म्याग्दी,१८ माघ – म्याग्दीको मालिका गाउँपालिकास्थित दरवाङ बजारको एक कृषि सहकारी संस्थाले स्थानीय उत्पादनको संकलन र बजारीकरण शुरु गरेको छ । आत्मनिर्भर व्यवसायिक कृषि सहकारी संस्था लिमिटेड मालिका–६ ले माघ १७ गतेदेखि औपचारिक रुपमा स्थानीय उत्पादनको संकलन र बजारीकरण गर्ने कार्यको शुरुवात गरेको हो । संंस्थाको प्रारम्भिक साधारणसभाको अवसर पारेर संस्थाले सञ्चालन गर्ने संकलन तथा बजारीकण केन्द्रको शुक्रवार शुरुवात भएको हो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले संस्थाको प्रारम्भिक साधारणसभा र संकलन केन्द्रको उद्घाटन गरे । उद्घाटन पछि बोल्दै जिसीले सहकारीले सञ्चालन गरेको व्यवसायलाई सफल पार्नका लागि सदस्यहरुको सहकाभागिता र क्रियाशिलता अनिवार्य रहेको बताए । संस्थाले स्थानीय उत्पादनलाई वृद्धि गर्ने, संकलन गर्ने र विभिन्न ठाउँमा विक्री गर्ने योजना बनाएको छ, यसलाई सफल पार्नका लागि सदस्यहरुले उत्पादन बढाउने, उत्पादित वस्तु सहकारीको संकलन केन्द्रमा पु¥याउने तथा बजारीकरणमा सहयोग गर्नु पर्नेमा जिसीको जोड थियो । मालिका गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका आर्थिक विभाग प्रमुख सन्तनाथ सुवेदीले राज्यले लिएको सुखी नेपाली समृद्ध नेपाल अभियान सफल पार्नका लागि सहकारीलाई कृषि, पर्यटन र रोजगारीमा केन्द्रीत गराउनु पर्नेमा जोड दिए । मालिका गाउँपालिकाले विपन्न वर्गका जनतालाई सहकारी मार्फत आयआर्जन गर्न प्रेरित गर्ने कार्यक्रम ल्याएको जानकारी गराउदै उनले आत्मनिर्भर व्यवसायीक कृषि सहकारीलाई पालिका स्तरीय बनाउन सुझाव दिए । कार्यत्र mममा जिल्ला सहकारी संघ म्याग्दीका कोषाध्यक्ष तथा पश्चिम दरवाङ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र पौडेल, शिघ आवासीय माविका प्रधानाध्यापक मोतिराज उपाध्याय, प्रभु बैंक दरवाङ शाखाका प्रमुख विपिन चोखाल, लायन्स क्लव अफ दरवाङका अध्यक्ष गोपाल रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम संस्थाका अध्यक्ष तिलक बहादुर ठकुरीको अध्यक्षता, उपाध्यक्ष चित्र बहादुर विकको स्वागत र दिवाकर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभामा संस्थाका सचिव कल्पना गुरुङले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरे । साधारणसभाले तिलक बहादुर ठकुरीको नेतृत्वमा आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । संस्थाले शेयर सदस्यहरुले उत्पादन गरेका कृषि लगायतका सामग्रीहरु संकलन गर्ने र दरवाङ लगायत बेनी, बागलुङ, कुश्मा लगायतका बजारमा विक्री वितरण गर्ने, संस्थाले सामुहिक तरकारी खेती लगायतका काम गर्ने योजना बनाएको प्रवन्धक प्रेम निउरेले जानकारी दिए ।





