आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लोकल कुखुरा पाल्दै युवा

लोकल कुखुरा पाल्दै युवा


  • ढोरपाटन संबाददाता
  • माघ २३ २०७६, बिहिबार

बागलुङ, २३ माघ – व्यवसाय गर्नका लागि उन्नत बीउ, उन्नत जातका पशुपालन र ठूलै लगानी चाहिन्छ भन्ने होइन । मेहेनत गर्ने होभने सानो लगानीबाट पनी मनग्ये कमाई गर्न सकिन्छ भन्ने उदाहरण बागलुङका एक युवाले देखाएका छन् । बागलुङ नगरपालिका वडा नं. ३ का बैकुष्ठ सापकोटाले स्थानीय जातका कुखुरा पालेर पनि मनग्ये कमाई गरेका छन् । ब्रोइलर कुखुरा पाल्नेहरुको भीडमा उनी स्थानीय जातका कुखुरा पाल्नेमा पर्छन् । लोकल भनेपछि दुइचार वटा मात्र पाल्ने चलन हटाएर उनले आफ्नो घरका कोठाकोठामा समेत गरी ८ सय कुखुरा पालेका हुन् ।
लोकल कुखुरा बिकासे जातका भन्दा फरक हुन्छन् । बजारमा मूल्य पनि राम्रो पाउने, रोगबाट बचाउन सकिने र लामो समयसम्म बिक्री नभएपनि फरक नपर्ने हुने गरेको सापकोटाले बताए । ‘ब्रोइलर पाल्दा ४० दिनमा बेच्न थाल्नुपर्छ, बिक्री भएन भने दानाको मूल्य बढी पर्छ’ उनले भने, ‘यिनीहरु बर्षदिन सम्म पालेपनि फरक पर्दैन ।’ दानापानीका लागि धेरै खर्च नलाग्ने उनले बताए । बर्डफ्लु लगायतका रोगलेपनि लोकललाई हत्तपति नछुने उनले बताए । उनले बारीमा अर्गानिक तरकारी खेती पनि गरेका छन् । बारीकै घाँसबाट पनि कुखुरा पाल्न सकिने उनले देखाएका छन् । बजारबाट लगिने थोरै दानामा घरेलु गहुँ, मकै लगायतका उत्पादन मिसाएर आहारा पु¥याउन सकिने उनले बताए । स्थानीय जस्तै उनको खोरमा ‘कडकनाँथ’ जातका कुखुरा पनि छन् । कालो जातको यो कुखुरा जंगली कालिज जस्तै हुन्छ । चरन मन पराउँछ । ब्रोइलरको मासुको तुलनामा लोकलको दोब्बर पर्छ । कडकनाथको मूल्य २ हजार ५ सय रुपैयाँसम्म पर्छ । स्थानीय कुखुरा पनि प्रतिकेजी ७ सय रुपैयाँमा खोरबाटै बिक्री भैरहेको उनले बताए । लोकल भाले भनेपछि खरिदकर्ताले जोखेरभन्दा हचुवा मुल्य गरेर समेत लैजान्छन् । सापकोटाले भैरहवा लगेर अण्डा कोरल्छन् । ह्याचरी मेसिनको अभावमा उनले टाढा पठाउनु परेको थियो । अब भने उनले घरैमा मेसिन ल्याउने तयारी गरेका छन् । ४ लाख खर्चेर उनले मेसिन ल्याउन अर्डर गरिसकेको बताए । मेसिन राखेमा मासिक १ हजारबढी अण्डा घरैमा कोरल्न सकिन्छ । मेसिन ल्याउने र संचालन गर्ने काममा छिमेकी बिजय शर्माले साथ दिएका छन् । चार बर्षदेखी सक्रिय सापकोटालाई १६ बर्षदेखि कुखुरा पालेका बिजयले साथ दिएका हुन् । बिजयको अनुभव र बैकुण्डको सीपले दुवैको फर्म फस्टाएको छ । अण्डा कोरलेपछि एक दिने, ७ दिने र १५ दिने चल्ला राख्नका लागि गाउँमै दुइवटा घर भाडामा लिइसकेका छन् । आफ्नो घरको सबै कोठा अहिले कुखुराको ग्रेडिङ गर्ने कक्षको रुपमा संचालनमा आएको छ । पहिला गाईभैसी पाल्ने गोठ दिनभरी कुखुरा खेल्ने स्थान हो । दिनको दुई घण्टा उनले पाखोमा चराउन पनि लैजान्छन् । चराएपछि कामगर्ने युवा ‘माईला’ले ल्याएर दानापानी दिन्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->