नेकपाको सरकार गठन भएको फागुनमा दुई बर्ष पुग्दैछ । यस बिचमा नेकपाको सरकारले बिभिन्न खाले आन्तरिक तथा बाह्य चुनौतीहरुको सामना गर्नुपरेको छ । संबिधानको कार्यान्वयन पछि फरक प्रणालीमा बनेको यो सरकारलाई बाहिरी भन्दा आन्तरिक चुनौतीनै बढी छ । सरकार गठन भए यता प्रधानमंन्त्रीको स्वस्थ्य आलोचना होइन गाली मात्रै गर्ने गरेको देखिन्छ । बिशेषगरी प्रधानमंन्त्री बिरुद्ध भड्काउने र बद्नाम गराउने काम नेकपा भित्रकै केहि नेताहरुबाट नियोजित रुपमा शुरुकै दिन देखिनै हुदै आएको छ ।
नेकपाका अध्यक्ष तथा प्रधानमंत्री केपी शर्मा ओलीको दुरदर्शाी सोचका कारण बिश्वमा हराउदै गएका कम्युनिष्टहरु नेपालमा उदाउँदो अवस्थामा छन् । बास्तवमा पार्टीका बिशेष गरी दोस्रो पुस्ताका नेताहरुले यो अवसरलाई राम्रो काम गरेर भरपुर फाईदा उठाउनु पर्ने हो । तर केहि नेताहरुमा पद पाईएन भनेर कुण्ठा पोख्ने र सरकार बिरुद्ध षडयन्त्र गर्ने तर्फ मात्रै ध्यान गएको देखिन्छ । यहि मानसिकताका कारण सरकार अहिले चौतर्फी आक्रमणमा परेको छ । मुलुकको बिकास र समृद्धिको कुनै राम्रो योजना सरकारले ल्यायो भने पनि पहिल्यै आशंका गर्ने र हातखुट्टा बाधेर काम गर्न नदिने प्रबृति बढ्दो छ । पार्टी तथा नेताहरुको सफलता सरकारको सफलता र कार्यक्षमतासंग जोडिएको छ भन्ने कुरा बुझेर पनि बुझ पचाएको देखिन्छ । पार्टी भित्र कै केहि नेताहरुले प्रधानमन्त्री बिरुद्ध मोर्चाबन्दी गरेर षडयन्त्र गर्ने गरेका छन् । उनीहरुले नै मिडियामा बद्नाम गराउने नियत राखेर कुप्रचार गरेको पाईन्छ । मिडियामा आलोचनात्मक चेत हुनु पर्छ तर हाम्रो मिडिया आलोचनात्मक चेत र खोजमुलक पाईदैन । अलोचना गर्ने नाममा मिडियाले एकपक्षिय ढंगबाट आरोप मात्रै लगाउने गरेको पाईन्छ । बिशेष गरी आफुलाई राजनैतिक पार्टीको रुपमा उभ्याउने पत्रपत्रिका र केहि अनलाईन न्यूज मिडियाहरुले प्रधानमन्त्री बिरुद्ध गैरजिम्मेवारपूर्ण ढंगबाट अशिष्ट शैलीमा गाली गलौजमा उत्रिएको देखिन्छ । समाचार पस्कने नाउँमा पार्टी र नेताहरु बिरुद्ध प्रयोग हुने र भड्काउने काम भएको छ । मिडियाले थाहा पायो भने काम बिग्रिन्छ भन्ने छबि बनाएको छ । मिडियाकर्मीको काम एक अर्कालाई जुधाएर फाईदा लिने पनि होईन र कसैको बिरुद्ध टुप्पी कसेर लाग्ने पनि होईन । सञ्चार माध्यमको जिम्मेवार प्रस्ुतती नभएकै कारण आम नागरिकमा भ्रम छर्ने गरेको छ । मिडियामा आएका नकारात्मक समाचार र प्रस्तुतीले अन्ततः निरास र समाजलाई नै नकारात्मकता तर्फ लगेको छ ।
बास्तवमा सरकार गठन भएको दुई बर्ष पनि पुरा भएको छैन । तर आम नागरिक र मिडियाको प्रस्तुती हेर्दा जादुको क्षणी वा कम्प्युटरको बटन थिचे जस्तै गरेर बिकास हुनुपर्छ भन्ने छ । मुलुकलाई बिकास र समृद्ध बनाउन राजनैतिक नेतृत्व (सरकार) को मात्रै इच्छाशक्ति भएर पुग्दैन । सरकारसँगै जोडिएका स्टेकहोल्डरहरु ( सरोकारवालाहरु) को पनि ईच्छाशक्ति हुन जरुरी छ । सरकार (कार्यपालिका) को पर्फरमेन्स (कार्यदक्षता) सँग जोडिएको अंग ब्यवस्थापिका र न्यायपालिका पनि हो । त्यसपछि स्थाई सरकार कर्मचारी संयन्त्र पनि हो । अहिले प्रणाली परिर्वतन भयो तर हाम्रो मानसिकता परिर्वतन भएन । प्रणाली परिर्वतनका लागि प्रत्यक्ष भूमिका खेल्ने राजनैतिक नेतृत्व के कति परिर्वतन भए । अन्य सरोकारवालाहरुमा परिर्वतनको संकेत कति देखियो कि देखिएन ? सरकारकार अहिले, प्रणलीमा सुधार तथा ब्यवस्थीत गर्न खोज्दैछ । बिगतमा बिकास निर्माणका काममा कतिपय कानूनहरु बाधक पनि थिए । कानूनहरुको निर्माण र सहजता ल्याउन सरकारले आलोचनाकाबीच पनि केही राम्रा काम पनि गरेको छ । सरकारले अहिले सम्म के के राम्रा काम गर्यो त ? बुझ्न जरुरी छ । प्रधानमन्त्रीले प्रधानमंत्री निवासमा पत्रकारहरुलाई राम्रो काम बारे लेख्ने मन र मुटु भएका पत्रकार छैनन भनेर गुनासो गर्नुभयो । उल्टै प्रधानमन्त्रीको स्वास्थ्यसँग समेत जोडेर पत्रकारहरुले, मानवीय संबेदनामा ठेस पुग्ने गरी लेखे । एउटा पाठकको हैसियतले प्रधाननमन्त्रीले पत्रकारहरुसँग गुनासो पोख्नु के नाजायज थियो र ? बास्तवमा निश्पक्ष ढंगबाट हेर्ने हो भने नराम्रा कामको जति प्रचार भएको छ त्यो भन्दा बढी भएको राम्रो कामको प्रचार भएको छैन । यसरी सम्भवत पहिलो पल्ट मिडियाहरु नियोजित रुपमा खनिएका छन् । समाचार पस्किने नाउँमा स्थिर सरकार बिरुद्ध खनिनु मुलुकको स्थायीत्वकोलागि पनि फाइदाजनक छैन । ‘कुकुर भुक्दै गर्छ हाक्ती हिड्दै गर्दछ’ भन्ने प्रचलित उखान छ । यो नियोजित कार्यले केहि समयसम्म भ्रम छर्ला तर संधै भ्रममा राख्न सक्दैन । अहिले पनि सरकारले गरेका कतिपय राम्रा कामको बिरोध गर्दै, मिडियामा आएका मनगणन्ते कुरा जनताले बुझिसकेका छन् । जसरी नक्कली सामानले कहिलेकाही बजारमा छ्याप्छ्याप्ती तहल्का पिटे जस्तै हो । जव प्रयोगकर्ताले नक्कली र सक्कली सामान चिन्छन् तव त्यो सामान धेरै टिक्दैन । नकारात्मकता सृजना गर्ने काम भयो भने ती मिडियाहरु पनि जनताबाट तिरस्कृत हुने अवस्था नआओस । बजारले मिडिया आफै रोज्नेछ । आफ्नो अस्तित्वका लागि पनि कतै सत्य तथ्य र निष्पक्षता अनि म¥र्यादा गुमाउदै गएको त छैन भनेर ख्याल राख्न जरुरी छ ।
सरकारले दुई बर्षको कार्यकालमा संघीयताको कार्यान्वयन गरेको छ । केन्द्रीय शासन प्रणालीमा अभ्यस्त नेपालको राज्य संरचनालाई सरकारले संघीय प्रणालीमा अवतरण गराइसकेको छ । देशलाई संघीय संरचनामा लैजाने मुख्य कार्यभार बोकेको सरकारले बिस्तारै कार्यान्वयन गर्दैछ । ७ वटा प्रदेशमा सरकारका अंग, कार्यालय स्थापना भएका छन् । दिन दिनैको प्रशासनिक काम पनि भइरहेको छ । प्रदेश तथा स्थानीय सरकार सञ्चालन र कर्मचारी समायोजन गरेको छ । संघीयता कार्यान्वयनको जग बसाउनमा यो सरकार सफल भएकोछ । त्यसै गरी सामाजिक सुरक्षा योजना कार्यक्रम ल्याएको छ । सरकारले सरकारी र निजी क्षेत्रका श्रमिकलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोछ । ज्याला रोजगारीमा रहेका वा स्वरोजगार, औपचारिक वा अनौपचारिक दुवै श्रमक्षेत्र र सबै प्रकृतिका श्रम सम्बन्धमा कार्यरत श्रमजीवीहरूलाई योजनाले समेटेको छ । ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा आएसँगै श्रमिकहरू बिरामी वा दुर्घटनामा पर्दा तथा सुत्केरी हुँदा रोजगारदाताबाट विभिन्न किसिमका सुविधा पाउनेछन् । पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने’ व्यवस्था छ । पेन्सन र अवकास सुविधा तथा आश्रित परिवारका लागि पनि विभिन्न सुविधाको व्यवस्था छ ।
सरकारको गत बर्ष देखि नै प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेर बेरोजगार युवालाई रोजगारी दिलाउने काम गरेकोछ । यो कार्यक्रम अन्तरगत न्यूनतम एक सय दिन रोजगारी दिने भनिएको छ । रोजगारी दिन नसकिएमा बेरोजगार भत्ता दिईने भनिएको छ । देशभित्रको बेरोजगारीको समस्या न्यूनीकरण गर्न आन्तरिक बजारमै रोजगारीका अवसर सिर्जना गर्ने नीतिअनुरुप सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । यस कार्यक्रम सबै स्थानीय तहमा लागू गरेको छ । ५ वर्षपछि युवाहरु विदेशिनु पर्ने बाध्यता हटाउने लक्ष्य लिइएको यो कार्यक्रम सरकारको ठूलो उपलब्धिको रुपममा हेरिएको छ ।
बैदेशिक रोजगारीमा देखिएको बिकृति बिसंगति हटाउन गन्तब्य मुलुकको सरकारसंग श्रम सम्झौता गरेको छ । अव बैदेशिक रोजगारीमा जाने कामदारहरले कुनै दलालहरुलाई पैसा बुझाउनु पर्ने र ठगिने अवस्था अन्त्य भएको छ । निःशुल्क रुपमा गन्तब्य मुलुक मलेसिया जान पाउने भएका छन् । सरकार गठन भए देखि अहिले सम्म कानुन निर्माण र कार्यान्वयनको काम भएका छन् । स्थानीय तह र प्रदेश सरकारका लागि कानून बनाईएको छ । कूटनीतिक सम्बन्धमा सुधार भएको छ । छिमेकी मुलुकहरुसँग सम्बन्ध सन्तुलित पार्न सरकार सफल भएको छ । १० वर्ष अघिदेखि विराटनगरमा रहँदै आएको भारतीय विशेष सुरक्षा क्याम्प सरकारको पहलमा हटाइएको छ । प्रधानमन्त्रीको दुई मित्रराष्ट्रहरू भारत र चीनको भ्रमणबाट छिमेक सम्बन्ध नयाँ उचाइमा पुगेको छ । मुलुकको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीति बनेको छ । ठूला आयोजना निर्माणमा तीब्रता आएको छ । प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजना आफू मातहत सञ्चालन गर्ने र डिजिटल उपकरण मार्फत अनुगमन गर्ने संयन्त्र बनेको छ । काममा छिटो र बाधा अवरोध सूचारु गर्नका लागि गरिएको हो । लुम्बिनी क्षेत्रीय विमानस्थलको निर्माणको काम, पोखरा क्षेत्रीय विमानस्थल निर्माण को काममा तीव्रता, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन र हालसालै बायोमेट्रिक पोर्टको संचालन गरिएको छ । जसको कारणबाट पर्यटकको बसाई, उसको अवस्था अवान्छीत गतिबिधी सबै पत्ता लगाउन सकिनेछ ।
बिकासका महत्वपूर्ण समझदारीपत्रहरुमा हस्ताक्षर र कार्यान्वयन, जलमार्गका लागि स्थलगत अध्ययन, ऊर्जा उत्पादन र बिक्रीकालागि एमसिसि परियोजना संसदबाट पारित गर्न वातावरण निर्माण गरेकोछ । भूकम्प पुनःनिर्मांणको काम लगभग सम्पन्न भएको छ । चीनसँग समझदारी पत्रमा हस्ताक्षर, पेट्रोलियम पदार्थको ढुवानी गर्दा हुने चुहावट नियन्त्रण, यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, मुग्लिङ –नारायणगढ सडक कालोपत्रे गर्ने काम भएको छ । पहिलो पटक ओली प्रधानमन्त्री हुँदा चीन सरकारसँग भएको व्यापार तथा पारवाहन सम्झौता लामो समयपछि वास्तविकतामा बदल्न यसपटक चीनसँग प्रोटोकलमा हस्ताक्षर भएको छ । बिकास निर्माण मात्रै होईन यो सरकारले साना किसानको ऋण मिनाह गरेको छ । बर्षै देखि चिनी मिल मालिकबाट उखुको पैसा नपाएका किसानलाई छिट्टै रकम दिलाउन पहल गर्दैछ । श्रमिकहरुको पारिश्रमिकमा बृद्धि, जेष्ठ नागरिकहरुको बिमा लगायत दश प्रतिशत जेष्ठनागरिकलाई दिनुपर्ने अनिवार्य ब्यवस्था भएको छ । युवाहरुलाई उद्दमी बनाउन सर्टिफिकेट धितो राखेर ऋण उपलब्ध गराउने ब्यबस्था लगायत थुप्रै जनतका हितमा काम भएका छन् । त्यसैगरी मौलिकहरुको कानूनहरु निर्माण गरेको छ ।
उत्पादनमा बृद्धि र निर्यात हुने बस्तु पनि यस वर्ष १६ प्रतिशतले बृद्धि भएको छ । तथ्याड्ढ बिभागले हालै सार्वजनिक गरेको तथ्याड्ढ अनुसार नेपालमा २४ बर्ष पछिकै सबै भन्दा बढी आर्थिक बृद्धिदर भएको देखाएको छ । मौसमको अनुकुलता, नियमित बिजुलीको आपूर्ति तथा देशमा निर्माण कार्यले तिव्रता पाएकोले आर्थिक बृद्धिदर अघिल्लो बर्ष भन्दा ८ अर्वले बढेको हो । उत्पादनमुलक क्षेत्रमा लगानी बढ्दै गएको छ । सरकारले कृषिजन्य उत्पादनकालागि मल, बीउको उपलब्धता गराएको देखिन्छ । फल नलाग्ने बीउमा क्षतिपूर्ति दिने गरेको छ । मौसमको पनि अनुकुलताले गर्दा कृषि उत्पादन उकालो लागेको देखिन्छ । बैदेशिक रोजगारबाट आएको पैसा (रेमिट्यान्स) को पनि उत्पादनमुलक क्षेत्रमा परिचालन भएको तथ्याड्ढले देखाउँछ । आर्थिक बृद्धि दर बढ्नुको कारण मुलुकमा शान्ति र स्थिर सरकार गठन भएकोले हो । सरकारले बिगतमा भएका भ्रष्टारको छानबिन र कारवाही शुरु गरेको छ । ललीता निवासको जग्गा प्रकरणमा मुछिएकाहरुलाई अख्तियारले कारवाही थालेको छ । सुन तस्करी गर्नेहरुलाई कारवाही गरेको छ । सम्पत्ती शुद्धिकरण बिभागले अकुत सम्पत्ती कमाउनेहरुको छानबिन शुरु गरेको छ । कानूनको कार्यान्वयन भएको छ । सरकारले छोटो अवधीमा पनि धेरै महत्वपूर्ण काम गरेर सफलता पाएककोमा नजरअन्दाज गर्न मिल्दैन ।




