‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझै संघीय संसदको सभामुख कृष्णबहादुर महरा यौन प्रकरणमा फसेपछि यतिबेला सभामुख पद रिक्त छ । अहिलेसम्म पार्टीहरूले संसदको सभामुख चयन गर्न भन्दापनि कसलाई सभामुख बनाउने भन्ने खेतीमा लागेपछि सभामुखको टुंगो लाग्न नसकेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बल्लतल्ल सभामुख प्रकरणबाट पछि हटेपछि फेरि बल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटमा पुगेको छ । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने अडानबाट पछि हटेपछि गाँठो फुक्न सकेको छैन । प्रधानमन्त्री ओलीले शिवमाया तुम्बाहाम्फेको विकल्पमा जान सकिनेबारे समेत अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि अहिलेसम्म अड्केको हलो फुकेको छ । उनले ओलीलाई प्रधानमन्त्री या सभामुख एक रोज्न भनेका थिए । विश्वस्त स्रोतका अनुसार एकता प्रक्रियामै रहेकाले आफू पक्षधरले नै सभामुख पाउनुपर्ने अडानबाट प्रचण्ड टसमस भएका छैनन् । यसले ठूलो संकट आउने देखेपछि नेकपाभित्र ओलीमाथि दबाब बढ्यो । जसका कारण उनी लचिलो भए ।
सभामुख कसलाई बनाउने भन्नेबारे प्रचण्डकै हातमा निर्णयाधिकार पुगेको छ । नेकपाका अध्यक्ष प्रचण्डले जसको नाम प्रस्ताव गर्छन् उनै सभामुख बन्ने निश्चित भएको छ । प्रचण्डले सभामुखमा अग्नि सापकोटाको नाम प्राथमिकतामा राखेको देखिन्छ । अब उनको नाम ओलीसमक्ष राखेर निर्णयमा पुग्ने देखिएपनि सभामुख चयन गर्न भने अहिले उपसभामुख रहेकी शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । अहिलेसम्म शिवमायाको अडान कायमै रहेको मात्र हैन आफु नै सभामुख बन्नुपर्ने दाबी छ । एमसिसि प्रकरण संसदबाट पास नगरेको भनी तत्कालीन सभामुख कृष्णबहादुर महरा रोशनी प्रकरणमा फसेको आरोपमा राजीनामा गर्न लगाएपछि शुरू भएको खेल अहिलेसम्म टुंगो लागेको छैन ।
विप्लवका नेता कार्यकर्ता नेकपामा प्रवेश
यतिबेला दिनहुँजसो खबर सुन्ने गरिन्छ नेपाल कम्युनिष्ट पार्टी नेत्रबिक्रम चन्दका नेता तथा कार्यकर्ता धमाधम सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरिरहेका छन् । यतिबेला प्रहरी प्रशासनको प्रमुख काम भनेको चन्द नेकपाका नेताहरूलाई पक्राउ गरी प्रशासन कार्यालयमा गुपचुप पत्रकार सम्मेलन गरेर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गराउने अभियान नै चलेको छ । अहिले देशमा एउटा शक्तिशाली पार्टीको सरकार भएको बेला नेत्र विक्रम चन्दको नेकपा भने प्रतिबन्धित छ । सरकारले चन्दको पार्टीले गरेका गतिविधिलाई मध्यनजर गरेर प्रतिबन्ध लगाएपछि पार्टी तहसनहस हुँदै जान थालेको छ । सरकारले चन्द नेतृत्व पार्टीका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गर्ने अनि अनेकथरि मुद्दा लगाउने, अदालतले छाड्यो भने फेरि अर्को मुद्दा लगाएर अर्को जिल्लामा लैजाने काम पनि निरन्तर रूपमा चलाईरहेको छ । अहिले धमाधम आत्मसमर्पण गराउने मात्रै हैन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गराउने काम भइरहेको छ जुन काम हिजोको दिनमा नेकपा एमाले र नेपाली कांग्रेसले गर्दै आएको कामको निरन्तरता हो । नेकपाको केन्द्र, प्रदेशहुँदै जिल्ला तहका नेतालाई सोही अनुसार पार्टी तहमा जिम्मेवारी दिएर चन्द नेतृत्वलाई तहसनहस बनाउने अभियान प्रचण्ड ओली नेतृत्वले गरिरहेको छ । हिजोको दिनमा एउटै पार्टीमा बसेर काम गरेका नेताहरू आज एक अर्काको दुश्मन बनिरहेका छन् । राजनीति पनि अचम्मको छ । एकथरीले भन्दैछ यहाँ ठूलो परिवर्तन भयो अब यहीँ रमाएर खाने हो र अर्कोथरिले क्रान्तीको नाममा यहाँ धोका र षड्यन्त्र भयो भन्ने तर्क पेश गरिरहेका छन् । प्रहरी प्रशासनले दुई दिन बिराएर पत्रकार सम्मेलन गर्दै ठूलै छलाङ मारे जस्तो गरि काम गरेर गृह मन्त्रालयलाई रिपोर्ट पेश गरिरहेको छ । यतिबेला नेत्र विक्रम चन्द भने चुपचाप देखिन्छन् । खासै कुनै गतिविधि नदेखिए पनि छिटफुट रुपमा केही जिल्लामा बम बिस्फोट गराउने काम गरेर पार्टी भएको महसुस गराइरहेको छ । राजनीतिक पार्टीसंग राजनीति रूपमै समस्याको समाधान खोज्ने काम सरकार र विप्लव नेतृत्वको पार्टीबाट हुनुपर्छ ।
राष्ट्रिय सभाका अध्यक्षको लबिङ
छिमेकी मुलुक चीन र भारत जोड्ने गौरवशाली योजना कालीगण्डकी कोरिडोरको कामले यतिबेला तिव्रता पाइरहेको छ । बागलुङ जिल्लाको सदरमुकामदेखि गुल्मीहुँदै अहिले यो सडकको ट्रायक खोल्ने काम सम्पन्न भएको मात्रै छैन सडकमा यातायात समेत संचालन भइसकेको छ । बागलुङ मालढुंगादेखि मुस्ताङसम्म जोड्ने सडक बागलुङ जिल्ला भएरै लैजाने भनेर बागलुङ जिल्लाका नेता तथा सांसदहरू लागिपरेका छन् । अहिलेसम्म यो सडक कुन बाटो भएर लैजाने भन्ने निश्चित भएको छैन । पर्वत जिल्लाका सांसदले यो सडक पर्वत भएर लैजानु पर्ने भन्दै लबिङ गरिरहेका छन् । कालीगण्डकी कोरिडोरमाथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको आँखा परेको छ । बागलुङ महोत्सव २०७६ को उद्घाटन गर्न आएका अध्यक्ष तिमिल्सिनाले बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वसंग बसेर कालीगण्डकी कोरिडोरको सडक पर्वत जिल्ला भएर लैजानुपर्छ, बागलुङबाट नयाँ बाटो खनेर फाइदा छैन भन्ने लबिङ गरेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्षले एक कार्यक्रममा सार्वजनिक गरे ।
एकजना राष्ट्रिय सभाका सम्मानित अध्यक्ष तिमिल्सिनाले रातारात एकजना सांसदले जस्तै लबिङ गरेर हिड्नु कतिसम्म सुहाउँदो काम हो । साँच्चै यतिबेला राष्ट्रिय गौरबको योजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ, त्यसमा कुनै शंका छैन तर राष्ट्रिय सभाका अध्यक्ष किन यसरी लाग्नुभएको छ बागलुङ जिल्लाबासीले बुझ्न सकेका छैनन् । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष लगायतको टिमलाई यो सडक बागलुङ भएर लैजान पहल नगर्न अनुरोध गर्दै बरू आफुले बागलुङबाट म्याग्दी जाने सडक बिस्तारको लागि बजेट पार्न पहल गरिदिने भनेर खोक्रो आश्वासन बाँड्न समेत भ्याएका छन् । कोरिडोरको काम नेपाली सेनाले सम्पन्न गरि सडक बिभागलाई बागलुङ खण्डको हस्तान्तरण गरिसकेको छ ।




