बागलुङ, २५ माघ – पहिला पहिला यस्तो कामलाई पेशाको रुपमा लिने चलन थिएन । तर अहिले बुटिक भर्ने काम कमाईको राम्रो माध्यम बनेको छ । बिबाह र चाडपर्वका लागि लगाउने कपडामा बुटिक भर्ने चलन व्यापक बढेको छ । बागलुङ बजारकी सन्ध्या राजभण्डारीले पछिल्लो ५ बर्षदेखि बुटिक भरेर सामान तयार पर्ने र बेच्ने काम गरिरहेकी छिन् । उनले मनग्ये कमाई पनि गरेको बताईन् । बिदेश र स्वदेशमा बस्नेले राजभण्डारीको पसलबाट पछिल्लो पाँच बर्षदेखि अनलाईनबाट व्यापार गरिरहेका छन् । आफ्नै सीपले तयार पारेका सामान कुरियरमार्फत बिदेश निर्यात गरेर उनले गज्जबको व्यापार गरेर बस्न सफल भएकी छिन् । तालिम लिएपछि देखाउनका लागि केही समय काम गर्ने र पछि गुमनाम बन्नेको भीडमा राजभण्डारी नौलो उदाहरण हुन् । ‘उनको सीप देखेर छिमेकी पनि दंग पर्छन् । आफ्नै सीपले उत्पादन गरेको सामान बिदेशमा निर्यात गर्ने राजभण्डारी जिल्लाकै पहिलो व्यक्ति भएको उनले बताईन् ।
बागलुङ नगरपालिका २ की ३३ बर्षिय राजभण्डारीले दशकदेखि आफ्नो सीपले बुटिकका सामान बनाएर बेच्थिन् । पछिल्लो ५ बर्षदेखि उनको व्यापार पुरै अनलाईनमा परिणत भएको छ । सुरुमा आफन्तमार्फत बिदेश पठाएकी राजभण्डारी अहिले व्यवसायिक रुपमा उत्पादन गरेर पठाउने भैसकेकी हुन् । सदरमुकामको बाघचोक नजिकै उनको पसल छ । तर सटरमा होइन । घर भित्रको एक कोठामा बसेर उत्पादन गरिरहेकी राजभण्डारीले माग बढेपछि भित्रै ठूलो सोरुम र काम गर्ने कोठाहरु बनाएकी छिन् । सुन पसल गरेका श्रीमान उमेशले पनि पेशा छाडेर श्रीमतीको पेशालाई नै साथ दिएका छन् । सुन पेशामा धेरै खटिनुपर्ने र नाफा कम भएको भन्दै उनले श्रीमतीकै काममा साथ दिंदा धेरै फाइदा हुने बताए ।
इन्टरनेटमा आफ्नो पेज बनाएर उनले संसारभरका मानिसबाट अर्डर लिने गर्छिन् । इन्टरनेटको माध्यमबाट काम गर्दा राजधानी वा ठूलो सहरमा बस्नुपर्ने बाध्यता नभएको उनले सुनाईन् । ‘इन्टरनेटमार्फत ग्राहक भेट्न महंगो सटर भाडामा लिनु पर्दैन’ उनले भनिन्, ‘काम गुणस्तरको गर्न सकियो भने विश्वास जित्न सकिने रहेछ ।’ जापानमा बस्ने आफन्तबाट अर्डर लिन थालेपछि उनको व्यवसाय बढ्दै गयो । अहिले अष्ट्रेलिया, युरोप र अमेरिकामा बस्ने जिल्ला बासी, देशबासी र बिदेशी नागरिकले पनि उनको सामान अर्डर गरिरहेका हुन्छन् ।
मूल्य, गुणस्तर र समयको ख्याल गरेर माग भएका सामान तोकिएकै समयमा उत्पादन गरिदिंदा उनको व्यवसाय फस्टाएको हो । ‘बिदेशमा बस्नेहरुले अनलाईन व्यापार गर्छन्, चाहेको समयमा पाईयो भने आफ्नो छिमेकीको छाडेर बिदेशबाट पनि मगाउने रहेछन्’ राजभण्डारीले भनिन् ‘दशकदेखि मैले गरिरहेको कामबाट मेहेनत र गुणस्तरले बजार बढ्ने अनुभव गरेकी छु ।’ उनको पसलबाट लेहेङगा, गाउन, सारी, व्लाउज, लेस, स्टोन, पोते लगायतका सामान बाहिर जाने गरेको छ । उनको पसलमा अहिले ६ हजारदेखि ६५ हजार रुपैयाँसम्म पर्ने लेहेङगा छन् ।
ती सामान अर्डर अनुसारकै बनेका हुन् । बिशेषगरी पसलमै जाँदा पाईने मूल्यबाहेक ३ हजार रुपैयाँसम्म बढी रकम तिर्दा अमेरिका र युरोपमा समेत पठाउन सकिने उनले बताईन् । ‘कुरियरमार्पmत पठाउने भएकोले ठूलो खर्च लाग्दैन, समयमै पु¥याउन पनि सकेकी छु’ राजभण्डारीले भनिन्, ‘बिदेशमा बिबाहका लागि पनि मेरो पसलमा अर्डर आउने गरेको छ ।’ उनले सन्ध्या क्रियसनमार्फत करमा दर्ता गराएरै यो व्यवसाय संचालन गरिरहेकी हुन् ।
आमाबाबुबाटै सिलाई पेशा जानेकी राजभण्डारीले राजधानीको कुपण्डोलमा ३ महिनाको डिजाईनको तालिम लिएकी थिइन् । त्यसपछि लेडिज सामानको उत्पादन गरेर केही समय सदरमुकाममै बिक्री गर्दा गर्दै उनले जापान र अष्ट्रेलिया जाने छिमेकीलाई पठाउन थालिन् । अहिले उनको पसल देखेर आउनेभन्दा चारगुणा बिदेशबाटै अर्डर गर्ने छन् । कामले फुर्सद नपाएर उनले ७ जना कामदार राखेकी छिन् । आँफू पनि निरन्तर व्यवसायमै लागेकी छिन् श्रीमान उमेशले कच्चा सामान झिकाउने र व्यवस्थापकीय काममा साथ दिएका छन् । यसरी काम गर्दा सातादिनमा डेढ लाख रुपैयाँदेखि तीन लाखसम्मको कारोवार गर्न सफल भएको उनले बताईन् ।
आँफैले मेहेनत गरेकोले कम्तिमा २० देखि ३० प्रतिशत नाफा निकाल्न सकेको उनले बताईन् । यो पेशाबाट सिजन गयो भनेर कहिले पनि खाली हात बस्नु नपरेको उनको अनुभव छ । उनको पसल छिर्दा फ्रि वाईफाई, युट्युवमार्फत पसल र सामानबारे बुझ्न पाउने, फोटो सेसन गर्ने कर्नर र फूलबारी लगायतको व्यवस्थाले स्थानीयको चासो समेत बढेको छ । जिल्ला र क्षेत्रीय तहमा हुने फेसन डिजाईन र ट्यालेन्ट शोमा पनि उनको माग बढीरहेको छ ।





