बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको भेडाबारी : सुन्तला खेतीबाट समृद्ध बन्दै

म्याग्दीको भेडाबारी : सुन्तला खेतीबाट समृद्ध बन्दै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०७६, बुधबार

म्याग्दी, १४ फागुन – पश्चिमबाट पुर्व फर्कीएको भिरालो पाखो । हल गोरु पनि मुस्किलले अटाउने स–साना फोहोटा । खेतीबाली लगाएर घरायसी उपभोगलाई समेत नपुग्ने । बाँदर लगायत जंगली जनावरले दिने दुःख । म्याग्दीको मंगला गाउँपालिका–३ मा पर्ने भेडाबारीबासीको दशक अघिको यो अवस्था अहिले फेरिएको छ ।
खाद्यान्नबालीको विकल्पमा ब्यवसायिक सुन्तला खेती गरेपछि भेडाबारीको परिचय मात्र नभएर त्यहाँका कृषकको अवस्था पनि फेरिएको छ । भेडाबारी सुन्तला गाउँको रुपमा स्थापित भएको छ । भेडाबारीमा बसोबास गर्ने २० घरधुरीले ब्यवसायीक सुन्तला खेती गरेर गाउँको परिचय फेरेका हुन् । त्यहाँका बासिन्दाले न्युनतम एक सय देखि पाँच सय बोटसम्म सुन्तला खेती गरेका छन् ।

भिरालो पाखोमा अवस्थित भेडाबारीका कृषकले यो वर्ष मात्र पन्ध्र लाख रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । ओम, बेम र प्रेम गिरी भेडाबारीमा धेरै सुन्तला खेती गर्ने कृषक हुनुहुन्छ । परम्परागत रुपमा गर्दै आएको कोदो र मकै बालीको विकल्पमा सुन्तला खेती गरेपछि आयस्रोत बढेको हो ।
पाँच मुरी कोदो फल्ने बारीमा सुन्तला खेती गरेर तीन लाख रुपैया सम्म आम्दानी भएको कृषक बेम गिरीले बताउनुभयो । उपयुक्त हावापानी र अनुकुल भुगोल भएकाले भेडाबारीमा सुन्तला खेती फस्टाएको अर्का कृषक ओम गिरीले बताए। सुन्तला खेतीमा नमुना बनाउने र कृषि पर्यटन प्रर्वद्धन गर्ने अभियानमा लागीएको अर्का कृषक प्रेम गिरीले बताउनुभयो । यहाँको सुन्तला पोखरा निकासी हुने गरेको छ । प्रतिकिलो पचास रुपैयाँका दरले सुन्तला बिक्री भएको छ ।

सुन्तला निकासी र आवत जावतका लागि गाउसम्म सडक विस्तार गरिएको स्थानीय शिक्षक गणेश गिरिले बताउनुभयो । भेडाबारीको पाखोबारीमा पुष माघमा लटरम्म फलेका फहेलपुर सुन्तलाले नेपालमा गर्न सकेमा सम्भावना छ भन्ने सन्देश दिन्छ । अगुवा कृषकहरुको सफलताबाट अरु पनि प्रेरित भएका छन् । उनिहरुले पनि सुन्तला खेति विस्तारमा जुटेका छन् । भेडाबारीमा अहिले एक हजार वटा उत्पादन दिने सुन्तलाका बिरुवा छन् । नयाँ बिरुवा थपिने क्रमसंगै बर्षेनी उत्पादन पनि बढेको छ ।
कृषकको आयआर्जन वृद्धीका लागि सुन्तला खेतीको राम्रो सम्भावना छ । बगैचाभित्र अदुवा र बेसार खेती गरेर अतिरिक्त आम्दानी पनि गरिरहेका छन् । गाउ नजिकैको खोल्साबाट पाइपमा पानी ल्याएर सिचाई गरेका छन् । नियमित सिचाई, खानेपानी र सडकको सहज सुबिधाका लागि भेडाबारीका कृषकले माग गरेका छन् । हाल भेडाबारीबाट सातबिसेसम्म गाडीमा ल्याएको सुन्तला म्याग्दी खोलामा पुल नभएकाले भरिया मार्फत तोराखेतमा तारेर त्यहाँबाट गाडीमा राखेर बजार पठाउने गरिएको छ ।

बाबियाचौर र अर्मन जोड्ने निर्माणाधिन पुल सम्पन्न भएपछि कृषकलाई सहज हुने अपेक्षा गरिएको छ । भेडाबारीलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत सुन्तला जोनमा समेटिएको छ । मंगला गाउपालिकाले रासायनिक मल र विषादीको प्रयोग घटाउन भेडाबारी लगायत पालिकाको सबै सुन्तला खेतिमा मानव मुत्रको प्रयोग गराउने अभियान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->