बागलुङ, १३ मंसिर – सामाजिक संजाल र केही संचार माध्यममा ठेकेदार कम्पनी टाट पल्टेको कुराले अहिले बजार तातेको छ । त्यतिमात्रै होइन, पछिल्लो पटक यहाँका युवाहरुले ठेकेदारको फोटोसहित सामाजिक सञ्जालमा पोष्ट गरेपछि सवैको चासो यो सडक खण्डमा गएको छ । बागलुङको बिहुँदेखि घोडाबाधे खण्डको सडक कालोपत्रे गर्ने जिम्मा लिएको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कम्पनीे अहिले म्याद गुजार्ने अबस्थामा पुगेको छ । उक्त कम्पनी टाट पल्टेकै हो ? के काम गर्नै नसक्ने अवस्थामा पुगेको हो त ? धेरैको जिज्ञासा समेत उठ्ने गरेको छ ।
टाट पल्टेको प्रमाणित गर्ने निकाय कुन हो ? के अवस्थामा टाट पल्टेको भन्न मिल्छ ? यस्ता प्रश्न पनि उठेका छन् । टाट पल्टेको स्विकार नगरेपनि निर्माण कम्पनीले आफ्नो काम गर्ने पूँजी सकिएर जग्गा लिलामको काम थालेको भने कम्पनीकै प्रतिनिधिहरु स्विकार गर्दछन । ‘जग्गा बेच्ने तयारी गर्दैछु, त्यसपछि काम पुरा गर्छु’ ठेकेदार सूर्यबहादुर खड्काले भने, ‘म्याद थप भयो भने पैसा खोजेर भएपनि काम पुरा गर्छु ।’ कालो सूचिमा पर्ने डरले पनि खड्काले काम पुरा गर्ने बताए । कालोसूचिमा परेमा अन्य ठेक्का नपाउने व्यवस्था छ । उनले अन्य ठेक्काको कामबाट झण्डै ९ करोड पाउने भएकोले काम गरेर भुक्तानी लिंदै जानसके काममा समस्या नआउने बताए ।
पुस मसान्तमा उसको म्याद सकिंदैछ । अव जतिसुकै तीब्र गतिमा काम गरेर सडक बनाएपनि यो खण्ड तोकिएको समयमा सकिंदैन । अधिकांस स्थानमा नाली समेत बनेको छैन भने कतिपय स्थानमा चक्ल्याउने काम पनि बाँकी छ । त्यसैले अब यो कम्पनीबाट तोकेकै समयमा काम भने नहुने पक्का भैसकेको छ । तर पनि खड्काले उपल्लाचौरमा क्रसर उद्योग राखेर गिटी पठाउने तयारी गरेका छन् । त्यसैले उनले काम चटक्कै छाडेको पनि भन्न नमिल्ने आयोजनाका इन्जिनियर रामप्रसाद सुवेदीले बताए । ‘व्यहारिक कठिनाई हेरेर म्याद थप्दा काम हुने पक्का नभएसम्म थपिंदैन’ सुवेदीले भने, ‘गिटीका लागि क्रसर राखेकोले काम गर्दैन भन्न पनि मिलेन ।’ कामको प्रगती हेरेर मात्र अन्तिम म्याद थप्न मिल्ने उनले बताए ।
काम नगरेकोले स्पष्टीकरण सोध्ने र कालो सूचिमा किन नराख्ने भनी स्पष्टीकरण सोध्ने प्रक्रियामा पुगेको मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ देखि रुकुम खण्ड हेर्ने आयोजना प्रमुख आशिष थापाले वताए । उसले आफ्नो म्याद भित्र कुनै काम गरेर असारसम्म काम सक्ने लक्षण देखाएमात्र म्याद थपेर काम गर्न दिने नत्र कालो सूचिमा राखिने उनको भनाई छ । यो बिषयले आमजनतालाई केही खुसी त देला तर सोचेजस्तो काम भने हुदैन । किनकी फेरी अर्को टेन्डर गरेर आउने ठेकेदारबाट पनि प्रकृयागत रुपमा काम गर्दा अझै दुइ बर्ष जान सक्छ ।
बागलुङ भित्र रहेको झण्डै एक सय ४० किमी सडक मध्ये बागलुङ बजारदेखि अक्षेते र बिहुँहुदै घोडाबाँधेसम्मको २५ किमी खण्ड मात्र अप्ठ्यारो छ । कालोपत्रे गर्न बाँकी रहेकोले अन्य काम समेत अलपत्रै हुँदा यो खण्डमा मात्र अप्ठ्यारो यात्रा गर्नुपर्र्दछ । बागलुङ बजारदेखि अक्षेते तर्पmको काम गरिरहेको भारत सिद्धिसाई संयुक्त निर्माण कंपनीको हालत पनि उस्तै छ । यो कंपनीले पनि पटक पटक म्याद थप पाएर कात्तिकमा म्याद गुजारेको छ । उसको ठेक्का पनि रद्द हुने, म्याद थप्ने वा अर्को टेन्डरमा जाने समेत अन्यौल छ ।
यो खण्डमा पटक पटक मुद्दामामिला परेर यस अघिका ठेकेदारहरुले पनि काम पुरा नगरी छाडेका थिए । यो कम्पनीले कालोपत्रे समेत गर्ने जिम्मा पाएको हो । गत बर्षको हिउँदै कालोपत्रे गर्ने भनेपनि बिद्युत र खानेपानीले अवरोध भएको भन्दै तर्केपछि स्थानीय तहमा ती अवरोध हटाउने प्रयास समेत भए । पटक पटक प्रशासनले खानेपानी र बिद्युतसँग सहकार्य गरेर छलफल पनि चलायो । तर ठेकेदारहरुले कामै नगरेर समय बर्बाद पारेका छन् ।
राज्यको ढुकुटी पटक पटक खर्च हुने, ठेकेदारहरुले काम पाइरहने तर जनताले सधै सास्तीको यात्रा गर्नुपर्ने बाध्यता भने नहटेको अधिवक्ता राम शर्मा बताउँछन् । ‘दैनिक यात्रा गर्ने शीर्ष नेता देखि जिल्ला तहका नेताले यो बाटो समयमा सकेर सहज बनाउने बारे सोच्ने की नसोच्ने ?’ शर्माले भने, ‘ठूला भाषण गरेर भन्दा आफ्नो क्षेत्रको बिकास गरेर देखाउनमा भलाई हुन्छ ।’ आमनागरिकले पटक पटक सोध्ने प्रश्नको उत्तर दिन नेतासमेत पछि परेको उनले आरोप लगाए । उनले बिकासे सस्ता नारा दिनु साटो एउटा काम गरेर देखाउन समेत चुनौती दिएका छन् ।
त्यसो त यो निर्माण कम्पनीले ओखलढुंगामा समय अगाडिनै झोलंगे पुल बनाएर चर्चा कमाएको मात्र नभई केही समय अघि एमपी कन्स्ट्रक्सनलाई सम्मान समेत गरिएको थियो । तर बागलुङ खण्डमा आएपछि भने उनका क्रियाकलाप सन्तोषजनक भएनन् । २०६६÷०६७ सालमा एडिबीको सहयोगमा तत्कालिन जिविसबाट ड्रिलिप नामक आयोजनाले पनि यहाँ ११ करोड खर्चेर सडक ग्राभेल गरेको थियो । तर उक्त ग्राभेल गरेको एक बर्ष नपुग्दै मध्यपहाडीमा सूचिकृत भएर काम थालियो । उक्त आयोजनाले पुरानो ग्राभेल समेत नष्ट गरेर आफ्नो काम थाल्दा बागलुङलेले धेरै बर्षसम्म सास्ती खेपेका छन् ।
अक्षेते खण्डमा काम गरेको कंपनीले पुरानो काम पनि गर्नु परेको दावी गरेको छ । तीन बर्ष अघि ट्रयाक खोल्न ठेक्का लिएको एमके कन्स्ट्रक्सन प्रालिले कैयौं स्थानमा कामै नगरी भुक्तानी लिएकोले बाँकी काम आँफूले गर्नु पर्दा ढीला भएको कंपनीको दावी छ । तत्कालिन ईन्जिनियर गोपीनाथ मिश्रको सिफारिसमा कंपनीले भुक्तानी लिएपछि कागजी रुपमा ती स्थानमा काम गर्न अप्ठ्यारो परेको ठेकेदारका प्रतिनिधि पुष्प शाहीले बताए । खहरे, अक्षेते खण्डका दर्जन स्थानमा फोड्नुपर्ने पहरा उत्तिकै छन् । गत दशैमा राजमार्ग दैनिक ८ घण्टा अबरोध गरेर काम गर्दा पनि यो ट्रयाक खुल्न सकेको छैन ।





