प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला दिन प्रतिदिन बिबादास्पद बन्दै गइरहेका छन् । ‘भ्रष्टाचारमा शून्य सहनसिलता’ भन्ने नारा अरूलाई देखाउनेभन्दा अर्कोथोक केही पनि हैन भन्ने कुरा यतिबेला देखापरेका घटनाक्रमलाई हेर्ने होभने काफी हुन्छ । केही दिनअघि काभ्रेमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तत्कालीन सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाको मुक्तकण्ठले प्रशंसा मात्रै गरेनन्, ‘अरू सबै नेता एकातिर गोकुल बाँस्कोटा अर्काेतिर हुँदा पनि तराजुको तौलमा गोकुललै तौलदार भएको भन्दै काभ्रे प्रतिभा जन्माउने जिल्लाभन्दा तत्कालीन मन्त्री गोकुलले ‘घिरौलाको जत्रो नाक’ बनाएका थिए । प्रधानमन्त्री ओलीका प्रतिभा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाअन्तर्गत ७० करोड काण्डमा मुछिएपछि ‘तिरीमिरी झ्याइ’ भएका छन् । हुनतः हिजोको दिनमा गायक पशुपती शर्माले ‘लुट्न कान्छा लुट अरू देशमा पाइदैन नेपालमै हो छुट’ भनेर गीत गाउँदा प्रधानमन्त्री आफैले यसको बिरोध गरे, यस्तो लुट्न सिकाउने गीत भने, आज बाँस्कोटाको लुट्को धन्दा पर्दाफास भएपछि ओली ‘तै चुप मै चुप’ भएका छन् । अहिले फेरि उनको स्वरमा भाखा फेरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिशनको लागि गरेको अडियो टेप बाहिरिएपछि सञ्चारमन्त्रीबाट गोकुल बाँस्कोटाले राजीनामा दिए पनि यो प्रकरण त्यत्तिकै सेलाउने देखिदैन ।
७० करोड अडियो टेप काण्डका मुख्य पात्र कमिसन माफिया विजय प्रकाश मिश्रले पछिल्लो घटनाक्रमबारे धेरै तथ्य खुलाएपछि ‘लहरो तान्दा पहरो’ थर्किन थालेको छ । लेखा समितिले ११ फागुनमा यसबारे गर्ने भनेको निर्णय ८ गते नै बोलाएपछि घटनालाई ओझेलमा पार्न खोजेको भन्दै मिश्रले टेप बाहिर ल्याएको स्वीकारेका छन् । लेखा समितिका सदस्यहरुमाथि समेत प्रकरणमा संलग्न भएको संकेत सामाजिक संजालमार्फत गरेका छन् । अडियो टेप प्रकरणमा सत्तापक्ष र विपक्षको समेत मिलेमतोको विषय बाहिर आएको छ । अहिले जतिसुकै ढाकछोप गर्न खोजे पनि प्रधानमन्त्रीका धर्म पुत्रका रूपमा समेत चिनिने बाँस्कोटा जस्ताकै कारणले गर्दा बर्तमान सरकार असफल बन्दै गइरहेको तथ्य बुझ्न नसक्दा आज यो अबस्था सृजना भएको हो । प्रधानमन्त्री ओलीका विश्वासपात्र बाँस्कोटामाथि कमिसन लेनदेनका लागि बार्गेनिङ गरेको आरोप लागेपछि प्रधानमन्त्री ओली नैतिक संकटमा परेका छन् । नेकपाका अर्का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रहेका मनहरि तिमिल्सिनाले प्रधानमन्त्रीमाथि पनि शंका उब्जाएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा ५ वटा बुँदा उल्लेख गर्दै उनले प्रधानमन्त्री ओली पनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसनमा संलग्न रहेको आशंका गरेका हुन् । साँच्चै शक्ति र सक्ताको आडमा जे–जस्तो गरेपनि छुट हुन्छ भन्ने सोचेका थिए, आज एकएक पर्दाफास भएको छ ।
सामाजिक संजालमा पूर्वप्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक तिमिल्सिनाले ‘विश्वस्त हुन नसकेको मन’ शिर्षक दिएर लेखेका छन्– बाँस्कोटाले कमिसन मागेको अडियो २ महिनाअघि नै प्राप्त गरेर पनि सरकार मौन रहनु, यती समूहसँग सरकारको अविछिन्न र अराजनीतिक सम्बन्ध देखिनु, अडियो भेटेपछि पनि बाँस्कोटा देशकै प्रतिभा भएको र बाँस्कोटासँग कसैको तुलना नहुने भन्दै प्रधानमन्त्रीले तारिफ गर्नु, मन्त्रीबाट राजीनामा दिएपछि सल्लाहकारकै टिमले बाँस्कोटालाई बालकोट र्पुयाउनु र बाँस्कोटाले प्रधानमन्त्रीको निवास बालकोट नछोड्नु र उनलाई छोड्न नभन्नु । यी पाँच कारणले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रक्रियामा पूर्वमन्त्री बाँस्कोटा मात्र दोषी थिए भन्न मन मानेन् । जनता यी यक्ष प्रश्नको जवाफ खोजिरहेछन् भन्ने जुन कुरा सामाजिक संजालमा आएको छ । यसको जवाफ प्रधानमन्त्री ओलीले संसदबाटै दिन जरुरी छ । यस्तै बदमाशकै घेराबन्दीका कारणले यो परिस्थिति सृजना भएको हो । अझैपनि सरकारलाई काम गर्ने अवसर छ, मौका छ, यसलाई सहि सदुपयोग गर्न सकेको खण्डमा केही परिवर्तनको स्वाद नेपाली जनताले लिनेछन् हैन भने अब आउने निर्वाचनमा जनताले यसको सबै हिसाबकिताब गर्नेछन्, बुझिराख्दा हुन्छ ।
यतिबेला जताततै नैतिकताको प्रश्न उठिरहेको छ, जसलाई पनि यहीँ नैतिकता चाहिएको छ । अहिले ओली सरकार गठन भएपछि धमाधम मन्त्रीदेखि सभामुखले नैतिकता देखाउदै राजीनामा गरिरहेका छन् । भर्खरै मात्र संचार मन्त्री गोकुल बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । साँच्चै नैतिकता नभएका मान्छेले यतिबेला नैतिकताको खोल ओढेर राजीनामा दिएपछि धेरै मान्छे अचम्मित बनेका छन् । हुन पनि जस्तोसुकै अपराध गरोस त्यसले राजीनामा दिएपछि महान बन्यो, उसले गरेको १०० अपराध माफी भए । अहिले यस्तै–यस्तै भइरहेको छ । हाम्रो देशमा गर्ने मनपरि अनि भन्ने अन्त्यमा माफ भनेपनि सबै पाप क्षम्य । अहिले नैतिकतालाई मात्रै आफ्नो लाज छोप्ने हतियार बनाउने कामभन्दा अर्कोथोक केही पनि बनेको छैन । अहिले भ्रष्टाचार गर्ने, मनपरि ढंगले कमिसन असुली गर्ने, जति सकिन्छ त्यति खाने प्रवृत्ति कै कारणले समाजमा उच्च पदस्थ मान्छेको कुनै इज्जत छैनभन्दा फरक पर्दैन ।
घटनाक्रमले कुनै कुरा पुष्टि भए मात्रै राजीनामा दिए त्यो पनि नैतिकतालाई हतियार बनाएर साँच्चै अहिले पनि खुलेआम भ्रष्टाचार गर्नेलाई हाम्रो सरकारले संरक्षण गरिरहेको छ । अहिले शक्तिशाली मान्छेले जे–जस्तो गरेपनि छुट हुन्छ भन्ने मानसिकता बोकेको छ । अहिले सरकार प्रमुखले ‘म पनि भ्रष्टाचार गर्दिन भ्रष्टाचार गर्नेको मुख हेर्दिन’ भन्ने चर्चित भनाई भित्तामा टाँसेर केही हुनेवाला छैन । अहिले देखाउने नाराभन्दा अर्कोथोक केही पनि छैन । दुई चार हजार घुस लिने मान्छे अख्तियारको फन्दामा पर्छ जसले करोडौं अरबौ कमिशन माग्छ, राष्ट्र डुबाउने काम गर्छ नत कानुनले छुन्छ तिनलाई नत अख्तियारले नै । केही भइहाल्यो भने राजीनामा दियो नैतिकता देखाएर टन्टा खलास । मन्त्रीले कमिसन मागेपछि प्रधानमन्त्री भागिदार हुने कि नहुने नैतिक जिम्मेवारी कस्को ? त्यो कुरा स्पष्ट हुन जरुरी छ ।




