मेरो पुनर्नियुक्तिको अवसरमा म सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु ।
मेरो राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल सकिएका कारण मन्त्री पदबाट राजीनामा दिएको थिएँ । अहिले मेरो पार्टी नेपाल कम्युनिस्ट पार्टी, नेपाल सरकार र प्रधानमन्त्रीज्यूले मलाई विश्वास गरेर पुनर्नियुक्ति गर्नुभएको छ, पुरानै जिम्मेवारीमा बहाल गराउनुभएको छ । त्यसको लागि आभार छु ।
सञ्चारकर्मी साथीहरूसँग म मिलेर काम गर्दै आएकै हुँ । अब काम गर्दा तपाईंहरूका सकारात्मक आलोचना, सुझाव तथा मुलुकले गर्नुपर्ने काममा तपाईंहरूले औंल्याउनुभएका विषयमा सँगै बसेर काम गर्छु ।
म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा पनि छु । त्यसो भएका कारण मेरो जिम्मेवारी तपाईंहरूबारे पनि छ ।
तपाईंहरूसँग नियमित भेटवार्ता हुने नै छ । तत्कालको लागि मन्त्रालयको केही ब्रिफिङ छ । सञ्चारकर्मीसँग केही प्रश्न भए राखिदिनुहोला ।प्रश्न : तपाईंको दोस्रो कार्यकाल कहिलेसम्म रहनेछ ? दोस्रो इनिङमा केकस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
मेरो नियमित काम नै हो । कार्यकाल अवधीको विषयमा सुरुकै दिन मै धेरै सोधिँदैन । पहिलो दिन नै के दिनको हिसाब गर्नु ?
बजेट निर्माण, आर्थिक नीति अघि बढाउने नै मेरो प्राथमिकता हुनेछ ।
खासगरी विकास, सुशासन, न्याय र समानताको पक्षको लडाईं लड्ने म एउटा योद्धा हुँ ।
योद्धा लडाईंमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेला कमान्डरले फिर्ता आऊ भन्दैन वा युद्ध जित्दैन ।
मेरो कार्यकाल पनि त्यही हो । जबसम्म युद्ध जितिँदैन वा कमान्डरले फिर्ता बोलाउँदैन, तबसम्म मुलुकको गरिबी, अभाव, रोग, भोक, शोक, असमानता र अन्यायका विरुद्धमा लडिरहने हो ।
यसको कुनै समय सीमा हुँदैन ।
दोस्रो कुरा, पछिल्लो समय अर्थतन्त्रमा स्वभाविक रुपमा चुनौती थपिएका छन् । हामी सबैले बुझेकै छौं ।
विश्वव्यापी रुपमा कोभिड–१९ का कारण कति आर्थिक क्षति भयो भन्ने कुराको आँकलन भइसकेको छैन ।
अहिले जे देखिइरहेको छ, त्योभन्दा बढी असर भोलि देखिन सक्छ ।
आज कच्चा पदार्थ उत्पादन नहुँदा वा मध्ववर्ती सामाग्री (इन्टरमेडियरी गुड्स) नहुँदा, आपूर्ति हुने गरेको वस्तु उत्पादन नहुँदा भोलिको आपूर्ति व्यवस्था तथा सञ्जाल, उत्पादन तथा उपभोक्ताले सर्वसुलभ वस्तु र सेवा पाउने कुरालाई प्रभावित पार्न सक्छ ।
नेपालको अन्तर्राष्ट्रिय आवद्धताका कारणले कतिपय वस्तु तथा सेवा अन्तर्राष्ट्रिय बजारसँग जोडिएका छन् । त्यसो कारणले पनि चुनौती थपिएको छ ।
तर, उपप्रधानमन्त्रीज्यूको संयोजकत्वमा कोभिड– १९ लाई रोकथाम तथा नियन्त्रण गर्ने समितिले काम गरिरहेकै छ । तर, केही प्रारम्भीक संकेतले हामीलाई प्रतिकुल असर पर्छ कि भन्ने बुझ्न सकिन्छ ।
निर्माण अहिले असर देखिएको छ, आपूर्तिमा केही देखिन्छ ।
छिमेकी मुलुकमा पनि त्यसको प्रभाव देखिरहँदा अहिले सबै मिलेर, चाहे सरकार, चाहे प्रतिपक्ष, नागरिक समाज, प्रेस सबै मिलेर साझा चुनौतीलाई सामना गरौं । त्यो बीचमा हाम्रा नियमित काम पनि गर्दै जाऔं ।
हामीले आर्थिक विकासका लागि बजेट कार्यान्वयनदेखि अर्को आवको बजेट तयारीसम्मका काम छन्, हामी कार्यान्वयन गर्ने तहमा तपाईंहरूसँग बसेर छलफल र बहस गर्ने छौं ।
प्रश्न : हिजोसम्म पुरानो कार्यकाल थियो, आज दोस्रो सुरु हुँदैछ । तपाईंका के कस्ता प्रतिवद्धता पुरा भए ? ‘मैले यो गर्न बाँकी छ’ भन्ने केही छ ?
आज समीक्षा गर्ने बेला भएको छैन । आज म बहाल हुँदैछु । अर्कोदिन समीक्षा गरौंला ।
(नवनियुक्त अर्थमन्त्री युवराज खतिवडा बुधबार कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै)





