मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जलजलाका २२ बर्षिय दुर्गाले बनाए ८० किलोको अग्लो खुकुरी !

जलजलाका २२ बर्षिय दुर्गाले बनाए ८० किलोको अग्लो खुकुरी !

खुकुरी बनाउन फलाम र ज्याला सहित दुई लाख रुपैयाँ र तीन महिना समय लाग्यो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७६, बुधबार

पर्वत, ७ फागुन – जिल्लाको जलजला गाउँपालिका-२ मल्लाजका २२ वर्षीय दुर्गाबहादुर सुनारले तीन महिना लगाएर ८० किलोग्राम तौल भएको १० फिट अग्लो खुकुरी बनाएका छन् । दुर्गाबहादुरसंगै अर्जुन, सन्तोष र हरिलाल बिकको समूहले बनाएको यो खुकुरी नेपालकै ठूलो र अग्लो भएको दावी गरेका छन् । म्याग्दीको सदरमुकाम बेनी बजारसंगै रहेको वारीबेनीमा रेडियो दिदीबहिनीले आयोजना गरेको तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सवमा सो खुकुरी प्रर्दशनीमा राखिएको छ ।
‘गत मंसिर ४ गतेदेखि सुरु गरेको खुकुरी बनाउन तीन महिना लाग्यो,’ दुर्गाले भने ‘गाउँ नजिकै मेला लागेकाले आफुनो सिपले बनाएको खुकुरी प्रर्दशनी गर्न ल्याएको हो ।’ मल्लाजमा डिलु आरन उद्योग चलाउदै आएका दुर्गाले खुकुरी, हसिया, कुतो, कोदालो, बञ्चरो, फाली, दावे लगायत कृषि औजार बनाउछन् । खुकुरी बनाउन फलाम र ज्याला सहित दुई लाख रुपैयाँ लगानी भएको उनले बताए । ठूलो खुकुरी बनाउने तीन वर्षदेखिको योजना सफल भएकोमा दुर्गा उत्साहीत छन् । फलामको खुकुरीको बिडमा सालको काठ र काँजोमा चाँदी र पित्तल प्रयोग गरिएको छ ।
ठूलो खुकुरी बनाउने आकारको फलाम नेपालमा नभेटिएपछि भारतबाट मगाएको उनले बताए । ‘नेपालको राष्ट्रिय हतियारको रूपमा विश्वभर रहेका नेपालीको पहिचान र नेपालको चिनारीका लागि खुकुरीमार्फत प्रयास गरेको हुँ’, उनले भने । महोत्सवमा खुकुरीले दर्शकको आकर्षण बढाएको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले बताइन् । महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ । लगानी उठ्ने गरी सङ्ग्राहलयमा राख्नका लागि सो खुकुरीलाई बिक्री गर्ने योजना बनाएका छन् ।
पुख्र्यौली रूपमा आफ्ना अभिभावकले गर्दै आएको आरान पेशालाई आधुनिकीकरण गरेका सुनारले आकर्षक तरबार, खुकुरी, दाउ, आँसीलगायतका हतियारसँगै फलामका भाँडासमेत बनाउँदै आएका छन् । उनले महोत्सव परिसरमा आफ्नो उद्योगमा निर्माण गरिएका हातहतियार र औजार सामग्रीलाई बिक्री वितरणका लागि प्रदर्शनीमा राखेका छन् । जलजला गाउपालिका-२ का वडा अध्यक्ष गोविन्द खत्रीले विकको सिपलाई प्रोत्साहन गरिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->