बागलुङ, ३ पुस – बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था देशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित भएको छ ।काठमाण्डौमा सम्पन्न राष्ट्रिय सहकारी बैंक लि. को १६ औं वार्षिक साधारण सभाका अवसरमा बैंकले संस्थालाई देशकै उत्कृष्ट संस्थाको रुपमा सम्मान गरेको हो । देशभरीका सहकारी मध्ये बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाबाट सिवाईसी सम्मानित भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेललाई सम्मान पत्र र दोसल्लाले सम्मान गरेका छन् । साधारण सभाका अवसरमा बैंकको सदस्य संस्था समेत रहेको सहकारीले सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरेको थियो ।
बागलुङ बजारमा केन्द्रीय कार्यालय रहि जिल्लाका विभिन्न नगर तथा गाउँपालिकामा ९ वटा सदस्य सेवा केन्द्र मार्फत स्थानीय स्तरमै सेवा प्रदान गर्दै आईरहेको संस्थामा १० हजारभन्दा बढी शेयर सदस्य, १८ करोड शेयर पुँजी, ८४ करोड बचत, ७७ करोड लगानीमा रहिरहेको ऋण, ८ करोड कोष, ४७ जना कर्मचारी र १ अर्ब २३ करोड रहेको संस्थाले जनाएको छ ।






