पोखरा,१९ पुस – स्टेशन दि क्लब एण्ड ससेज पार्क थ्रीडी आर्टसहितको भवनमा नयाँ स्वरुप सहित सञ्चालन हुने भएको छ । १५ वर्षअघि सडकमा ठेलाबाट सुरु भएको ब्यवसायलाई यसका सँचालक आयुष श्रेष्ठले नयाँ स्वरुप सहित सुरु गर्न लागेका हुन । पोखराको एउटा रेडियोकर्मीको रुपमा काम गरेका आयुषले पछि आफ्नै रेडियोको अगाडि ठेलामा व्यापार शुरु गरेका थिए । ‘रेडियोको जागिरले दैनिकी गुजारा चलाउन मुस्किल थियो ,कसैसँग १० त कसैसँग ५ हजार गर्दै सापटी लिएर ठेलाबाट ब्यापार सुरु गरेको थिए ।’ शनिवार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले भने ।
‘धेरै मेहनत र दुःखले म यहाँसम्म आई पुगेँ र, अझै महेनत सहित ग्राहकको मन जितेर अघि बढने छु’, आयुषले भने । घर परिवारले के गरेको छस् ? भनेर सोध्दा केही गरेको छु भन्ने उत्तरका लागि ठेलामा व्यापार सुरु गरेको उनले सम्झिए । ठेला हँुदै पोखराको चिप्लेढुङ्गामा स्टेशन सुरु गरेका थिए दुईजना मिलेर सुरु गरेका व्यवसाय साथी अमेरिका उँडेपछि उनकै काँधमा आयो । मेहनत गर्दै गए, ब्यापारिक यात्रा सफल हुदै गयो । अहिले उनले १ करोड लगानी गरेर पहिलेको भवनको आडैमा आकर्षक आर्टसहित आफ्नो व्ययसायलाई विस्तार गरेका छन । खानाका विभिन्न परिकारसहित ६० भित्तामा थ्रि डी र ग्राफिटी आर्टको ग्राहकले अवलोकन गर्न पाउने उनले बताए । लामाचौरका अनिमेश शाही र उनको टिमले ३ महिनादेखि थ्रि डी र ग्राफिटी आर्टको काम गरिरहेको श्रेष्ठले बताए । खानाका परिकारमा आलु , ससेज , मःम , चाउमिनजस्ता फास्टफुडका साथै यसमा प्रयोग गरिने चट्नीको स्वाद विशेष भएको आयुष बताउँछन् । खानाको स्वाद, साथिभाइको सहयोग, घरपरिवारको सहकार्य र ग्राहकको रोजाइ नै आफ्नो सफलताको रहस्य रहेको उनको भनाइ छ ।अबका दिनमा खानाका परिकारमा झिर पनि थपिने बताए । व्यवसाय सञ्चालन र सफलताको लागि श्रीमती नीलिमा हिराचनको महत्वपूर्ण सहयोग भएको आयुषले बताए ।





