बागलुङ, २४ मंसिर – नेपाल सरकारले २०२० देखि २०२२ सम्म भ्रमण बर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । त्यतिबेला सम्म देशमा २० लाख पर्यटक भित्राउने सरकारी लक्ष पनि छ । यस अघि बर्षेनी १० लाख पर्यटक आउने गरेको तथ्यांक छ । दोब्बर बढाउनका लागि आवस्यक पूर्वाधार बनाउने, होमस्टेहरु संचालनमा ल्याउने, पदमार्ग र विभिन्न गन्तव्यको खोजी गर्नेमा सरकारले लगानी समेत बढाएको छ । गण्डकी प्रदेश सरकारले एउटा होमस्टेमा १० लाख अनुदान दिएर पूर्वाधार बनाउन लगाएको छ ।
यसरी लगानी गर्दा गण्डकी प्रदेशमा मात्र पनि लाखौं पर्यटक बढाउन सकिने अनुमान छ । बागलुङमा पनि २८ वटा होमस्टेले पूर्वाधारका लागि अनुदान पाईसकेका छन् । ती स्थानमा पाहुना राख्ने, स्वागत गर्ने तथा होमस्टेका अन्य वातावरण बनाउने काम भैरहेको छ । सरकारले ल्याएको पर्यटन बर्ष सफल पार्न बागलुङका संघसंस्थाले पनि आफ्ना अभियान जोडेर लगेका छन् । पर्यटन, कला, धर्म र संस्कृतिको क्षेत्रमा काम गर्ने संस्थाहरुले आफ्नो आफ्नो क्षेत्रको पहिचान सार्वजनिक गर्ने, पाहुना स्वागत गर्ने र प्रचारका अभियान पनि थालेका हुन् । बागलुङ उद्योग बाणिज्य संघले आगामी पुसमा महोत्सव आयोजना गर्दै छ । महोत्सव १० दिन चल्दा हरेक दिन कुनै न कुनै पर्यटकीय क्षेत्रको प्रचार गर्ने, कला र संस्कृतिको प्रद्र्धशनी गर्ने योजना बनाएको छ । त्यस्तै पर्यटन बिकास समिति बागलुङले केही गन्तव्य सम्म पदयात्रा, मोटरसाइकल ¥याली लगायतका क्रियाकलाप गरिसकेका छन् । गाजा दह र गलकोटका विभिन्न स्थानमा मोटरसाईकल यात्रा गरेका छन् भने कतिपय स्थानमा पदमार्ग निर्माणमा लगानी गरिएको छ ।
पर्यटनका क्रियाकलाप संचालन गर्दा व्यवसायी सँगै किसानको तरकारी देखि सामान्य नागरिकको सिपको समेत व्यपार हुने होटल संघका अध्यक्ष निलेस राजभण्डारीले बताए । कलाकारहरुले बुनेका सामान समेत घुम्न आउनेहरुले किनेर लैजाने भएकोले पर्यटक बढाउँदा सबैलाई फाइदा पुग्ने उनले बताए । कुँडुलेमा निर्मित शालीग्राम संग्राहलय देखि पञ्चकोट, भकुण्डेका विभिन्न पूर्वाधार, गलकोट महोत्सव जस्ता क्रियाकलाप यो अभियानका सहयोगी हुन् । जिल्लाको गाजा दह, घुम्टे, ढोरपाटन, भकुण्डे, सिमाकधुरी, पञ्चकोट, संसारकोट र बिहुको रामकोट लगायतमा समेत लगानी बढाइएको हो । गलकोट दरवार, गाईघाट झरना, हाँडीकोट, सत्यवती, उत्तरगंगालाई पनि पर्यटकीय रुपमा लगानी गरिएको हो । अमलाचौरको भैरवस्थानमा गुरुयोजना समेत बनाएर पर्यटक भित्राउने तयारी भएको वडा अध्यक्ष गुरुदत्त पाठकले बताए । ‘केही समय ढीलाई भएपनि गएका पर्यटक र भक्तजनलाई बस्ने र खाने व्यवस्थापन गर्दा दोब्बर संख्या बढाउन सकिन्छ’ पाठकले भने, ‘यहाँ पुग्दा पूजा गरेर मात्र फर्कनेलाई भकुण्डेको भ्युटावर पुग्ने अवसर दिएका छौं ।’ सहजै सडकको व्यवस्था पुगेकोले ती स्थान घुमेर मात्र पर्यटक र भक्तजन फर्कने गर्छन् ।
बागलुङ नगरपालिका ८, जैमिनी नगरपालिका ३, गलकोट नगरपालिका १ र काठेखोला गाउँपालिका ७ र ८ को धुरीमा पर्ने गाजादह २ हजार ३ सय मीटरको उचाईमा छ । यहाँ ठूलो पोखरी र धार्मिक मठमन्दिरहरु छन् । दर्जनबढी हिमऋखला देखिने यो दहलाई गण्डकी प्रदेशले पर्यटकीय गन्तव्यमा सूचिकृत पनि गरेको छ । समितिको यो अभियानमा युवाहरुको ‘घुमन्ते’ समूहले साथ दिएको हो । गाजा नजिकै रानीभूमे र सिद्दबराह सामुदायिक होमस्टे पनि संचालनमा आएको छ । उद्योग बाणिज्य संघले पनि महोत्सव मार्फत संकलित रकमलाई शिक्षा र पर्यटनमा खर्चने योजना बनाएको छ । बागलुङ नगरपालिकाले भकुण्डे जाने सडक सुधारमा रकम लगानी गरेको छ । त्यस्तै पर्यटकीय स्थलको रुपमा बिकास भएका स्थानमा थप रकम दिएर व्यवस्थापनमा साथ दिएको प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले बताए । जिल्लाका जेसीज, लायन्स क्लब लगायतका सामाजिक संस्थाले पनि एक एक गाउँको बिकासमा योगदान गरेका छन् । ती स्थानमा सरसफाई अभियान चलाउने, खानेपानी र होमस्टे संचालनमा समेत सहयोग गरेका हुन् । अधिकांस घुम्ने स्थानमा होमस्टेको अवधारणा ल्याइएको छ । सामुदायिक रुपमा चलेका होमस्टेलाई गण्डकी प्रदेश सरकारले व्यवस्थापनका लागि भन्दै १० लाख रुपैयाँको दरले अनुदान पनि दिएको छ । पदयात्रा र मोटरसाईकल यात्रामा ‘नो हर्न’, ‘नो ओभरटेक’ र नो ड्रिंक्स’को अभियान पनि चलाइएको छ । ‘युवाहरु बिकृतिमा नलागी समाजलाई अगाडि बढाउन पनि सक्रिय छन् भन्ने देखाउन खोजेका छौं’ पर्यटन समिति बागलुङका अध्यक्ष राजु खड्काले भने, ‘आन्तरिक पर्यटनको बिकासबाट गाउँमा पनि समृद्धि भित्राउने यो पहिलो पाईला हुनेछ ।’ सन् २०२० देखि २०२२ सम्म नेपाल भ्रमणका धेरै क्रियाकलाप संचालन हुने उनले बताए ।





