काठमाडौँ, १६ पुस – नेपाल भ्रमण वर्ष २०२० को औपचारिक आरम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा भ्रमण वर्षको सुरुवात गरेकी हुन् । मुलुकका विभिन्न ठाउँमा पनि भ्रमण वर्षका अवसरमा कार्यक्रम सुरु भएका छन् । भ्रमण वर्षको सुरुवात गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रूपमा अंगिकार गर्न आग्रह गरेकी छन्। भ्रमण वर्ष राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिएको भन्दै उनले यसमा सबैको साथ र सहयोग हुनुपर्ने बताइन्। उनले भ्रमण वर्षलाई महाअभियानको रुपमा लिनुपर्ने बताइन्।
भ्रमण वर्ष सफल पार्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने राष्ट्रपतिको आग्रह थियो। उनले पर्यटन क्षेत्रको विकासका लागि योजनाबद्ध कार्यक्रम ल्याउन नसके सम्भव नहुने धारणा राखेकी थिइन्। सांस्कृतिक तथा प्राकृतिक हिसाबले विविकधीकरण भएकाले सबैखालका पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो। संसारकै उत्कृष्ट गन्तव्यस्थल सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, चितवन, अन्नपूर्ण लगायतका क्षेत्रमा भ्रमण गर्न उनको आग्रह थियो।
राष्ट्रपति भण्डारीले प्रकृतिलाई बिगारेर नभई सिंगारेर पर्यटकलाई आकर्षित गर्नुपर्ने धारणा राखिन्। पर्यटन वर्षको अभियानले विश्वमा मानवता भातृत्व तथा शान्तिप्रतिको प्रतिबद्धता उजागर गर्ने उद्देश्य राखेको समेत उनले बताइन्। राजनीतिक अस्थिरता र द्वन्द्वले सिथिल बनेको नेपालको आर्थिक विकास भ्रमण वर्षले अगाडि बढाउने प्रयास थालिएको उनको भनाइ थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए। उनले नेपाल संसारकै एक अद्वितीय प्राकृतिक सम्पदायुक्त मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरेका थिए। ‘हाम्रो सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने छ’, मन्त्री भट्टराईले भने।
विश्वका सबैभन्दा बढी उचाई भएका हिमाल नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दिर, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हेर्न पनि नेपाल आउनुपर्ने बताए। सन् १९५१ देखि विदेशी पर्यटकका लागि नेपाल भ्रमण गर्न खुल्ला गरिएको जानकारी दिँदै मन्त्री भट्टराईले पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताए। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन दशकको अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रूपमा वर्ष २०२० लाई लिएको छ।





