कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ । यसअवस्थामा रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग लागेपछि सावधानी अपनाइएन् भने ज्यानै जानसक्ने सम्मको खतरा हुनसक्छ् । खाना पचाउन सहयोग गर्ने कलेजोमा अस्वस्थ्यकर खानपान र अत्याधिक मद्यपानकका कारणले जण्डिस हुन सक्ने डाक्टर बताउँछन् । विषेश गरी सरुवा रोग हेपाटाइटिस वा पित्तथैलीबाट पित्त उम्लिएर कलेजोमा खस्नाले यो रोग लाग्ने गर्दछ । जसका कारण कलेजो सुन्निनुका साथै शरीरको सम्पूर्ण भाग पहेँलो हुने गर्छ ।
कलेजो समबन्धी रोगमा जण्डिस लक्षणको रुपमा देखिन्छ । प्यान्क्रियाज ग्रन्थीको क्यान्सरमा, कलेजोको रोग बाहेक केही रगतकोरोगमा, पित्तको नलीमा पत्थरी भएमा, पित्त–नलीको क्यान्सर भएमा, पनि जण्डिस हुन सक्छ । यदि पहिलेदेखि कुनै रोगको औषधि खाइरहेको छ भने वा खासगरी कुनै प्रकारको दुखाईको या टि.बि. रोगको औषधि खाने बिरामीमापनि जण्डिस हुन सक्ने सम्भावना रहन्छ । युनिर्भससिटी अफ म्यारील्यान्डका अनुसार जण्डिस लामो समयसम्म रह्यो भने हेपाटाइटिस बी को खतरा हुने हुदाँ सामान्य लक्षणदेखिनासाथ जाँच गराउनु जरुरी रहन्छ ।
जण्डिसका केही लक्षणः
– पेट दुख्ने
– वाकवाकी लाग्ने
– खाना नरुच्ने
– शरीरको तौल घट्ने
– पहेँलो दिसा आउने
– पिसाब गाढा पहेँलो रङको आउने
– शरीरको धेरै भाग पहेँलो देखिने
– जरो आउने
जण्डिसको उपचार आयुर्वेदमार्फत घरेलु तरिकाबाट पनि गर्न सकिन्छ ।
– उखुको रसमा कागती निचोरेर दिनमा तीन चार पटक ५०० मिलिलिटरको दरमा खाने
– पेट सफा राख्ने
– उपरोक्त वस्तु बाहेक ७ दिनसम्म अरु खानेकुरा नखाने, ७ दिनसम्म पनि शरीरमा कुनै किसिमको फरक नआएमा विशेषज्ञलाई देखाउने ।
– जण्डिस भएका बिरामीले गाँजर, मुला, काँक्रो, उसिनेको खाना, नुन कम हालेको र बेसार नहालेको खानेकुरा मा विषेश जोड दिनुपर्छ ।
जन्डिसका सात भ्रम, के हो त वास्तबिकता
जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन् । तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन् । कहाँ उपचार गर्ने, के खाने, के नखाने, अरूलाई सर्नेजस्ता यति धेरै प्रसंग आइसकेका हुन्छन् कि उनीहरू निर्णय लिन नसकेर तनावमा पर्छन् । खासमा यस्तो हुनुको मुख्य कारण भनेको जन्डिस के हो र कसरी हुन्छ भन्ने कुरा नबुझेर नै हो । घरमा कसैलाई जन्डिस हुनुपर्छ, वरिपरि नै सयौँ विज्ञ देखा पर्छन् । १०० जनाको हजार थरीका कुरा सुनेपछि कुनै पनि मानिसको निर्णय लिने क्षमता डगमगाउनु स्वाभाविकनै हो।त्यसैले यहाँ जन्डिससम्बन्धी त्यस्ता केही भ्रमको बिषय मा चर्चा गरी बढाने कोसिस् गरेको छु ः
भ्रम १ ः जन्डिस भनेको खतरनाक रोग हो त ?
जन्डिस भनेको कुनै रोग होइन । यो रोगको लक्षण मात्र हो । जब रगतमा बिलिरुबिनको मात्रा बढेर आँखा र शरीर पहेँलो हुन्छ, त्यसलाई जन्डिस भनिन्छ । त्यसैले कसैको जन्डिसले मृत्यु भयो भन्नु ठीक हुँदैन । किनभने, जन्डिसले होइन, जन्डिस गराउने रोगले मृत्यु हुने हो । टाउको दुख्नु, ज्वरो आउनु, खुट्टा सुन्निनु जस्तै जन्डिस पनि धेरै रोगको लक्षण मात्र हो । हामीकहाँ देशमा जन्डिस भनेको रोग हो र यसका लक्षण वाकवाक लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने हो भन्ने भ्रम धेरैमा छ । र, यो भ्रमले गर्दा अधिकांश मानिस समयमा उपचार गर्ननजाने र गए पनि ढिला जाने गरेको पाइएको छ । त्यसैले यो कुरा बुझ्न जरुरी छ कि जन्डिस भनेको लक्षण हो र यसले केवल कुनै रोगको संकेत गर्छ ।
भ्रम २ ः जन्डिसको उपचार एलोप्याथीमा छैन ?
जन्डिसको उपचार आधुनिक चिकित्सा विज्ञान (एलोप्याथी)मा छैन भन्ने भ्रम फैलाएर, आफैँ यसको उपचार गरेर जीविकोपार्जन गर्नेकोसंख्या हाम्रो देशमा प्रशस्तै छ । ज्वरो आउँदा, टाउको दुख्दा, झाडावान्ता लाग्दा हामी डाक्टरलाई विश्वास गर्छौं । तर, त्यो विश्वास त्यसबेला डग–मगाउँछ, जब कसैलाई जन्डिस हुन्छ । एलोप्याथीमा जन्डिसको उपचार हुँदैन भन्ने भ्रमले यसरी जक्डेको छ कि पढे–लेखेकाहरू पनि यसैमा विश्वास गर्छन् । एकातिरबाट सोच्ने हो भने यो कुरा ठीक पनि हो । वास्तवमा जन्डिसको उपचार नै हुँदैन, नएलोप्याथीमा, न त आयुर्वेदमा, न होमियोप्याथीमा । उपचार त जन्डिस गराउने रोगको गर्ने हो । तर, एलोप्याथीमा त्यसरी जन्डिस गराउने रोगहरूको उपचार पक्कै हुन्छ । जस्तैः पित्तनलीमा ढुंगा छ भने त्यसले गर्दा जन्डिस हुन्छ । यस अवस्थामा आर्युवेदिक औषधिले निको हुँदैन, बरू रोग गम्भीर हुन्छ । पित्तनलीबाट ढुंगा झिकेर मात्र यो रोग अनि जन्डिस निको हुन्छ ।
भ्रम ३ ः जन्डिसमा खाना बार्नुपर्छ त ?
कसैको घरमा एक जनालाई जन्डिस हुनुपर्छ, त्यो घरको भान्छाबाट बेसार हट्छ, नुन, तेल, घ्यू खपत एकदम कम हुन्छ । माछा, मासु, अन्डाको प्रयोग केही महिनासम्मै हुँदैन । अरू फलफूल होइन, उखु र मेवा मात्र घरमा भित्रिन्छ । हाम्रो समाजमा जन्डिस हुनेबित्तिकै खानाबार्ने र प्रायः उसिनेर मात्र खाना खाने गलत चलन व्याप्त छ । कसैलाई क्यान्सरका कारण पनि जन्डिस हुन सक्छ । यो भन्नु पर्दैन कि क्यान्सरको बिरामीले खाना बार्दा रोग झन् जटिल बन्न पुग्छ । क्यान्सर मात्र होइन, खाना बार्दा जन्डिस गराउने अरू रोग पनि पौष्टिक तत्वको कमीले गर्दा जटिल भइ दिनसक्छ ।
जन्डिसमा बेसारको महिमा पनि अपरम्पार छ । यो खाए त जन्डिस कहिल्यै निको हुँदैन भन्ने आम जनसमुदाएको प्रस्ट धारणा छ । बेसारखाएर जन्डिस हुने र बढ्ने भए साग खाँदा आँखा हरियो हुनुपर्ने थियो होइन र ? अझ संधैभरी हरियो घाँस खाने भैँसी कालो नभएर हरियो हुन्थ्यो होला । त्यसैले जन्डिस भए पनि आफूले साबिक बमोजिम खाइरहेको खाना खानु जरुरी छ ।
भ्रम ४ ः जन्डिस दोहोरिए हेपाटाइटिस हुन्छ ?
यसमा कुनै सत्य छैन । जन्डिस भनेको लक्षण हो भने हेपाटाइटिस भनेको रोग हो । कसैलाई हेपाटाइटिस हुँदा जन्डिस हुन सक्छ तर जन्डिस भएर हेपाटाइटिस हुने होइन । जसरी एक जनालाई विभिन्न रोग लागेर धेरैपटक ज्वरो आउन सक्छ, त्यस्तै गरी विभिन्न रोग लागेर पटक–पटक जन्डिस हुन पनि सक्छ । तर, यो पनि सत्य हो कि हाम्रो देशमा जन्डिसको प्रमुख कारण हेपाटाइटिस हो ।
भ्रम ५ ः जन्डिस भनेको कलेजोको रोग हो त ?
हाम्रो समाजमा जन्डिस भनेको नै कलेजोको रोग हो र यसबाट कलेजो बिग्रन्छ वा बिग्रेको हुन्छ भन्ने छ । यो ठीक हो कि कलेजोका विभिन्न रोगमा जन्डिस देखा पर्छ तर यो होइन कि कलेजोको रोगमा मात्र जन्डिस हुन्छ । रगतमा संक्रमण फैलिएर हुने रोग सेप्टि सेमिया, मलेरिया प्यान्क्रियाजको क्यान्सर आदि रोगमा पनि जन्डिस हुन्छ । यी रोगमा जन्डिस देखिए पनि कलेजोमा केही पनि समस्या हुँदैन । मुटुको कुनै–कुनै रोगमा बिलि रुबिनको मात्रा बढेर ४० पनि पुग्न सक्छ, जन्डिस देखिन सक्छ ।
भ्रम ६ ः जन्डिसमा प्रशस्त पानी पिउनुपर्छ त ?
जन्डिस भएपछि ५–१० लिटरसम्म पानी पिउने बिरामीहरू पनि भेटिन्छन् । धेरैको यो विश्वास छ कि धेरै पानी पिउनाले जन्डिस पखालिन्छर चाँडै निको हुन्छ । तर, यो बिलकुल गलत हो । बिरामीले आफूले पिउने साबिक कै अनुसार पानी र झोल खानेकुरा पिउनु नै उत्तम हुन्छ । लिभर सिरोसिस भएर देखा परेको जन्डिसमा पानी धेरै पिउनाले खुट्टा सुन्निने, पेटमा पानी जम्मा हुनसक्ने हुन्छ । यस्तो अवस्थामा पानी धेरै पिउनाले फाइदा भन्दा बेफाइदा बढी हुन्छ । कम पानी पिउने बानी भएकालाई भने चाहिने जति पिउने सल्लाहचाहिँ उत्तम हो ।
भ्रम ७ ः जन्डिसमा उखुको रस र मेवा खानुपर्छ ?
हाम्रो देशमा गाजर, मेवा, काँक्रो र उखुको रस जन्डिस भएका बिरामीको राष्ट्रिय खानेकुरा हो भन्ने जस्तै छ । धेरैले खोजी–खोजी यिनैकुरा खान्छन् । यस्ता खानेकुरा खाएर केही नबिग्रेला तर जन्डिस चाँडो निको हुने कुरा शत प्रतिशत गलत हो । पित्त नलीमा ढुंगा बनेर जन्डिस भएमा ५० लिटर उखुको रस र ५० किलो मेवा खाए पनि निको हुँदैन । बरू, जुन तरिकाबाट उखु पेलेर रस निकालिन्छ, त्यस्तो पिउनाले झाडापखाला लागेर राम्रो भन्दा नराम्रो हुने सम्भावना बढी हुन्छ । काँक्रो, मुला, गाजर मात्र खाएर जन्डिस निको पार्छु भन्दा शरीरको रोगसँग लड्ने क्षमता कम भएर रोग झन् बल्झिन सक्छ ।
भ्रम ८ ः जन्डिसमा यौन सम्पर्क गर्नु हुँदैन ?
धेरैलाई जन्डिस एक सरुवा रोग हो भन्ने भ्रम छ । पहिलो त यो रोग नै होइन, त्यसमाथि सरुवा रोग त झन् हुँदै होइन । जसरी एउटालाई टाउको दुखेको अर्कोलाई सर्दैन, त्यस्तै जन्डिस पनि सर्दैन । जन्डिस र यौन सम्र्पकको कुनै सम्बन्ध छैन । इच्छा, चाहना र शरीरमा शक्ति भएमा कुनै छेकबार छैन । यदि जन्डिसका कारण हेपाटाइटिस बी अथवा सी हो भने यी दुवै रोग शारीरिक सम्पर्कबाट सर्न सक्ने भएकाले पुरुषले कन्डम प्रयोग गर्दा सर्ने सम्भावनालाई रोक्न सकिन्छ ।
आशा छ, भ्रम निवारणको यो प्रयासले हामीमा सबैमा रहेको जन्डिससम्बन्धीको भ्रम चिर्न मद्दत पुर्याउने छ । राम्रोसँग तथ्य नबुझी सुनेकै भरमा अनेक भ्रम पाल्नाले रोग बिग्रने र उपचारमा ढिलाइ हुन सक्छ । परम्परागत उपचार र सोचका पछाडि लाग्दा रोग बिग्रने, बिरामीले दुःख पाउने वा मृत्युसम्म हुनसक्ने अवस्था आउन सक्छ ।




