बलेवा (बागलुङ), १ पुस – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालको आर्थिक विकासको मेरुदण्ड कालीगण्डकी करिडोर भएको बताएका छन् । मंगलबार बागलुङको बलेवामा आयोजित करिडोर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले दुई ढुंगाबीचको तरुल नभई नेपाल दुई ठूला अर्थतन्त्रको ट्रान्जिट भएको बताए। उनले दुवै देशको व्यापार र पर्यटनको केन्द्र नेपाल बनाउने उद्घोष पनि गरे। नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरको बागलुङ र गुल्मी खण्डको ३० किमी सडक नेपाल सरकारलाई मंगलबार हस्तान्तरण गरिएको छ। उक्त अवसरमा मन्त्री ज्ञवालीले सेनाको कामबाट सरकार सन्तुष्ट भएको बताए। त्रिदेशीय मार्गलाई अब सरकारले छिटै कालोपत्रे गरेर आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गरेरै छाड्ने प्रतिवद्दता पनि जनाए।
मन्त्री ज्ञवाली काम नगर्ने ठेकेदारप्रति आक्रोशित बने। उनले काम ढीलासुस्ती गरेर उम्कने जो कसैलाई कारबाही गर्ने घोषणा गरे। ‘हामी काम ढीला गरेर राष्ट्रिय विकासमा अवरोध गर्नेलाई छाड्दैनौं’, उनले भने, ‘ठेकेदारको मनपरी अब नेपालीलाई स्विकार्य छैन।’ मन्त्रीपरिषदले वातावरणीय प्रभाव मूल्यांकनका आधार खुकुलो पारेकोले काम गर्न सहज हुने पनि बताए। सहज वातावरणमा पनि आलटाल गर्नेलाई कडा कारबाही गर्न सरकार तयार रहेको उनले चेतावनी दिए। सडक विभागमार्फत ठेक्का लिएका धेरै सडकमा काम नभएको, ठेकेदार बेपत्ता भएको जस्ता घटनाबाट सरकार अब कडा रुपमा आउन बाध्य भएको उनले बताए।
सडक हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राज्यले दिएको कार्यभार समयमा सम्पन्न गर्न सेना तयार रहेको बताए। सडक विभागले गर्न नसक्ने कडा चट्टान भएका र बम पड्काएर बनाउनुपर्ने सडकको ट्रयाक खोल्न सधै सेना अगाडि सरेको बताए। सेनाले तोकिएकै समयमा सडक निर्माण गरेकोमा मन्त्री ज्ञवालीले धन्यवाद पनि दिए। नेपाली सेनाले कालिगण्डकी करिडोरको बागलुङस्थित मालढुंगादेखि गुल्मीको रिडी सम्मको ८० किमी सडकको ट्रयाक खोलेर १० मीटर चौडासमेत पारेको छ। चौडा भैसकेको ३० किमी मंगलवार हस्तान्तरण भएको हो। बाँकी खण्ड चालु वर्ष भित्रै सक्ने सेनाको लक्ष छ।





