आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका कृषक अलैची खेतीले मालामाल

बागलुङका कृषक अलैची खेतीले मालामाल

अचैली खेती गर्नेमा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिका अगाडि


  • ढोरपाटन संबाददाता
  • मंसिर २६ २०७६, बिहिबार

बागलुङ, २६ मंसिर – पूर्वी नेपालमा मात्र लगाएको थाहा पाएका यहाँका किसानहरुले अलैची लगाएर मालामाल बन्न थालेका छन् । बागलुङको धेरै स्थानीय तहको समेत साथ पाएपछि किसानले अलैची खेतीमा ध्यान दिन थालेका हुन् । पछिल्लो दुइ तीन बर्षदेखि थालेको खेतीले मनग्ये कमाई गरिरहेको किसानले बताए । उनीहरुले धान, मकै र कोदो लगाएर कमाएको भन्दा दशौं गुणासम्म कमाई गर्न सकेको समेत बताए ।
यसरी अचैली खेती गर्नेमा जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिका अगाडि छन् । छिटफुट रुपमा भने बागलुङ नगरपालिकाका केही स्थान र अन्य पालिकामा पनि छ । किसानहरुले एक पटक लगाएपछि नियमित स्याहार सुसार गर्नु नपर्ने, बजारमा महंगो मूल्यमा बेच्न पाउने र तत्काल नबिग्रने भएपछि अलैची खेतीमा ध्यान दिन थालेको बताए । ‘कोदो र मकै लगाएर हामीलाई खेती गरेका खर्च पनि उठाउन कठिन थियो’ ताराखोला गाउँपालिका वडा न.ं २ का सूर्यबहादुर रोकाले भने, ‘बजारमा सजिलै बिक्ने भएपछि धेरैको रोजाई पर्न थालेको छ ।’ भौगोलिक रुपमा समेत उपयुक्त भएकोले ताराखोला, बरेङ र जैमिनीका धेरै स्थानमा छोटो समयमै उत्पादन पनि बढेको छ । खोला, पाखा र बारीमा समेत किसानले अलैची खेती गर्न थालेका छन् । कोदो फलाएर खेतालाको खर्च पनि उठाउन नसकेको स्थानमा अलैचीले राम्रो कमाई गर्न सकेको भन्दै ताराखोला २ का हर्कबहादुर रोकाले खुसी व्यक्त गरे । उनले खोला र जंगलको छेउछाउमा पनि राम्रो उत्पादन भएको बताए । बाँदरले अन्य खेती सखाप पारेकोमा अलैची जोगाउन सकेको समेत बताए । ताराखोलामा पछिल्लो ५ बर्षदेखि अचैली लगाउने क्रम शुरु भएको थियो । अहिले २० रोपनी जमिनमा लगाएको अलैचीबाट रोकाले बर्षेनी २ लाख कमाउन सकेको बताए । कोदो र मकै लगाएर उनीहरुले १० देखि १५ हजार रुपैयाँ पनि कमाउन मुस्किल पर्ने गरेको बताए । किसानले बढीमा २ हजार रुपैयाँ सम्ममा अलैची बेचेपनि न्युनतम हुँदा ८ सय रुपैयाँ सम्ममा बेचेको बताए । मूल्य घटबढ हुने भएकोले भण्डारन गरेर महंगो मूल्य पाएको बेला बेच्ने तयारी समेत उनीहरुले गरिरहेका छन् ।
सुरुमा काम गर्न सिकाएका पूर्वेली किसानले पनि तारखोलामा उत्पादन गरिरहेका छन् ।

जग्गा भाडामा लिएर उनीहरुले गरेको मेहेनत देखेपछि स्थनीय पनि हौसिएका हुन् । संखुवासभाबाट आएका व्यवसायीले यहाँको सयौं रोपनी जमिन भाडामा लिएर अलैचीको व्यवसायिक खेती गरिरहेका छन् । तारखोलाको अमरभूमी, सिले, अर्गल र भुस्कातमा अलैचीको खेती राम्रो भएको छ । किसानले अहिले अधिकांस जमिनको परंपरागत खेती मासेर अचैची राप्ने काम थालेका छन् । आधाबढी जमिनमा उत्पादन पनि भैसकेको छ । ती उत्पादनलाई एकमुष्ट बजार पठाउने र किसानलाई उचित मूल्य दिनका लागि गाउँपालिकाले संकलन र प्रारम्भिक प्रशोधन केन्द्र समेत बनाउने योजना राखेको छ । भट्टीमा सुकाएर बजार पठाउँदा किसानले बढी मूल्य पाउने, ढुवानी सहज हुने र घरघरमै भण्डारन गर्न सकिन्छ । त्यसका लागि गाउँपालिकाले भट्टी बनाउन बजेट समेत बिनियोजन गरेको छ ।
छिटफूट रुपमा बिक्री भएकोले गाउँपालिकाले एकीकृत गरेर कुल उत्पादनको लागत राख्ने तयारी थालेको छ । चालु बर्ष सबै उत्पादनको लागत बनाइसक्ने र भट्टी बनाएर सुकाउने योजना उनले सुनाए । ताराखोला गाउँपालिकाले ६ हजार हेक्टर जमिन अलैचीका लागि तयार पारेको छ । यहाँ ठूला ठूला नर्सरी बनाएर बिरुवा उत्पादनको काम समेत थालिएको छ । गाउँपालिकाभित्र ४ हजार युवा रोजगार बनाउने लक्षमा कृषिमा सबैभन्दा धेरै रोजगार बन्ने अध्यक्ष प्रकाश घर्ती बताउँछन् । ताराखोलामा पर्याप्त सिंचाई भएकोले अलैची रोप्ने लहर बढेको हो । बागलुङकै बरेङ गाउँपालिकाले पनि ५० टन अलैची फलाउने लक्ष सहित अलैची रोप्ने र भट्टी मार्फत सुकाउन थालिएको छ ।
अहिले वडा नं. १, २ र ३ का अधिकांस स्थानमा अलैची खेती सुरु भैसकेको छ । वडा नं. ४ र ५ मा पनि बिस्तार गर्न बिरुवा बितरण, प्राविधिकहरु ल्याएर मल र औषधीको सिफारिस गर्ने काम समेत भएको उनले बताए । गाउँपालिका आलु जोनमा अहिले समावेश भैसकेको छ । अलैचीको जोन, लसुन र किबीको पकेट बनाउन पूर्वाधार, उत्पादन र सिप भित्राउने अभियानमा लागेको घर्तीले बताए । बरेङमा भने अलैची सुकाउने भट्टी समेत बनिसकेका छन् । ती भट्टीमा सुकाएपछि किसानको उत्पादन बिग्रदैन । साथै ढीलागरी बजारमा पठाएर पनि आम्दानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->