नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरी सन् २०२० मा नेपालमा २० लाख बाह्य पर्यटकहरु भित्र्याउने रणनीति अन्र्तगत काम गरिरहेको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुल रुपमा यस अभियानको नेतृत्व आँफैले गरिरहेको छ । यसका लागि मन्त्रालयले पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मार्फत पर्यटन प्रवद्र्धनमूलक कार्यक्रमहरु अगाडि ल्याएको छ । मन्त्रालय र नेपाल पर्यटन बोर्डको आर्थिक बर्ष २०७६÷७७ मा पर्यटन प्रवद्र्धनको लागि विशेष गरी देशका संभावना बोकेका पर्यटकीय गन्तव्यहरुमा पूर्वाधारको विकास र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा ब्यापक प्रचार प्रसार गरी सन् २०२० मा सरकारले लिएको लक्ष्य अनुरुप बाह्य पर्यटक भित्र्याउन बजेट बिनियोजन गरेको प्रष्ट देखिन्छ । नेपाल सरकारले लिएको लक्ष्यलाई सफल बनाउन प्रदेश सरकारहरु, स्थानीय सरकारहरु, निजी क्षेत्र एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको तर्फबाट पनि उत्तिकै पहल भएको देखिन्छ ।
यही पौष ११ गते देखि २० गतेसम्म बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा भव्य तयारीका साथ बागलुङ महोत्सवको आयोजना गर्न लागिएको छ । यस महोत्सवले समेत बागलुङ जिल्लाको पर्यटन क्षेत्रको बिकासलाई महत्वपूर्ण उद्धेश्यको रुपमा लिएको छ । यही महोत्सबकै समयमा नेपाल भ्रमण बर्ष २०२० को पहिलो दिन समेत पर्ने भएकोले सन् २०२० लाई बागलुङ महोत्सब मुल आयोजक समितिले समेत भव्य रुपमा मनाउने तयारी गरिरहेको छ । यति मात्रै हैन बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धनको लागि धौलागिरी पर्यटन प्रवद्र्धन समिति, बागलुङ पर्यटन विकास समिति, होमस्टे जिल्ला समिति बागलुङ, यस क्षेत्रका स्थानीय सरकारहरु, स्थानीय होम स्टे समितिहरु, पत्रकार महासंघ बागलुङ एवं विभिन्न संघ संस्थाहरुले समेत भ्रमण बर्ष २०२० लाई लक्षित गरी बिशेष कार्यक्रम यतिवेला बागलुङ जिल्लाका गाउँ गाउँमा मनाउने तयारी गरेका छन् । यति मात्र हैन बागलुङ महोत्सवलाई लक्षित गरेर यही पौष १० गते बागलुङ बजारमा लगानी गोष्ठी समेत पहिलो पटक हुँदैछ । यस महोत्सवको अवसरमा राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगिता, भलिबल प्रतियोगिता, म्याराथुन दौड, प्याराग्लाईडिङ लगायतका विभिन्न कार्यक्रमहरु समेत आयोजकले राख्ने तयारी गरिरहेको छ ।
पछिल्लोे समय बागलुङ जिल्लाले पर्यटकीय पूर्वाधारहरुको निर्माणमा उल्लेखनीय फड्को मारेको छ । नेपाल सरकारले नयाँ गन्तव्यको रुपमा पहिचान गरेको उत्कृष्ठ १०० नयाँ गन्तव्यहरुमा बागलुङ कालिका भगवती मन्दिर बागलुङ बजार, मुक्तिनाथ बाबाको नामले प्रसिद्ध धार्मिक गुरु कमलनयन आचार्य ज्यूको विशेष पहलमा स्थापित नेपालकै उत्कृष्ठ धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोट, भैरवस्थान भकुण्डे गाजादह क्षेत्र र ढोरपाटन क्षेत्र बागलुङ जिल्लामै रहेका छन् । यति मात्र हैन हिन्दु धर्माबलम्बीहरुले बिशेष रुपमा पुज्ने नदी कालीगण्डकी क्षेत्रमा पाईने शालिग्रामहरुको विशेष संग्रहालयको रुपमा झण्डै ६ करोडको लगानीमा बागलुङको कुँडुले भन्ने स्थानमा सुरुङभित्र झण्डै १ लाख भन्दा बढी शालिग्रामहरु राखेर बनाईएको शालिग्राम संग्रहालयले समेत यतिबेला राष्ट्रिय रुपमा चर्चा पाएको छ । यस संग्रहालयको यही मंसीर २२ गते पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा एवं मुक्तिनाथ बाबा ज्यूबाट उद्घाटन समेत भएको छ । धौलागिरी क्षेत्रमा स्थापित भएको पहिलो होमस्टे अतिथि सत्कार होमस्टे यस क्षेत्रको अर्को आकर्षक पर्यटकीय गन्तव्य समेत बागलुङ बजारबाट झण्डै एकघण्टाको यात्रामा सहजै पुग्न सकिन्छ । 
यतिमात्र हैन बागलुङमा बिशेष रुपमा प्रख्यात प्रशस्त पर्यटकीय स्थलहरु रहेका छन् । यस अन्र्तगत जैमिनी नगरपालिका वडा नं ३ अन्तर्गत प्रसिद्ध गाजको दह रहेको छ । झण्डै २४५० मिटरको उचाईमा रहेको यो तालको शीरमा सुन्दर गाजको धुरी रहेको छ । नेपाल सरकारले उत्कृष्ठ १०० स्थानभित्र समेटिएको क्षेत्र भएको एवं यसै क्षेत्रमा सिद्धबराह होम स्टे रहेकाले घुम्नको लागि एवं बस्नको लागि यो क्षेत्र समेत अत्यन्त आकर्षक छ । यस क्षेत्रमा पुग्नको लागि बागलुङ बजारबाट मोटरसाईकल वा जीपमा झण्डै डेढ घण्टाको यात्रा तय गनुपर्छ । गाजदहको उत्तरपूर्वी भागमा रहेका सुन्दर गाउँहरु रेश एवं लेखानी कादेशमा समेत सामुदायिक होमस्टेहरु संचालनमा आएका छन् ।
बागलुङ बजारबाट नजिकै रहेको अर्को प्रसिद्ध पर्यटकीय स्थल हो त्रिपुरेश्वर महादेव मन्दिर (रामकोट मन्दिर) । बम्हालीन १००८ स्वामी परमानन्द सरस्वती ज्यूको विशेष योगदानबाट निर्मित यो मन्दिर क्षेत्र मध्यपहाडी लोकमार्गको काखमा घना जंगलको बीच धुरी भागमा रहेको सुन्दर पर्यटकीय स्थल हो । यस मन्दिर परिसरमा बिहान र बेलुकाको समयमा कालिजहरु समेत मन्दिर परिसरमा नै आईरहेको दृष्यले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । यहाँ नजिकै रहेका अन्य पर्यटकीय आकर्षणहरुमा घोडाबाँधे, शिवधुरी र थामनेटा रहेका छन् । थामनेटाको भ्यू टावर र मध्यपहाडी लोकमार्गमा बन्दै गरेका नयाँ होटल एवं रेष्टुरेण्टहरुले पर्यटकहरुलाई लोभ्याउने गरेका छन् । यस क्षेत्रको यात्रा गर्दा जोसुकै पनि रोकिएर सुन्दर हिमालहरुलाई आफ्नो सेल्फीमा नअटाउने सायदै कमै पर्यटकहरु हुन्छन् । यस क्षेत्रलाई लक्षित गरेर यही क्षेत्रको मध्यभागमा शिवधुरी सामुदायिक होमस्टे समेत संचालनमा आएको छ ।
सन् २०२० लाई लक्षित ग्रामीण पर्यटन प्रवद्र्धनको क्षेत्रमा विशेष भूमिका निर्वाह गरिरहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालले नेपालका उत्कृष्ठ तीन नयाँ प्रवद्र्धन गरिने पर्यटकीय गाउँहरुमा काँठेखोला गाउँपालिका वडा नं ४ अन्र्तगत रहेको फापरखेत गाउँ हो । झण्डै ९० प्रतिशत भन्दा बढी मगरहरुको बाहुल्यता भएको यस गाउँको धुरीमा सुन्दर पर्यटकीय स्थल झुलेनीको धुरी रहेको छ भने यस गाउँमा फापरखेत झुलेनी सामुदायिक होमस्टेको निर्माणले समेत आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लोभ्याउने गरेको छ । यस गाउँमा पनि बागलुङ बजारबाट मोटरसाईकल वा जीपमा झण्डै डेढ घण्टाको समयमा मध्यपहाडी लोकमार्ग खण्डको गोलबजार जुकेपानी वा रिजालचोकबाट सहजै पुग्न सकिन्छ ।
अत्यन्त सुन्दर रमणीय स्थान एवं बागलुङ एवं म्याग्दी जिल्लाको सिमानामा रहेको बेलढुंगा आन्तरिक तथा बाह्य पर्यटकहरुको ब्यापक आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक पहाडको धुरीमा एउटा विशाल चट्टानमा एकपटकमा झण्डै १५, २० जनाले अबलोकन गर्न सकिने प्राकृतिक भ्यू टावर रहेको छ । बेलढुंगा सामुदायिक होमस्टे एवं म्याग्दी भकिम्लेका स्थानीय जनताहरुको विशेष पहलमा यस प्राकृतिक भ्यू टावरको उच्चत्तम बिन्दुसम्म नै पैदल मार्ग समेत निर्माण भैसकेको छ । यस स्थानमा बागलुङ बजार, पञ्चकोट, बिहुँको रिजालचोक, अक्षेते, म्याग्दीको बेनी र सिंगा तातोपानीबाट समेत जान सकिन्छ । यस स्थलको नजिकै उत्तरी भागमा रहेको मुसुङको धुरीमा महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम रहेको छ भने दक्षिणी भागमा धम्जाको ओखले गाउँ जहाँ बेलढुंगा सामुदायिक हामेस्टे रहेको छ । बागलुङ जिल्ला पुग्दा अनिवार्य रुपमा पुग्नुपर्ने एउटा पर्यटकीय गन्तव्यको रुपमा बेलढुंगाले चर्चा पाउँदै गएको छ ।
यी माथि उल्लेखित सम्पूर्ण पर्यटकीय स्थलहरुलाई एकीकृत तरिकाले एउटै पर्यटकीय ढिक्काको रुपमा विकास गर्नको लागि बागलुङ बजार पञ्चकोट स्वर्गाश्रम बेलढुंगा झुलेनी, रामकोट, शिबधुरी,गाजाको दह, रेश , सिगाना, भकुण्डे, भैरवस्थान, बलेवा, कुश्मा बन्जी जम्प, गुप्तेश्वर गुफा, सहश्रधारा, बागलुङ भगवती मन्दिर हुँदै बागलुङ बजारसम्मको १०० किलोमिटरको हाराहारीको बिशेष पर्यटकीय चक्रपथ क्षेत्रलाई पोखराबाट पश्चिम तर्फ लाग्ने पर्यटकहरुलाई ३, ४ दिनसम्म सहजै घुम्न सक्ने पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदैछ । पोखरा, ढोरपाटन, लुम्बिनी र मुक्तिनाथ क्षेत्रको विच भागमा रहेको यो क्षेत्र धेरै नै चाँडो नयाँ पर्यटकीय हब बन्ने निश्चित छ ।
माथि उल्लेखित क्षेत्रहरु बागलुङ जिल्लाका प्रमुख चारवटा ब्लकहरु मध्यमा पूर्वी बागलुङ क्षेत्रमा पर्दछन् । बागलुङ जिल्लाका अन्य ब्लकहरुमा दक्षिण बागलुङ (जैमिनी नगरपालिका र बरेङ गाउँपालिका), गल्कोट क्षेत्र (गल्कोट नगरपालिका,ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिका) एवं बुर्तिबाङ ब्लक अन्र्तगत ढोरपाटन नगरपालिका, निसी खोला गाउँपालिका र तमान खोला गाउँपालिका रहेका छन् ।
दक्षिण बागलुङका प्रमुख पर्यटकीय स्थलहरुमा कालीगण्डकी नदी क्षेत्र, जैमिनीधाम, हाँडिकोट, थन्थापमाई, गाजको दह, सत्यवती मन्दिर, कौडेको धुरी एवं यस क्षेत्रमा रहेका विभिन्न सामुदायिक होमस्टेहरु हुन् । सामुदायिक होमस्टेहरुमा गाजाको दहमा रहेको सामुदायिक होमस्टे र बरेङमा रहेको सिग्दी सामुदायिक होमस्टे चर्चित होमस्टेहरु हुन् । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको स्तरबाट नै व्यापक पहल गरिरहेका छन् ।
यसै गरी ताराखोला क्षेत्र अन्र्तगत रहेको ताराखोला गाउँपालिका आलु, भाँगो, मुला, भट्टमास लगायतका विभिन्न स्थानीय अर्गानिक उत्पादनहरुको लागि एवं पर्व मेला र युद्ध पर्यटनको लागि प्रख्यात छ । ताराखोला गाउँपालिकाकै पहलमा प्रवद्र्धन गरिएको ताराखोला गाउँपालिका वडा नं १ अमरभूमीको दरमखोला क्षेत्रमा रहेको गाईघाट झरना समग्र गण्डकी प्रदेशकै उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदै गएको छ । यस स्थानमा दिनहँु सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । आकर्षक प्राकृतिक झरनालाई विभिन्न संरचनाहरुको निर्माण गरेर कलात्मक रुपमा सिंगारिएको छ भने यसै झरनाको पहराभित्र रहेको गुफामा झण्डै १५,२० जना मानिसहरु अट्न सक्ने प्राकृतिक गुफाले समेत पर्यटकहरुलाई लोभ्याउने गरेको छ । यस बाहेक पनि ताराखोला गाउँपालिकामा ठूलो लगानीमा दरमखोला किनारामा रेन्बो ट्राउट सामुदायिक होमस्टेको समेत संचालनमा आएको छ र ताराखोला क्षेत्रले पछिल्लो समयमा प्रयाप्त संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउँदै आएको छ । ताराखोला गाउँपालिकाका अन्य प्रसिद्ध पर्यटकीय स्थलहरुमा ताराखोला गाउँपालिका वडा नं १ अमरभूमि माजखर्क क्षेत्रमा रहेको मोतीमारे (कालीबराह ताल ÷मन्दिर), प्रसिद्ध धार्मिक पर्यटकीय स्थल तीनचुले र दरमखोलाको शीर दुरलेक लगायत रहेका छन् । ताराखोला क्षेत्र स्लेट ढुंगा उत्पादनको हिसाबले समेत गण्डकी प्रदेशमा चर्चित क्षेत्र हो ।
गल्कोट नगरपालिकाले यही मंसीर ४ गते देखि १२ गतेसम्म गल्कोट महोत्सव नै आयोजना गरेको थियो र यस महोत्सवको प्रमुख उद्धेश्य यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको व्यापक प्रचार प्रसार र योजनावद्ध ढंगले विकास गर्नु प्रमुख उद्धेश्य रहेको बताएको थियो । गल्कोट घुम्टे पर्यटन विकास समितिले यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र प्रचार प्रसारमा विशेष भूमिका निर्वाह गरिरहेको छ । गल्कोटको उत्तरपश्चिम भागमा रहेको घुम्टेको धुरीले देश तथा विदेशमा रहेका लाखौं गल्कोटेहरुको भावनालाई जोड्दै आएको छ । यस बाहेक पनि ऐतिहासिक महत्वको गल्कोट मल्ल दरबार बागलुङ बजारबाट झण्डै साढे दुईघण्टाको मोटरसाईकल वा जीपको यात्रामा सहजै पुग्न सकिन्छ भने यसको नजिकै टेउवा भन्ने स्थानका प्राकृतिक ढुंगाहरुलाई मूर्तिको रुपमा कोर्ने गरी बिशेष प्रयास हुँदैछ यसको लागि आगामी फाल्गुण महिनामा बिशेष कार्यक्रम समेत हुँदै छ जहाँ प्रत्यक्ष रुपमा अन्र्तराष्ट्रिय मुर्तिकारहरुले यस क्षेत्रमा ठूला ठूला मूर्तिहरु कुद्नेछन् । गलकोटका अन्य पर्यटकीय क्षेत्रहरुमा राम्चेढुंगा, सहश्रधारा क्यानोनिङ झरना, कालिलेख, निलुवा क्षेत्र, गल्कोट नगरपालिका वडा नं ३ मा रहेको कोटघर, रिघामा रहेको सुन्दर बौद्ध गुम्बा एवं पोखरी लगायतका संरचनाहरु एवं समग्र गल्कोट क्षेत्रको विचभागबाट बग्ने सुन्दर दरमखोला गल्कोट क्षेत्रका प्रमुख आकर्षणहरु हुन् । यस क्षेत्र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको खानी नै हो । गल्कोट नगरपालिकाको नेतृत्व पंक्तिले समेत गल्कोट क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
यसै गरी बडिगाड गाउँपालिका निसी, भुजी र तमान खोला मिलेर बनेको बडिगाड खोलाको विशेष गरी उत्तरी भागमा रहेको क्षेत्र हो । बडिगाडमा विशेष चर्चामा रहेको पर्यटकीय स्थलमा चमेरे गुफा रहेको छ र यो ग्वालिचौर नजिकै रहेको छ । यस क्षेत्रमा रहेको खर्बाङ बजार हुँदै वामी टक्सार, रुद्रबेणी, रिडी सडकले सिंगो बागलुङलाई लुम्बिनीसँग जोड्दछ भने यसै स्थानीय तहमा रहेको भीमगिठे बजारबाट प्यूठान हुँदै भालुबाङ सडकले समेत सुदुरपश्चिम र मध्यपश्चिम नेपाललाई सिधै बागलुङसँग जोडिदिएको छ । यस स्थानीय तहका अधिकांश क्षेत्रमा स्थानीय खोलाहरुबाट बनेका लघु जलविद्युत आयोजनाहरुबाट विद्युतीकरण भएको छ भने यस क्षेत्र हनी हन्टिङको लागि समेत प्रख्यात मानिन्छ । बडिगाड गाउँपालिकाको उत्तरी भागमा प्रसिद्ध शिवधुरी, शिसाखानी, रणसिंहकिटेनी जस्ता क्षेत्रहरु रहेका छन् । विशेष गरी यो क्षेत्र विभिन्न खानीहरु एवं शाहसिक पर्यटनको लागि व्यापक संभावना भएको क्षेत्र हो ।
बागलुङका चारबाट महत्वपूर्ण ब्लकहरु मध्य अर्को ब्लक हो बुर्तिबाङ क्षेत्र । यस क्षेत्रमा ढोरपाटन नगरपालिका, निसी खोला गाउँपालिका र तमान खोला गाउँपालिका रहेका छन् । मध्यपहाडी लोकमार्ग पोखरा, बागलुङ बजार, बुर्तिबाङ, निसीखोला, पूर्वी रुकुम हुँदै पश्चिम तर्फ लाग्दछ र नेपाल सरकारले बुर्तिबाङ क्षेत्रलाई नमूना शहरको रुपमा विकास गर्र्र्र्दैछ । ढोरपाटन नगरपालिकाको प्रमुख पर्यटकीय स्थल ढोरपाटन शिकार आरक्ष हो । यसै गरी निसीखोला गाउँपालिकामा रहेका प्रसिद्ध पर्यटकीय स्थलहरुमा निसेलढोर, नरसिंहकोट, अर्नाकोट आदि पर्दछन् । यसै गरी तमानखोला गाउँपालिकामा बराहताल र प्रसिद्ध सोलेको धुरीहरु रहेका छन् । तमानखोलामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सोलेको धुरीले बुर्तिबाङ तमानखोला र म्याग्दीको दर्बाङ हुँदै बेनी बजारसम्मलाई जोड्दछ । त्यसैले म्याग्दीको बेनी एवं तातोपानी क्षेत्रबाट समेत बागलुङ जिल्लामा पर्यटकरुलाई आकर्षित गर्न सकिने संभावना रहेको छ । यसै गरी निसी खोला गाउँपालिकाको पश्चिम क्षेत्रमा बागलुङ र पूर्वी रुकुम क्षेत्रमा रहेको पातीहाल्ने क्षेत्र पनि सुन्दर पर्यटकीय स्थलको रुपमा रहेको छ । यस क्षेत्रमा रहेका निसी, भुजी र तमानखोलाहरुले यसलाई थप आकर्षित बनाएका छन् ।
मध्यपहाडी लोकमार्गले बागलुङ बजार, गल्कोट, खर्बाङ, बुर्तिबाङ, निसीखोला हुँदै बागलुङ जिल्लामा मात्रै झण्डै १४० किलोमिटर सडकखण्ड अधिकांश स्थानमा कालोपत्रे भैसकेको, लुम्बिनी सालझण्डी ढोरपाटन सडकखण्डले लुम्बिनी बुर्तिबाङ र ढोरपाटनलाई जोडेको एवं बुर्तिबाङ तमानखोला सोलेको डाँडा दर्बाङ बेनी सडकखण्डले म्याग्दी जिल्ला पनि जोडिएको सन्दर्भमा स्थानीय सरकारहरुको निर्माणसँगै पश्चिम बागलुङले बिकासमा ब्यापक फड्को मारेको छ । पोखरा ढोरपाटन लुम्बिनी र मुक्तिनाथ क्षेत्रको मध्यभागमा रहेको बागलुङ जिल्लाले नेपालको नयाँ पर्यटकीय गन्तव्यको रुपमा परिचय बनाउँदै लगेको छ । बागलुङ बजार, गल्कोट, खर्बाङ, बुर्तिबाङ जस्ता स्थानहरुमा प्रमुख बजारहरु भएको र बागलुङ जिल्लामा मात्रै हाल २८ वटा सामुदायिक होमस्टेहरु संचालनमा रहेकोले समेत आन्तरिक तथा बाह्य पर्यटकहरु नेपाल भ्रमण बर्ष २०२० मा ढुक्कसँग बागलुङ घुम्न सक्ने अवस्था रहेको छ ।
नेपाल भ्रमण बर्ष २०२० को शुरुवाती समयमा नै यही पौष ११ देखि २० गतेसम्म बागलुङ बजारमा छैठौं बागलुङ महोत्सव हुन लागेको, भ्रमण बर्ष २०२० लाई स्वागत गर्नको लागि डिसेम्बर ३१ र जनवरी फस्ट लक्षित विशेष कार्यक्रम बागलुङ महोत्सव मुल आयोजक समिति, जिल्लाका सामुदायिक होमस्टे, बागलुङ पर्यटन विकास समिति, धौलागिरी पर्यटन प्रवद्र्धन समिति र यस क्षेत्रका स्थानीय सरकारहरुले विशेष कार्यक्रम राखेको सन्दर्भमा समेत भ्रमण बर्ष २०२० खुलेर बागलुङमा विशेष नाँचगान र सांगितिक कार्यक्रमसँगै मनाउन सकिने भएको, मुस्ताङमा यो समयमा अत्याधिक चिसो समेत हुने भएकोले नेपालका पर्यटकीय राजधानीको रुपमा रहेको पोखराबाट नजिकै रहेको बागलुङ जिल्ला देश तथा विदेशमा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नेपाल भ्रमण बर्ष २०२० मनाउनको लागि उपयुक्त पर्यटकीय क्षेत्र रहेको छ । बागलुङ जिल्ला नजिकै रहेको कुश्मामा रहेका झोलुंगे पुलहरु, संचालनमा आउँदै गरेको बन्जी जम्प, गुप्तेश्वर गुफा, पिङ एवं बेनी बजारमा नजिकै रहेको प्रसिद्ध सिंगा तातोपानी एवं बागलुङ बजार नजिकै रहेका कालिका भगवती मन्दिर, शालिग्राम संग्रहालय, प्रसिद्ध पञ्चकोट, विहुँ रामकोट, भैरवस्थान मन्दिर, भकुण्डे, गाजादह जस्ता क्षेत्रहरुले समेत नेपाल भ्रमण बर्ष २०२० मा ठूलो संख्यामा पर्यटकहरु बागलुङ जिल्लामा भित्रिने व्यापक संभावना रहेको छ ।
साथै बागलुङ महोत्सवलाई समेत व्यापक रुपमा सफल बनाउन नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन वोर्ड काठमांडौ, नेपाल पर्यटन वोर्ड पोखरा, पर्यटन क्षेत्रमा लागिरहेका निजी क्षेत्रका विभिन्न संघ संस्थाहरु, गण्डकी प्रदेश सरकार एवं बागलुङ जिल्लाबाट देश तथा विदेशमा रहनुभएका आम जनसमुदायले समेत बागलुङ जिल्लामा नेपाल भ्रमण बर्ष २०२० र बागलुङ महोत्सवमा भ्रमणको लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बिशेष अनुरोध गर्नुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
लेखक धौलागिरी समाज नेपाल अन्तर्गत रहेको धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष एवं नेपाल भ्रमण बर्ष मुल समिति गण्डकी प्रदेशका सदस्य समेत हुन । बागलुङ जिल्लाको पर्यटन प्रवद्र्धनमा उनले निरन्तर अभियानहरु चलाउँदै आएका छन ।




