पोखरा,१९ मंसिर – ग्लोबल आईएमई बैंक देशको सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको छ । जनता बैंकलाई गाभेपछि ग्लोबल आईएमई पुँजीगत आधारमा देशको सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको हो । शुक्रबारदेखि ग्लोबल आईएमईको औपचारिक रुपमा एकिकृत बैंकिङ कारोबार सुरु हुने बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
जनतालाई गाभेपछि ग्लोबल आईएमई पुँजीगत, जगेडा कोष, निक्षेप र कर्जा लगानीका आधारमा सबैभन्दा ठुलो वाणिज्य बैंक भएको हो । ग्लोबलले हालसम्म साना ठुला गरी ११ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ । मर्ज हुने जनता १२ औं बैंक हो । धेरै वित्तीय संस्थासंग मर्जर गरिसकेकाले जनतासंग सहज हुनुका साथै छोटो समयमा कर्मचारी समायोजना लगायत अन्य प्राविधिक काम सम्पन्न भएको अध्यक्ष ढकाल बताए । अन्य बैंक तथा वित्तीय संस्थालाई जनतासंगको मर्जरले सकारात्मक सन्देश दिएको ढकालको भनाई छ । ग्लोबल र जनताको एकिकृत कारोबार पश्चात यसको चुँक्ता पूँजी १९ अर्ब, प्राथमिक पुँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ पुग्ने भएको छ । बैंकको जगेडा कोषमा जति धेरै रकम भयो त्यति धेरै बलियो मानिन्छ ।
ग्लोबल आईएमई बैंकका ७७ वटै जिल्लामा ३०० को हाराहारीमा शाखा सञ्चालनमा रहनेछन् । २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८३८ रहनेछन् ।





