आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कुखुरा पालेर वर्षमा १५ लाख कमाउन सफल गलकोटका ललीत !

कुखुरा पालेर वर्षमा १५ लाख कमाउन सफल गलकोटका ललीत !

दशक अघि जापान गएर फर्केपछि श्रीषले ५ बर्षदेखि व्यवसायिक उत्पादन थालेका थिए ।


  • ढोरपाटन संबाददाता
  • पुष २७ २०७६, आइतबार

बागलुङ, २७ पुस – कुखुरा पालेर बागलुङको गलकोटका किसानले बार्षिक १५ लाख बढी कमाउन सफल भएका छन् । गलकोट नगरपालिका ५ हरिचौरका ललीत श्रीषले ४ हजार कुखुरा पालेर अण्डा उत्पादन गर्छन् । अण्डा दैनिक बजार पठाउँदा उनले त्यतिको कमाइ गर्न सकेको बताए । दशक अघि जापान गएर फर्केपछि गाउँमै कुखुरा पाल्ने योजना बनाएका श्रीषले ५ बर्षदेखि व्यवसायिक उत्पादन थालेका थिए । जापानबाट फर्केपछि केही समय सामाजिक काममा बिताएका श्रीषले छोरालाई पनि कुखुरा पालनमै लगाउने गरी लगानी समेत गरेका छन् । स्थानीय जनएकता कृषि सहकारी संस्थाबाट ऋण लिएर उनले लेयर्स कुखुरा पाल्दा बर्षको ३० लाख रुपैयाँसम्म कमाउन सकेको र १५ लाख फाइदा भएको बताए । श्रीष पोल्ट्री एण्ड कृषि फर्मबाट कुखुरा पालेपनि तरकारी र सुन्तला उत्पादन समेत गर्दै आएका छन् । श्रीषकी श्रीमती ऋषिमाया सहित ३ जना र थप ३ जना अन्य युवाले यहाँ रोजगारी पाएका छन् । छोरा गौैरबले बाबुलाई परंपरागत खोर सुधार गर्न लगाएका छन् । खोर सुधार भएमा गाउँमै काम गर्ने छोराको बचन पाएपछि श्रीषले लगानी थप्ने योजनामा छन् । बिद्युतबाट चल्ने ‘केज प्रविधि’ भित्राउँदा उनको यो फर्ममा झण्डै ७ हजार कुखुरा पाल्न सकिन्छ ।

केज प्रविधिले अण्डाको गुणस्तर बढ्ने, सरसफाई राम्रो हुने र रोगबाट कुखुरालाई बचाउन सकिन्छ । पूर्ण केज प्रविधि भने ग्रामीण बस्तीमा संभव छैन । त्यसैले उनले ‘सेमी अटोमेटिक’ प्रविधिमा कुखुरा पाल्ने तयारी गर्दैछन् । दरमखोलामा व्यक्तिगत तुइन राखेर उनले दैनिक दाना र अण्डा ओसारपसार समेत गराउँछन् । २७ रोपनी जमिनमा उनले फर्म संचालन गरेका छन् । ९ रोपनीमा खोर बनाएका उनले बाँकी जमिनमा तरकारी खेतीका लागि हाइटेक प्रविधि राख्ने तयारीमा छन् । हाइटेकमा ताजा तरकारी फलाउने उनको योजना छ । त्यसका लागि कृषि ज्ञान केन्द्रले उनको फर्म सूचिकृत गरेको छ । सूचिकृत फर्मलाई २ लाख ४६ हजार रुपैयाँ अनुदान दिने भएको बरिष्ठ कृषि बिकास अधिकृत बासुदेव रेग्मीले बताए । उक्त रकमलाई ७० प्रतिशत मानेर कम्तिमा किसानले ३० प्रतिशत लगानी थप्नुपर्छ । अहिलेसम्म उनले १ करोड बढी लगानी गरिसकेको बताए । उनको फर्ममा ४ हजार लेयर्स कुखुरा छन् । दैनिक ३ हजार ६ सयसम्म अण्डा उत्पादन हुन्छ । ती अण्डा गलकोट, गुल्मीका केही स्थान र बागलुङ बजारमा सहज बिक्री भएका छन् ।

प्रति क्यारेट बजारमा ३ सय ५० रुपैयाँमा बिक्री हुने अण्डा उनले फर्मबाट २ सय ५० देखि समय अनुसार ३ सय सम्ममा बेच्छन् । अण्डाको रेट घट्ने र दानाको मुल्य बढ्ने चलखेलले किसानहरु बेलाबेला घाटामा पुग्ने गरेको श्रीषले बताए । दानाको समस्याले उनले फर्ममै दाना उत्पादन पनि थालेका छन् । ‘दुइ सातासम्म नाकाबन्दी भएपनि मेरा कुखुरा बचाउन सक्छु’ उनले भने, ‘गहुँ, मकै र अन्य अन्नबाट दाना बनाएर खुवाएको छु ।’ गाउँको उत्पादनले सधै पु¥याउन भने नसक्ने उनले बताए । फर्म भित्रै उनले माछा पालन पनि गरेका छन् । ‘अहिले सकिएर नयाँ भुरा राख्दैछु’ उनले भने, ‘५ हजार भुरा त कुखुराको दानाबाटै पालिन्छन् ।’ उनले अण्डा भण्डारनको विधि पनि सिकेका छन् । ‘उपयुक्त स्थान भएमा डेढ महिना सम्म अण्डा बिग्रदैन,नत्र साता दिनमै कुहिन्छ’ उनले भने, ‘तराईबाट आएका अण्डालाई बिस्थापित गर्न अझै दर्जनबढी फर्म खुल्नुपर्ने आबस्यकता छ ।’ अण्डामा आत्म निर्भर बन्न सकेमा कृषिबाटै जिल्लामा करोडौं भित्रन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->