बागलुङ, २० फागुन– नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका व्यवसायी चन्द्र ढकालले तीन तहका सरकार र उद्योगी व्यवसायीको बिचमा पुलको काम गर्नको लागि आँफुले नेतृत्व दाबी गरेको बताएका छन् । व्यवसायी र सरकारका बिचमा रहेको शून्यताका कारण निजी क्षेत्र र सरकारबिच दुरी बढिरहेको भन्दै उनले आँफु नेतृत्वमा आए त्यसको अन्त्य गर्ने दाबी गरे ।
उद्योग बाणिज्य संघ बागलुङको ५६ औं साधारणसभालाई मंगलबार बागलुङ बजारमा सम्बोधन गर्दै ढकालले सरकारले निजी क्षेत्रसँग सरोकार राख्ने कानुनहरुको निर्माण गर्दा सम्बन्धित पक्षको राय लिनुपर्ने बताए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष जयराम भारी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्य, महिला उद्यम बिकास समितिका संयोजक भगवति केसी लगायतले बोलेका थिए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको स्वागत तथा अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नरेश कँडेलले गरेका थिए ।
पुरस्कार र सम्मान
संघले यस बर्ष बाणिज्य संकायतर्फ उत्कृष्ट (१०९४) अंक ल्याउने धौलागिरी बहुमुखी क्याम्पसकी कमला बिकलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । संघले स्थापना गरेको अक्षयकोषबाट प्राप्त व्याज रकमले हरेक बर्ष पुरस्कार दिँदै आएको छ । त्यस्तै उत्कृष्ट व्यवसायीतर्फ यसबर्ष शिव शंकर शाह, छविलाल पौडेल, रघुनाथ राजभण्डारी र सुजन लामिछानेलाई संघले सम्मान गरेको हो । कर्मचारीतर्फ युवक श्रेष्ठ, सुजन लामिछाने र सविन गौचन सम्मानित भए ।
विद्यालयलाई सहयोग
साधारणसभाको अवसरमा संघ र कालिका भगवती गुठीले अति विपन्न विद्यार्थीहरुले अध्ययन गर्ने बानपा–१२ अमलाचौरमा रहेको जगन्नाथ प्राविलाई स्टेशनरी, पोषाक र झोला सहयोग गरेका छन् । विद्यालयमा २८ जना विद्यार्थी अध्ययनरत छन् । संघका कोषाध्यक्ष श्रीजय श्रेष्ठले झोला, कालिका भगवती गुठीले स्टेशनरी र संघले पोषाक खरिदका लागि १५ हजार नगद प्रदान गरेको थियो । विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद शर्मालाई नगद तथा सामग्री हस्तान्तरण गरिएको हो । कार्यत्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष ढकालले पनि उक्त विद्यालयलाई ५० हजार नगद सहयोग गर्ने घोषणा गरेका थिए ।
हेर्नुस भिडियो…





