बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्यटन विकासबाट ग्रामिण क्षेत्रको गरिवी निवारण: मुख्यमन्त्री गुरुङ

पर्यटन विकासबाट ग्रामिण क्षेत्रको गरिवी निवारण: मुख्यमन्त्री गुरुङ

कार्यक्रममा गाउँपालिकाले तयार पारेको 'मौसिज हर्गोज पदमार्गको नक्सा' सार्वजनिक गरिएको थियो ।


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०७६, बिहिबार

म्याग्दी, १६ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन विकासको माध्यमबाट ग्रामिण क्षेत्रको गरिवी निवारण गरिने बताएका छन ।म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उदघाटन गर्दै सो कुरा बताएका हुन । संस्कृति, प्रकृति र साहसाकि पदयात्रा मार्ग गण्डकी प्रदेशको पर्यटनको आधार भएको बताउदै मुख्यमन्त्री गुरुङले ग्रामिण पर्यटनको विकास मार्फत नै गरिवी निवारण गर्न सकिने वताए । प्रदेशका ११० वटा पर्यटकीय स्थल घोषणा गरेर प्रत्येक जिल्लाका चार वटा नयाँ पदमार्ग खोल्न र पूर्वाधार तयार पार्न गण्डकी प्रदेश सरकारले चालीस लाख रुपैयाँका दरले बजेट बिनियोजन गरेको जानकारी दिए ।
साहासिक पर्यटनको सम्भावना रहेको धौलागिरि चक्रीय, अन्नपूर्ण आधार शिविर पदमार्गमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने प्रतिवद्धता जाहेर गरे । गत वर्ष २७४ वटा होमस्टे स्थापना गर्न तीस करोड अनुदान दिएको थियो । यस वर्ष प्रदेश सरकारले ती होमस्टेको सुदृद्धीकरण गर्न २५ करोड बिनियोजन गरेको मुख्यमन्त्री गुरुङले वताए । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको लागि प्रचारप्रसार गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले आयोजना गरिएको महोत्सव माघ २१ गते सम्म सञ्चालन हुने गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।
आठ वर्षअघि विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग पहिचान भएको थियो । सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य भएको अध्यक्ष पुनले बताए । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नयाँ गन्तब्यको रुपमा “मौसिज हर्गोज टे«कीङ” सञ्चालन गर्न लागिएको संरक्षण व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताए।
महोत्सवको अवसरमा अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तरगत वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन । पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने छ । महोत्सवका लागि पन्ध्र लाख र खेलकुद प्रतियोगितालाई दश लाख रुपैयाँ बिनियोजन गरिएको छ । अन्नपूर्ण आधार शिविर लगायत पर्यटकीय स्थलहरुको वृत्तचित्र र तस्बिर प्रर्दशनी, कृषि, हस्तकला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी गरिएको छ । महोत्सव उद्घाटनका अवसरमा अन्नपूर्ण गाउपालिकाको मौलिक पहिचान झल्कने सांस्कृतिक झाँकी प्रर्दशनी गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाले तयार पारेको ‘मौसिज हर्गोज’ पदमार्गको नक्सा सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापा, प्रदेश सांसद बिनोद केसी, नेकपाका खड्ग गिरि, नेपाली काँग्रेसका खम्बिर गर्बुजा लगायतले मन्तब्य व्यक्त गरे । गाउपालिकाका उपाध्यक्ष केशमाया मगरले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->