बागलुङ, १५ माघ – दुइचार बर्ष कृषि कर्म गरुञ्जेल व्यवसायिक कृषि गरेको भन्ने, त्यसपछि छाडेर अन्य पेशामा लाग्ने क्रम धेरै छ । तर यहाँका एक युवाले १६ बर्षदेखि कुखुरा पालेरै जीवन धानेका छन् । बिदेश जाने सपना समेत उनले भुलेर गाउँमै कृषि कर्ममा रमाएका छन् । बागलुङ नगरपालिका वडा नं. ३ रात्माटाका बिजय शर्माले निरन्तर कुखुरा पालनमा दिन बिताएका छन् । रोजगारीको सिलसिलामा उनी केही समय बिदेश पनि गए । तर उनकी श्रीमतीले श्रीमान बिदेश गएपनि कामलाई निरन्तरता दिए । दुइबर्षको बसाईपछि पुन फर्केर व्यवसायिक कृषिमा उनले समय दिएका छन् ।
अहिले उनको खोरमा १ हजार कुखुरा नियमित जस्तो रहन्छन् । ब्रोइलर र लेयर्स जातका कुखुरा पाल्न उनले रुची राख्दै आएका छन् । बागलुङ बजारमै सजिलै बिक्री हुनेभएपछि उनीहरुले कुखुरा पालनलाई निरन्तरता दिने बताए । पछिल्लो समय उनले फ्रेस हाउस पनि चलाएका छन् । उनको रेष्टुरेन्ट पनि छ । श्रीमान श्रीमती भएर मेहेनत गरेकै कारण व्यवसायमै उनीहरु सन्तुष्ट छन् । ‘अब अरु पेशा नगर्ने, बरु यही पेशालाई व्यवासायिक बनाएर निरन्तरता दिने हो’ बिदेशमा गर्ने दुःख यही गरियो भने बिदेशको दोब्बर कमाई हुन्छ ।’ ब्रोइलर कुखुरा पाल्दा बर्षमा झण्डै चार पटक कुखुरा बेच्न सकिन्छ । सामान्यतया ४० दिनमै कुखुरा बेच्नका लागि तयार हुन्छन् ।
बिजय जस्तै बानपा ४ पाखाथरका जीवन जिसीले पनि व्यवसायिक कुखुरा पालन थालेका छन् । ५ बर्ष सम्म कोरिया बसेर फर्केपछि उनले कुखुरा पालन थालेको बताए । उनकी श्रीमती मनिषा र बाबुआमाले व्यवसायमा साथ दिएका छन् । उनले भेटेनरी तालिम समेत लिएर प्राविधिक रुपमा समेत काम गर्ने तयारीमा छन् । ८ लाख रुपैयाँमा उनले कुखुरा पाल्ने घर बनाइसकेका छन् । ‘अब बिदेश नजानुहोस् भनेर यही लगानी गर्न लगाएँ’ अनिषाले भनिन्, ‘मेहेनत गरियो भने यही सुन फलाउन सकिन्छ ।’ जीवनले पनि बिदेशमा भन्दा मेहेनत गर्दा गाउँघरमै सजिलै कमाई गर्न सकिने बताउन थालेका छन् ।
उनीहरु जस्तै जिल्लामा दर्जनौ कृषि तथा पशु बिकासका फर्महरु बिदेश गएर पर्केका युवाले चलाउन थालेका छन् । फर्केपछि बिदेशमा गरेको दुःख देखेर युवाहरुले आफ्नै गाउँमा मेहेनतको तयारी गरेको स्थानीय बैकुण्ठ सापकोटाले बताए । प्राविधिक ज्ञान सिकाएर सापकोटाले धेरै युवालाई कृषि र पशुपालनमा लगाउँथे । सापकोटाले गैरसरकारी संस्था मार्फत तालिम र प्रविधि दिएर कृषिमा लगाउने गरेका थिए । काम गरेका युवाहरुको मेहेनत र सफलता देखेर सापकोटाले पनि कुखुरा पालन व्यवसाय थालेका छन् । स्थानीय जातको कुखुरा पालेका सापकोटाले बिजयको साझेदारीमा ह्याचरी मेसिन भित्राउने तयारी गरेका छन् । उक्त मेसिनले एक पटकमा १ हजारबढी चल्ला उत्पादन गर्न सक्छ । लोकल र लेयर्स जातको कुखुराको अण्डा कोरलेर चल्ला उत्पादन गर्दा अझैबढी आम्दानी गर्न सकिने उनीहरुले बताए ।
अहिले सम्म यहाँका किसानले उत्पादन गरेका मासुजन्य बस्तुहरु बागलुङ बजारमै खपत भउका छन् । ‘बाहिरबाट आउने बस्तु बिस्थापित गरेर आत्मनिर्भर बनाउन धेरै मेहेनत बढाउन जरुरी छ’ भेटेनरी अस्पताल तथा बिज्ञ केन्द्रका प्रमुख शम्भू रेग्मीले भने, ‘कृषि क्षेत्रको लगानी बढाएर जानेहो भने आत्मनिर्भर बन्न सकिन्छ ।’ किसानहरुले सामान्य अनुदान समेत पाउन नसकेको, प्राविधिक सेवा र प्रविधि सहजै पाउने व्यवस्था नभएसम्म कृषिमा आत्मनिर्भर बन्न नसकिने उनले बताए । नेपाल सरकारले बिदेश गएर फर्केकाहरुलाई सहुलियतपूर्ण कर्जा दिने समेत नीति बनाएको छ । राष्ट्रबैंकको नीतिलाई स्थानीय बैंकहरुले पूर्ण रुपमा पालना गरेका छैनन् । धितो नपुगेको भन्दै धेरै युवालाई निरास बनाएर फर्काएकोले लगानी अभावमा काम गर्ने वातावरण अझै बनिनसकेको समेत युवाहरुले बताए ।





