चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बेला जिल्लाको बागलुङ नगरपालिकाले नगर भ्रमण बर्षको घोषणा ग¥यो । नेपाल सरकार सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरिसकेको अवस्थामा बनेको नगरको नीति तथा कार्यक्रममा नेपाल भ्रमणमा आउने पर्यटकमध्ये केही बिदेशी पर्यटक बागलुङमा भित्राउने लक्ष बागलुङ नगरपालिकाको छ । भ्रमण बर्षलाई सघाउ पुग्ने र बागलुङको विकासमा टेवा पुग्नेगरी नगर भ्रमण बर्षको घोषणा गरिएको हो । आन्तरिक पर्यटकहरुलाई पनि जिल्लाका पर्यटकीय क्षेत्रमा भित्राउने लक्षका साथ घोषणा गरिएको कार्यक्रम कार्यान्वयनको चरणमा छ । त्यसका लागि नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार, पूर्वाधार निर्माण र स्वागत सत्कारका काम गर्दै आएको छ । अन्तरराष्ट्रिय पर्यटन समुह ‘भेगन ग्रुप’लाई नगरपालिकाको आतिथ्यतामा भित्राएको नगरपालिकाले पर्यटन बर्ष र नगर भ्रमण बर्ष मनाउन ३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । यहाँका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका लागि छुट्टाईएको र प्रदेश तथा केन्द्र सरकार सँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रम बाहेक पर्यटकको स्वागत सत्कारका लागि मात्रै बिनियोजन भएको बजेट हो यो ।
‘हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम नै यस बर्ष पर्यटन क्षेत्रको विकासमा लगाउने योजनामा छौं’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘बेरोजगारहरुलाई पदमार्ग निर्माणमा लगाउँछौं जसले रोजगारी पनि सिर्जना गरोस पूर्वाधार पनि बनुन् भन्ने छ ।’ बागलुङ नगरपालिका पर्यटकको लागि सबै हिसाबले सुगम क्षेत्र हो । जिल्लामै सबैभन्दा सुविधा सम्पन्न होटल रेष्टुरेण्टदेखि यहि नगरको एउटा गाउँमा रहेको घरबास पनि आन्तरीक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा बिकास भैरहेको छ । नगरको नजर र पर्यटकको नजर एकैसाथ लागेको बागलुङ नगरपालिका–१० भकुण्डेको अतिथी सत्कार होमस्टे बागलुङ नगरलाई सघाउने गन्तव्य हो । यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले नगरको योजनामा सघाईरहेका छन् । स्थानीय कोदोको परिकार, मकैको परिकार, यहाँबाट देखिने हिमश्रृङ्खलादेखि यहाँको स्वागत सत्कार गर्ने तरिका पर्यटकले रुचाएका छन् । हरेक साताको शनिबार यो सामुदायीक घरबासमा भीडभाड लाग्छ भने अन्य समयमा औषतमा पर्यटक आउँने गरेको घरबास सञ्चालक अम्सरा थापा बताउँछिन् ।
जिल्लाभरी घुम्न मिल्ने ठाउँ प्रसस्तै छन् । त्यसमध्ये पनि केही धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरु निकै चर्चामा छन् । तीनै चर्चामा रहेका पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकहरुको सुबिधाको लागि बागलुङका घरबास पनि निकै चलेका छन् । जिल्लाकै पहिलो सामुदायीक घरबास अथिती सत्कार पछिको चर्चामा रहेको घरबास हो बरेङ गाउँपालिकामा रहेको सिद्धि सामुदायीक होमस्टे । यो घरबास सञ्चालनमा आएको चार महिना मात्रै भयो । अहिलेसम्म यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ७ सयभन्दा धेरै छ । ‘सदरमुकामका सुविधा सम्पन्न होटलहरुले हामीकहाँ आउने पर्यटकलाई सुविधा दिन्नन्’ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘हामीले पर्यटक भित्राउने आधार होमस्टे नै हुन् ।’ बरेङ गाउँपालिकाले नेपाल भ्रमण बर्षलाई सघाउने र बरेङमा पर्यटक भित्राउने भन्दै चालु आर्थिक बर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सोही अनुसार प्रचार प्रसार र पूर्वाधार निर्माणको काम भैरहेको अध्यक्ष शर्मा बताउँछन् । बाईसे चौविसे राजाहरु बसेको कौडेको धुरीदेखि बहिरी देवि सत्यवातीको मन्दिर पर्यटक पुग्ने बरेङका गन्तव्य हुन् । कौडेको धुरी प्राकृतिक मनोरम दृष्य रुचाउनेहरुका लागि साविकको पश्चिमाञ्चलका १० जिल्ला देखिने भ्यू टावरको रुपमा चिनिन्छ । बागलुङ जिल्ला नेपालको एकमात्रै शिकार आरक्ष क्षेत्र ढोरपाटनको अधिकांश भूभाग रहेको क्षेत्र हो । हिउँदमा हिउँसँग रम्न सकिने शिकार आरक्ष क्षेत्रमा कात्तिक र चैतमा बर्षको दुई पटक शिकारको सिजन हुन्छ । बिशेष गरेर साहसिक सिकारी पर्यटकका लागि यो क्षेत्र लोकप्रिय छ ।
बागलुङले झोलुंगे पुलको जिल्ला भनेर पनि पहिचान बनाएको छ । जिल्लाका खोला–नाला र पहाड–पखेरा मात्रैको उचित सदुपयोग गर्ने हो भने पर्यटनका हिसाबले बागलुङ निकै महत्वपूर्ण र आकर्षक गन्तव्य हुन सक्छ । प्रशस्त पर्यटकीय क्षेत्र रहेको जिल्लाका धेरै ठाउँमा अहिलेसम्म पनि पर्यटक नपुगेकाले ‘भर्जिन’ गन्तव्यको रुपमा कयौं ठाउँमा पर्यटक पुर्याउन सकिने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखाल बताउँछन् । सबै पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकको बस्ने खाने उपयुक्त स्थान बन्दै गएका छन् बागलुङका घरबास ।
बागलुङका ६ गाउँपालिका र ४ नगरपालिकामा अथाह पर्यटकीय संभावना बोकेका ठाउँहरू रहेका छन् । जिल्लाका १० वटै पालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि यो वा त्यो ढंगबाट लगानी पनि गर्न थालेका छन् । हरेक पालिकाको नीति तथा कार्यक्रम र बजेटमा पर्यटकीय क्षेत्रको विकासका लागि सम्बोधन भएकै छ । बागलुङका सबै पालिकाहरूले आफ्नो क्षेत्रभित्रका एक÷एक वटा क्षेत्रको मात्रै प्रचारप्रसार गर्ने हो भने जिल्लालाई धार्मिक तथा प्राकृतिक सौन्दर्ययुक्त गन्तव्यका रुपमा विकास गरी पर्यटक भित्राउन सकिने उद्योग बाणिज्य संघ बागलुङका महासचिव नरेश कँडेल बताउँछन् ।
कला–संस्कृतिको धनी बागलुङमा पछिल्लो समय धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास पनि तीब्र गतिमा भइरहेको छ । केन्द्र तथा प्रदेश सरकारले बृहत कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको शुभारम्भ गरेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन भ्रमण वर्षको रुपमा मनाउन सुरु गर्दैगर्दा बागलुङमा भौतिक संरचना निर्माण तथा पूर्वाधारको विकास भएका केही गन्तव्यलाई प्रयोगमा ल्याउन सकिन्छ । पर्यटकको रुची, पर्यटकीय स्थलको भौगोलिक अवस्था र त्यहाँ निर्माण भएका संरचनाले भ्रमण वर्षको सफलता र बागलुङको आर्थिक विकासमा टेवा पु¥याउन भूमिका खेल्ने पर्यटन व्यवसायी बताउँछन् । त्यसमा पनि बागलुङ भित्रने पर्यटकको स्वागत सत्कारदेखि बास बस्ने बन्दोबस्तीका लागि घरबासको भुमीका महत्वपूर्ण हुन्छ । जिल्लामा दर्ता भएका २८ वटा सामुदायीक घरबास छन् । उनीहरुको आ–आफ्नै खानाका परिकार र आ–आफ्नै स्वागत सत्कारका तरिका छन् । बागलुङ नगरपालिकाको भकुण्डेमा रहेको घरबासमा कोदोको परिकार मुख्य मानिन्छ भने बरेङको घरबासले जंगलमा पाईने बाँकोको गुन्द्रकलाई प्रमुख परिकार भनेर दिने गरेको छ । जैमिनी नगरपालिकामा रहेको सिद्ध बहारा सामुदायीक घरबासमा मारुनी गाउँदै पर्यटकको स्वागत हुन्छ । काठेखोला गाउँपालिकाका घरबासमा सोरठी नाचको स्वाद पाईन्छ । ‘घरबास घर जस्तै होस स्थानीय खाना र पारिवारीक वातावरण मिलोस’ अघिल्लो साता पर्वतबाट भकुण्डेको घरबासमा पुगेका पर्वतका शिक्षक सञ्जय रेग्मीले भने ‘साँच्चै दिन बितेको थाहै भएन् ।’
भकुण्डेस्थित अतिथि सत्कार होमस्टेमा आन्तरिक पर्यटक समेत नियमित आउने गर्छन् । जिल्लाको पहिलो होमस्टे भएकोले यहाँ फोन सम्पर्क गरेर आउने पर्यटक पनि धेरै छन् । कोरिया र जापानका पर्यटकहरु यहाँ नियमित जस्तै आउने गरेका छन् । अध्ययनको क्रममा नेपाल आउने कोरियालीले यहाँको होमस्टेमा आएर साता दिनसम्म पनि बिताउने गरेका छन् । बागलुङ नगरपालिका १० को भकुण्डेस्थित अतिथि सत्कार होमस्टेमा दुई बर्षदेखि बिदेशी पाहुना आउने क्रम बढेको हो । ‘आएका पाहुनालाई फूल अभिरले स्वागत गर्ने हाम्रो चलन हो’ होमस्टे संचालन समितिका अध्यक्ष खिमबहादुर थापाले भने, ‘पाहुनालाई अर्गानिक खुवाउने र फर्केर आउने बनाउन प्रयास गरेका छौं ।’ गण्डकी प्रदेशले तीन बर्षसम्म भ्रमण बर्ष मनाउने तयारी गरेको छ । यो तयारी सँगै यहाँका होमस्टे सुधारका लागि १० लाख रुपैयाँ अनुदान समेत दिएपछि होमस्टे संचालकहरु हौसिएका छन् । पाँच बर्षभित्र २० लाख पर्यटक गण्डकी प्रदेशमै ल्याउने योजनामा होमस्टेले साथ दिने थापाले बताए । यहाँका संचालकहरुले अर्गानिक खेती बिस्तार, बिद्युत र पानीको व्यवस्थापन तथा सामुदायिक भवन निर्माणमा पनि सरकारी लगानी भित्राउन पहल गरेका छन् ।
ठाउँ अनुसारका संस्कृतिमा आधारित गीत, संगीत र नृत्यहरु देखाउने, स्थानीय जातको खाना खुवाउने भएकोले बिदाको दिन सदरमुकामका कर्मचारी समेत यहाँका घरबासमा पुग्ने गरेका छन् । जसका कारण आन्तरीक पर्यटक भित्राउने, प्रबद्र्धन गर्ने पालिकाहरुको लक्षमा घरबासले साथ दिएकै छन् । खाना पकाउने, सरसफाई र पाहुना स्वागतका लागि उनीहरुले तालिम लिएका छन् । बागलुङमा बागलुङ कालिका, पञ्चकोट, शालिग्राम संग्राहलय, गाजाको दह, ढोरपाटन शिकार आरक्ष, घुम्टेको लेक, गाईघाटको झरना, हाँडिकोटको धुरी, जैमिनीधाम, गल्कोट दरबार र बलेवा भैरवस्थान लगायतका क्षेत्र प्रचुर सम्भावना भएका क्षेत्र हुन् ।




