बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिचौलीया, भागबण्डा र पर्यटन वर्ष

बिचौलीया, भागबण्डा र पर्यटन वर्ष


  • राजेशचन्द्र राजभण्डारी
  • माघ १३ २०७६, सोमबार

संबिधानमा नेपाललाई समाजवाद उन्मुख देश भनेर लेखिएको छ । केपी ओली सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने गज्जबको नारा अगाडि सारेको छ । तर, बिचौलीया हाबी भएपछि सरकारले ल्याएको सबै कार्यक्रम प्रभावित बन्दै गइरहेको छ । हरेक क्षेत्रमा बिचौलिया हाबी भएपछि हरेक क्षेत्रका मान्छे फेरि एकपटक भुमरीमा फस्न बाध्य बनेका छन् । गाउँघरमा दुःख किसानले गर्छ, मेहेनत किसानले गर्छ, बल्लतल्ल उत्पादन गरेको तरकारी स्वाटै बिचौलीयाले पुरै उठाउँछ । न त किसानले राम्रो भाउ पाउँछ, न त उपभोक्ताले सस्तो मुल्यमा तरकारी किन्न पाउँछन् । मुल्यमा आनको तान फरक हुन्छ । अहिलेसम्म बिचौलीयाको कारणले गाउँमा दुःखकष्ट गर्ने किसान मर्कामा परेको परैछन् भने आम उपभोक्ता महंगीको मारबाट मुक्त हुन सकेका छैनन् । यस्तै कुखुरा पालेर दुःख गर्ने किसानको हालत झन् बिजोग छ, बल्लतल्ल कुखुरा पालेर ठूलो बनाउँछ सस्तो भाउमा बिचौलीयाले उठाउने काम गर्छ, बजारमा महंगो मुल्य तिर्न बाध्य छन् उपभोक्ता । अहिले हरेक क्षेत्रमा बिचौलीया हाबी छन् । स्थानीय, प्रदेश र संघीय सरकार संचालनदेखि हरेक काममा बिचौलिया कै चलखेल चलिरहेको छ । अहिलेका कृषि मन्त्री घनश्याम भुसालले केही महिनाअघि बिचौलियाबारे स्पष्ट धारण राखिसकेका छन्, जुन मर्मस्पर्शी छ । हाम्रो गन्तव्य समाजवादमा जाने भनेर भनिरहेका छौ तर काम गतिविधि भने मात्रै दलालको चंगुलमा परेर सहि गन्तव्यमा जान नदिने जालझेलमा परिरहेका छौ । हामी चुपचाप बस्न बाध्य छौ किनभने अहिले सुविधा सम्पन्न बिचौलिया हाबी भएको टुलुटुलु हेरेर बस्न बाध्य छौ ।
भागबन्डा कै राजनीति
यतिबेला देशमा अस्थिर हैन शक्तिशाली सरकार गठन भएको पनि दुई बर्ष पूरा भइसकेको छ । अहिले पनि मुलुकमा भागबन्डा कै राजनीति चलिरहेको छ । जताततै भागबन्डा, सरकारदेखि सदनसम्म भागबन्डा नै चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि देशले ९÷९ महिनामा सरकार परिवर्तन हुने रोगबाट मुक्त बनेपनि अरू रोग भने निरन्तर रूपमा चलिरहेको छ । रिक्त रहेको प्रतिनिधि सभाको सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि प्रसाद सापकोटा सर्वसम्मत चयन भएपछि यसको एकथरी मानवअधिकारवादीले बिरोध गर्न थालेका छन् । नेपाली कांग्रेसले निष्ठाको राजनीति नगरिकन भागबन्डाको राजनीति गरेको भनेर आलोचना गरिरहेको छ । झट्ट हेर्दा कुरा सहि नै हो भन्ने लाग्छ तर गहिराईमा गएर हेर्ने हो भने यो अभिब्यक्ति पुर्वाग्रहबाट ग्रसित छ भनेर बुझ्न गाह्रो छैन । ४ महिनादेखि सभामुख नहुँदा संसदको काम कार्वाही ठप्प बनेको थियो । नेकपाले एकजना सभामुख ठिक समयमा दिन नसक्दा पनि यहाँ राष्ट्रिय अन्तराष्ट्रिय चलखेल शुरू भएको हो भन्ने कुरा स्पष्ट छ । अहिले फेरि द्वन्द्वकालको मुद्दा अगाडि सारेर हत्या अभियोग लागेका अग्नि सापकोटालाई सभामुख बनाउन नहुने भनेर जुन खालको आवाज मात्रै हैन राजधानीको माइतीघर मण्डलमा आन्दोलन चलिरहेको छ । पटकपटक सांसद र मन्त्री भइसकेका सापकोटा अहिले के कति कारणले अयोग्य भए यसको जवाफ कसले दिने हो ?
नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा छ तर उसको भुमिका भने शुन्य बराबर छ । अहिले सभामुखको निर्वाचनपछि बाँकी रहेको उपसभामुख पदको लागि नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसंग भेटघाट बाख्लो बनाइरहेको देखिन्छ । यतिबेला प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएर एक चरण सत्य निरूपण तथा मेलमिलाप आयोगमा भागबन्डा गरिसकिएको छ । रिक्त रहेको बिश्व बिद्यालयमा भागबन्डा चलिरहेको छ, कांग्रेसले यसलाई अवसरको रूपमा लिएर आफ्नो मान्छेलाई लाभको पदमा पु‍¥याउने काम पनि गरिरहेको छ । अहिलेको युग भनेकै भागबन्डाको युग हो भन्दा फरक पर्दैन । पार्टीमा भागबन्डा, गुटमा भागबन्डा मिलाउन ठिक्क छन् । सरकार प्रमुख र पार्टी प्रमुख अहिले क्षमता योग्यताभन्दा पनि चाकरी चाप्लुसी र नेताको आसेपासे नै प्रमुख बनेको छ । यसरी भागबन्डामा चलेको नियुक्तिका मान्छेले देश र समाजलाई कस्तो परिणाम दिन्छन् यहाँ ब्याख्या गर्न जरुरी छैन ।
पर्यटन बर्ष २०२०
सरकारले सन् २०२० लाई पर्यटन बर्ष घोषणा गरि नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष राखेको छ, जुन निकै सकारात्मक छ । साँच्चै पर्यटनको लागि नेपाल बिश्वमा एक नम्बरको गन्तव्य हो भनेर पनि हामीले भनिरहन आवश्यक छैन । वर्तमान सरकार देशमा पर्यटक भित्राउन कम्मर कसेर लागिरहेको छ । पर्यटन मन्त्री योगेश भट्टराई स्वयम् बिदेशी भुमिमा गएर नेपाल भ्रमणमा आउन पर्यटकलाई चुल्हे निम्तो दिइरहेका छन् । देशको अधिकांश ठाउँ पर्यटक घुम्नको लागि राम्रो गन्तव्य भए पनि पर्यटक आउन, बस्न र खानको लागि भने अझै पनि सुबिधा सम्पन्न बास बस्ने ठाउँ, गन्तव्यमा पुग्ने सडक मार्ग नहुँदा योजना त्यति सफल हुने देखिदैन । जिल्ला जिल्लामा होटल ब्यबसायी, पर्यटन केन्द्र गठन भएका छन् तर यिनीहरूको भुमिका समेत जति सकारात्मक हुनुपर्ने हो त्यो हुन सकेको देखिदैन । अहिले जताततै पर्यटक आउने सडक अस्तब्यस्त छन्, कुन ठाउँमा कतिबेला पुगिन्छ भन्ने ठेगान छैन । यस्तो बेला हामीले हामी कहाँ पर्यटक भित्राउने कुरा गरिरहेका छौ । हो सबैभन्दा पहिला सडक राम्रो बनाउन जरुरी छ, त्यसपछि पर्यटक बस्ने र खाने होटल गुणस्तरीय बनाउन जरुरी छ । हामीले दिने सेवा जबसम्म चुस्त दुरूस्त बनाउन सक्दैनौं तबसम्म हामीले न त स्वदेशी पर्यटकलाई जिल्ला भित्राउन सक्छौ । अहिले भएको कमीकमजोरीलाई सच्याउन जरुरी छ । पर्यटनको लागि बिदेशीले गरेको सकारात्मक काम र कर्तव्य हेरेर त्यहीँ अनुसारको नीति बनाउन सकेको खण्डमा नेपालमा २० लाख पर्यटक हैन ५० लाखभन्दा बढी भित्राउन सक्ने छौ ।
सबैभन्दा ठूलो कुरा सरकारले योजना राम्रो बनाउनु पर्छ, त्यसपछि त्यसलाई कार्वान्यन गर्ने मार्ग राम्रो बनाउनुपर्छ । यस कुरामा सम्बन्धि सरोकारवाला निकायले ध्यान दिन सकेको खण्डमा राम्रो हुने देखिन्छ । देश संघीयतामा गइसकेको छ, गाउँ–गाउँमा सिंहदरबार पुगिसकेको छ । सबै गाउँ पालिकाले यतिबेला आफ्नो ठाउँ पर्यटन केन्द्र बनाउन ब्यस्त देखिन्छन् । यसलाई सबैले सकारात्मक कदमको रूपमा लिएका छन् । संघीय सरकारले नेपालमा १०० पर्यटन गन्तव्य घोषणा गरेर लगानी पनि गरेको छ, यसलाई हामीले अबसरको रूपमा लिनुपर्छ । जिल्लामा बढीभन्दा बढी पर्यटक भित्राउने काममा सबैले सकारात्मक भुमिका खेल्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->