आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ठूला आयोजना र उत्पादनमुलक उद्योग संचालनमा जानुपर्नेमा जोड

ठूला आयोजना र उत्पादनमुलक उद्योग संचालनमा जानुपर्नेमा जोड


  • ढोरपाटन संबाददाता
  • माघ ११ २०७६, शनिबार

बागलुङ, ११ माघ – जिल्लाको सबैभन्दा पुरानो सहकारी संस्था सहितका चारवटा सहकारीको एकीकरण भएको छ । सहकारी संस्थामा शेयर सदस्य, संचालक र उद्धेश्यमा भएको दोहोरोपन हटाउने भन्दै पुरानो कालीका सहकारी संस्थामा हाम्रो धौलागिरी बचत तथा ऋण सहकारी संस्था, जनता संचार सहकारी संस्था र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्थाको एकीकरण भएको हो । साता अघि एकीकरण भएपछि शनिवार औपचारिक साधारणसभा मार्फत एकीकरण सम्पन्न भएको हो । एकीकरणबाट हिमाल प्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा राजेशचन्द्र राजभण्डारी, सचिवमा भूपाल चालिसे, सहसचिवमा जिवननाथ शर्मा र कोषाध्यक्षमा रेशमलाल सापकोटा चयन भएका हुन् । समितिको सदस्यमा हरिनारायण गौतम, शालिकराम शर्मा, यमुना शर्मा, श्यामप्रसाद शर्मा, सुदिप कंडेल र धनबहादुर कार्की रहेका छन् । यस अघिका अध्यक्ष कृष्णराज शर्मा संरक्षकको रुपमा रहेका छन् । २०३२ सालमा कालीका कृषि सहकारी खुलेको थियो । उक्त सहकारी जिल्लाको सहकारी ईतिहासको धरोहर भएको भन्दै उसैको नाउँमा एकीकरणको सहमति जुटाइएको संचालकहरुले बताए ।
सहकारी ऐन अनुसार सहकारीमा कम्तिमा ५ सय जना शेयर सदस्य हुनुपर्ने लगायतका नयाँ प्रावधान आएपछि मर्ज गरिएको एकीकरणका अध्यक्ष हिमालप्रसाद शर्माले बताए । एकीकरणपछि सहकारी संस्थाले २ करोड २५ लाख १८ हजार रुपैयाँको बार्षिक आयव्याय समेत सार्वजनिक गरेको छ । मर्जपछि सहकारीको शर्त अनुसार आर्थिक समृद्धिको आधार बनाउन पहल थालिने समेत शर्माले जानकारी दिए ।

एकीकरणसभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय अध्यक्ष परितोस पौडेलले अबको संसार आधुनिकतामा धकेलिएकोले सहकारीहरुपनि आधुनिकतामा जानुपर्ने बताए । त्यसका लागि आधुनिक युगको आवस्यकता अनुसारका उत्पादन दिन सक्नुपर्ने उनको धारणा थियो । पौडेलले निस्कृय रहेको पूजिलाई सक्रिय बनाएर रोजगारी बढाउन सुझाव पनि दिए । रोजगारीका लागि सहकारीको लगानी थपेर औद्योगिक प्रतिष्ठान खुल्नुपर्ने समेत उनले बताए ।

कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले सहकारीसंस्था देश बिकासको साझेदार भएको भन्दै राज्यले पनि सहकारीको लगानीका क्षेत्रलाई अझै फराकिलो बनाउनुपर्ने बताए । गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले अब सहकारी मात्र नभई पूजिको एकीकरण गर्दै ठूला आयोजना निर्माण, उत्पादनमुलक उद्योग संचालनमा जानुपर्ने बताए । एकीकरणपछि सहकारीको नाउँ कालीका सहकारी संस्था रहेको छ । कालीका सहकारी संस्थाका अध्यक्ष हिमालप्रसाद शर्माको अध्यक्षता, सचिव भूपाल चालिसेको संचालन र उपाध्यक्ष राजेशचन्द्र राजभण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा धौलागिरी बहुमुखी क्यामपसका प्रमुख रामप्रसाद शर्मा, सहकारी संघका अध्यक्ष दिपक गौतम, संरक्षक कृष्णराज शर्मा, सदस्य हरिनारायण गौतम, बालकृष्ण शर्मा, शंकर खड्का र नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । कार्यक्रममा कोषाध्यक्ष रेशमलाल सापकोटाको आर्थिक प्रतिवेदन र सचिव भूपाल चालिसेको प्रगती प्रतिवेदन पारित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->