बागलुङ, ४ माघ – ‘स्थानीय सरकारले दिएको दश गेडा सिमिले कसरी कृषि उन्नतीको कल्पना गरौं’ बागलुङ नगरपालिका ४ कुँडुलेकी बिजुला शर्माले प्रश्न गर्दै भनिन् ‘तरकारी उत्पादनका लागि भनेर अनुदानमा आउने बीउले घरखर्च चल्ने तरकारी समेत फल्दैन ।’
गत आर्थिक बर्ष कृषि क्षेत्रको लागि एक लाख रुपैयाँ बिनियोजन गरेको बागलुङ नगरपालिका ४ ले किसानहरुकालागि तरकारीको बीउ वितरण गरेको थियो । वडा कार्यालयले वितरण गरेको बीउमा किसानहरुको भने असन्तुष्टि रहयो । ‘हामीले अर्को बर्षकोलागि बीउ समेत फलाउन पाएनौ’ किसान बिजुला भन्छिन् ‘एक पोका रायोले कसरी व्यवसायीक उत्पादन गर्नु ?’ किसानले उत्पादन गरेकै उपजको आधारमा देशको बजेट निर्धाण भएपनि दिनरात माटो सँग लड्ने किसानको मूल्यांकन नहुने उनको भनाई थियो । ‘कालोमाटोमा दिनरात लडेर छाक टारेकाहरुको अवस्था कसैले देख्दैन’ शर्माले भनिन् ‘प्याकेजमा कार्यक्रम बनुन, वास्तविक किसान र नक्कली किसान छुट्टाइयोस् । ’ वास्तविक किसानले बीउ पाएमात्रै आर्थिक उन्नती सँग जोडिन सक्ने उनको धारणा थियो ।
सत्तासिन नेकपा बागलुङ नगर कमिटिले चलाएको जनतासँग जनप्रतिनिधि कार्यक्रम अन्र्तगत शनिवार बानपा ४ कुँडुलेमा आयोजित कार्यक्रममा बोल्दै बिजुलाले उक्त धारणा राखेकी हुन् । उनले तल्लो तह देखि माथिल्लो तह सम्मका सरकारले किसानको वास्तविक अवस्था, समुह वा व्यवसायिक उत्पादनमा लागेका किसानलाई प्राथमिकतामा राखेर योजना तथा नीति निर्माण र बिउँ बिजनको बितरणमा लाग्नु पर्नेमा जोड दिईन् । सोही कार्यक्रममा किसान टिकाराम शर्माले तरकारी तथा नगदे बालीमा आउने घातक रोगहरु किसानका मुख्य शत्रु रहेको बताए । ‘तोरीमा आएको झार मार्ने भनेर प्राबिधिकले दिएको बिषादीले तोरीनै सकियो’ उनले भने ‘तोरी जोगाएर झार मार्ने औषधि दिने प्राबिधिक चाहियो ।’ उपयुक्त सल्लाह र औषधिको अभावमा किसान मर्कामा परेको उनको भनाई थियो । कार्यक्रममा स्थानीय गुणनिधि शर्माले गाउँ विकासकालागि बिनियोजन भएको बजेट उपभोक्तालाई समयमा जानकारी हुनुपर्नेमा जोड दिए । ‘योजना आएका हुन्छन तर समयमा जानकारी हुँदैन’ उनले भने ‘अन्तिम समयमा जानकारी हुने योजनाको सम्झौता गर्नु की काममा लाग्नु ?’ नगरपालिकाले आँफुलाई सहयोग गर्ने उपभोक्ता र असहयोगको वातावरण बनाउनेको बिचमा फरक छुट्टाउन सक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा किसानले उठाएका मुद्दा जायज भएको वडा अध्यक्ष धु्रबबहादुर केसीले बताए । ‘बैदेशिक रोजगारीबाट फर्केका किसानी पेशामा थपिएका छन्, अब उनीहरुलाई लगानी गरेमा बास्तविक फाइदा हुनेछ ।’ कार्यक्रममा जनताका प्रश्नको जवाफ दिँदै प्रतिनिधिसभाका सांसद डा. सुर्य पाठकले आँफुहरुले कुनै टोल वा समुदायको बिकास भन्दा माथी उठेर समग्र नेपली समाजको बिकासकालागि कानून निर्माणमा भूमिका खेलेको बताए । उनले जिल्लाको क्षेत्र नं १ मा भैरहेको प्रगतिमा केन्द्र सरकार मार्फत बजेट ल्याउन पहल गरेको बताए । प्रदेशसभा सदस्य तथा नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले बागलुङ नगरको बिकासमा निरन्तर सहकार्य गरेको बताए । संक्रमण अवस्थामा पनि बिकासका पूर्वाधारहरु निर्माण भैरहेको र कामले गति पाउनु सकरात्मक भएको उनले बताए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरका सबै वडामा उत्पादन र जनशक्तिको प्रयाग सँग जोडिएर काम गरेको बताए । उत्पादन र रोजगारी सिर्जनामा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । कार्यक्रममा वडा नं ४ का अध्यक्ष केसीले वडाको बिकासका फेहरिस्त सुनाएका थिए । वडा कमिटी सेक्रेटरी मनोज थापाको अध्यक्षता, नगर अध्यक्ष धनबहादुर परियारको स्वागत तथा जानकारीमा सम्पन्न कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव इन्द्र केसीले गरेका थिए ।





