पोखरा, २४ फागुन – पहिचान हुन नसकेको रोगले कफीका वोट र नर्सरीका विरुवा मर्न थालेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । कफी ब्यवसायमा लागेका गण्डकी प्रदेशका ९ जिल्लाका सवै किसानहरुलाई एउटै समस्याले पिरोलेको छ । सुरुमा पात झर्ने र विस्तारै वोट र विरुवा सवै मर्ने गरेपछि यहाँका किसान चिन्तित भएका हुन् । यस प्रदेशका मनाङ र मुस्ताङ बाहेका सवै जिल्लामा कफी खेती हुने गरेको छ ।
कफी ब्यवसायी एवं कास्की कफी सहकारी संघका अध्यक्ष आनान्द सुवेदीले कफी ब्यवसायीलाई पहिचान हुन नसकेको यो रोगले गम्भिर समस्या सिर्जना भएको वताए । कफीको हाँगाको टुप्पोबाट सुकेर मर्दै जाने र पुरै वोट नै सुकेर मर्ने गरेको वताए । प्रदेशका सवै किसानहरु यो रोगबाट मारमा परेका छन ।
पर्वतका कफी ब्यवसायी एवं कफी संघका केन्द्रिय उपाध्यक्ष भवानी शर्माले उत्पादन दिने वोट नै मर्ने र नर्सरीमा उत्पादन गरेका विरुवा पनि सुक्न थालेकाले किसानहरुलाई ठूलो नोक्सान भएको वताए । ‘अव किसानहरु यो ब्यवसाय गर्ने अवस्थामा नै छैनन’्, शर्माले भने, ‘राज्यले राहतको ब्यवस्था नगर्ने हो भने देशबाट ठूलो मात्रामा निर्यात हुने कफीबाट किसानहरुले हात झिक्नुपर्ने अवस्था आएको छ ।’
कफीका वोटमा पातका नसाहरु सुक्ने, पातमा खैरा थोप्लाहरु देखापर्ने र बोट नै पूर्णरुपमा डढ्ने समस्या मुख्य छ । कतिपय वोटहरु टुप्पोबाट पातहरु पूर्णरुपमा झरी कालो हुने र हाँगा सुकी मर्ने समस्या रहेको केन्द्रिय उपाध्यक्ष शर्माले वताए । नर्सरीमा उत्पादन गरिएका विरुवाहरुको पनि पात झर्ने र मर्दै जाने गरेकाले सवै नर्सरी खाली हुने अवस्थामा छन् । कफी ब्यवसायी लमजुङकी गंगा अधिकारीले समस्याको समाधान हुन नसक्दा किसानहरु यो पेशाबाटै विस्थापित हुनुपर्ने अवस्था आएको दुखेसो पोखिन ।
प्रदेशमा छ करोड बढिको नोक्सानी
अज्ञात रोगका कारण विरुवाहरु मर्न थालेपछि प्रदेशमा छ करोड भन्दा बढिको नोक्सानी भएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षेत्रिय कार्यालय पोखराका निमित्त प्रमुख चन्द्र पुरीका अनुसार प्रदेशका सवै जिल्लाका कफी वगान र नर्सरीका विरुवाको नोक्सानी ६ करोड भन्दा बढि रहेको छ । कास्की, गोरखा, बागलुङ, म्याग्दी, पर्वत, लमजुङ, स्याङजा, तनहुँ र नवलपुर गरी ९ जिल्लाका वगानको क्षति ५ करोड २३ लाख र नवलपुर बाहेक ८ जिल्लाका कफी नर्सरीको क्षति ९७ लाख भन्दा बढि छ । यति ठूलो मात्रामा क्षति भएपछि पेशा छाड्नपर्ने वाध्यतामा किसानहरु रहेका छन् ।
राहतको ब्यवस्था गरिन्छ ः सचिव ढकाल
गण्डकी प्रदेशका भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत प्रसाद ढकालले सरकारले निर्यातमुखी उत्पादनलाई जोड दिएको वताउदै कफी ब्यवसायीहरुलाई प्रदेश सरकारले राहतको ब्यवस्था गर्ने वताए । ‘क्षतिपूर्तिभन्दा पनि राहतको ब्यवस्था गरिनेछ, यसका लागि कार्यविधि र नियम कानुनमा टेकेर निर्णय हुन्छ ।’ सचिव ढकालले भने, ‘राहत दिने ब्यवस्था छ, नोक्सानलाई हेरेर सोही अनुसार राहतको ब्यवस्था गर्दछौ ।’ पेशाबाट विस्थापित हुने होइन, रिसर्च गरेर अगाडि बढ्नु पर्दछ ।’





