पर्वत,१३ माघ – हामी धेरैले खाजाको रुपमा मःमलाई रोज्ने गरेका छौँ । मःम पनि के बाट बनाइएको हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । सामान्यतया हामीहरुले खाँदै आएको मःम का प्रकारहरुमा चिकन मःम, बफ मःम र भेज मःम रहेका छन् ।
तर उद्योग वाणिज्य संघ पर्वतको आयोजनामा सदरमुकाम कुश्मामा भइरहेको छैटौँ पर्वत महोत्सवमा धेरैले चर्चा गर्ने बिषय केराबाट बनाईने मःम भएको छ । केराको मःम बन्न सक्छ भन्ने थाहा नै नपाएकाहरुले पनि स्वादले भरीपूर्ण केराको मःम खान पाएपछि महोत्सव हेर्नका लागि पुग्ने अधिकांश दर्शकहरुले केराबाट बनाईने मःम सहित अचार, चिप्स र पकौडा खाने गरेका छन् ।
महोत्सवको स्टेज नजिकै १२ नं. स्टलमा ‘कुस्मा केरा मःम घर’ छ । स्टलमा धेरै खानेकुराहरू केराबाट नै तयार पारिएको छ । केराको मःम पाकिरहेको छेवैमा केराको अचार, केरा फ्राई र केराको पकौडा पनि तयार गरिएको छ । पसलमा जानेमध्ये धेरैले स्टल खोजी खोजी केराको मःम र पकौडाको स्वाद चाख्ने गरेका छन् ।। ‘बजारमा चिकेन, भेज र बफ मःमको मात्रै नाम सुनेकी थिएँ, यहाँ आउँदा केराको मःम पाइन्छ भनेर लेखेको देखेँ । अचम्म लागेर स्वाद लिन आएकी ।’ मःमस् खाँदै गरेकी नारायण माध्यमिक विद्यालयकी छात्रा प्रजु सुवेदीले भनिन, ‘स्वाद मिठो लाग्यो, अब पकौडा र अचार पनि चाखेर फर्किने हो ।’
महोत्सवमा जाने अतिथि देखि कलाकारहरुको लागि समेत केराबाट तयार पारिएका परिकारहरु रोजाईँका बिषयका बनेका छन् । ‘मैले जीवनमा कहिले पनि केराका यस्ता खालका परिकार चाखेको थिईन्ँ। तर केराको मःम खाँदा आनन्द आयो स्वाद गज्जब रहेछ ।’ छैठौं पर्वत महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक ठाकुर बी. पौडेल भन्दै थिए, ‘महोत्सवमा केराका परिकारले राम्रै ठाउँ पाएको छ । केराको मःम र पकौडा खानेहरूको लाइन छ ।’
कुस्मा नगरपालिकाका भगवान् पोखरेलले महोत्सवमा केराको मःम पसल सञ्चालन गरेका हुन् । पेशाले इलेक्ट्रीसियन पोखरेलले दुई वर्ष अगाडि चितवनमा लागेको महोत्सवमा केराको मःम चाखेपछि यसको मिठास बुझेका थिए । उनले भने, ‘न त मैले होटेल चलाएको, न त मःम पकाउन जानेको मान्छे, पर्वत जिल्लामा अहिलेसम्म केराको मःम पाकेको थाहा नपाएकाले यहाँका लागि नौलो हुन सक्छ भन्ठानेर नै नयाँ प्रयोग गरेको हुँ ।’
महोत्सवमा आउने धेरैले काँचो केराबाट तयार पारिएका परिकारहरू मन पराएपछि गाउँ गाउँबाट काँचा केरा खरिद गरिरहेको, तर अपुग नै रहेको स्टल सञ्चालक पोखरेलले जानकारी दिए । मानवीय स्वास्थ्यको लागि पनि केरा राम्रो हुने भएकोले पनि केराका परिकारमा धेरैको आकर्षण रहेको उनको भनाई छ । भविष्यमा केराको मःम नै पकाएर राम्रो आम्दानी सहितको जीविकोपार्जन गर्न सकिने लक्ष्य लिएका उनले नयाँ प्रयोग गर्ने हो भने सफल हुन कठिन नहुने र महोत्सव चलिरहेको बेला रातभर ७÷८ जनाले मस्मस्का डल्ला तयार गर्ने गरेको बताए । स्टलमा एकैदिन ६ सय प्लेट भन्दा बढी मःम बिक्री भएको मःम तयार पार्ने दीपेन्द्र सुवेदीको भनाई छ ।
चिकित्सकहरूका अनुसार काँचो केरा खाएमा मानिसको शरीरमा रोगबिरुद्ध लड्ने प्रतिरक्षा शक्ति बलियो बनाउन, भिटामिन बी ६, भिटामिन सीले शरीरलाई फुर्तिलो बनाउन, नियमित सेवनले शरीरको तौल घटाउन सहयोग गर्ने, पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट जोगाउने, मधुमेह रोगलाई नियन्त्रण गर्न प्रयास गर्ने, पाचन क्रियालाई मजबुत बनाउन सहज हुन्छ ।





