पोखरा,२२ मंसिर – आउँदो पुस ११ गते देखि २० गतेसम्म आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि,औधोगिक व्यापार मेला एवं बागलुङ महोत्सवमा उपस्थितिको लागि आयोजकले पोखरेलीलाई निम्तो दिएको छ । आइतवार पोखरामा पत्रकार भेटघाट कार्यक्रम तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुसँग भेटघाट गरि महोत्सवमा सहभागिताको लागि अनुरोध गरेको बागलुङ उद्योग वाणिज्य संघका महासचिव नरेश कंडेलले जानकारी दिए ।
पोखरामा भेटघाट र प्रचारप्रसार अभियानपश्चात आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवको सम्पूर्ण तैयारी अन्तिम चरणमा पुगेको महासचिव कंडेलले जानकारी दिए । ‘कला संस्कृति संरक्षण, कृषि पर्यटन उद्योग तथा व्यापार प्रबद्र्धन’ भन्ने मुल नाराका साथ धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा छैठौ सस्करणको बागलुङ महोत्सव आयोजना गरिएको छ ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्दै गण्डकी प्रदेशभित्रका पर्यटकीय,धार्मिक स्थल एवम सांस्कृतिक गतिविधिको संरक्षण र प्रचारप्रसार गर्ने प्रमुख उदेश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
बागलुङ उद्योग वाणिज्य संघको मुख्य आयोजना रहेको महोत्सव सफल बनाउन जिल्लामा रहेका १० स्थानीय सरकार ,जिल्ला समन्वय समितिलगायत विभिन्न संघ संस्थाले साथ दिएको महासचिव कंडेलले बताए । पर्यटन वर्षमा बागलुङमा पर्यटक भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।
‘गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि वन तथा औद्योगिक व्यापार मेला’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा गण्डकी प्रदेशका पर्यटकीय स्थलको जानकारीका साथै कलासंस्कृतिको प्रस्तुति र प्रवद्र्धन गरिने अध्यक्ष राजभण्डारीले उल्लेख गरे । महोत्सवमा सम्पूर्ण स्थानीय तहमा रहेका विभिन्न जातजातिका सास्कृतिक झांकी,जिल्लाभर रहेका २८ होमस्टे मा बनाइने खानाका परिकारलाई समेत समावेश गर्ने अध्यक्ष राजभण्डारीले बताए ।
‘हामीले स्थानीय उत्पादनलाईनै महोत्सवमा विशेष स्थान दिने छौ,जिल्लामा उत्पादन हुने सम्पूर्ण उत्पादनले महोत्सवमा स्थान पाउने छन’, राजभण्डारीले भने । धार्मिक पर्यटकीय गंतब्यको रुपमा विकास हुदै गरेको बागलुङ जिल्लालाई थप उचाईमा पुर्याउने लक्ष्य रहेको उनले बताए । महोत्सवमा आउने दर्शकलाई रूचि अनुसार बागलुङ कालिका भगवतीको दर्शनसँंगै विश्वशान्ति सर्व्सिद्धिधाम पञ्चकोट धाम र सालिग्राम संग्रालय सहित अन्य पर्यटकीय गन्तब्यमा समेत पु¥याउने तैयारी रहेको उनले सुनाए ।
मेलामा राष्ट्रियस्तरको लोक दोहोरी, भलिबललगायतका प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्षका साथमा सयौँ व्यापारिक कक्ष राखिनेछ । बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटो प्रदर्शनी र प्रतियोगिता पनि राखिने आयोजकले जनाएको छ ।





