबाट निर्माणको जिम्मेवारी थानी/विएलटी/हिमशिखर जेभी निर्माण कम्पनीले हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको हो ।
यो पुल एसियाकै लामो पुल भएको निर्माण कम्पनीको दावी छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भएता पनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको पहिलो हो । चाँदनी–दोधारा पुलमा १४/१५ वटा टावर राखेर बनाइएको छ भने बागलुङमा बन्ने लागेको पुल खुल्ला आकाशमा बन्ने भएकाले पनि यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाई छ । धौलागिरी एफएमबाट





