‘काम गर्छु’ भन्ने बिश्वास भए गरेर देखाउन सकिदोरहेछ । केपी ओली नेतृत्व सरकारका मन्त्री फेरिएपछि काम गर्ने शैलीमा पनि परिवर्तन आएको छ । काठमाडौं उपत्यकाका धेरै सडकखण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ । काठमाडौंमा मात्र पाँच दिनमा डबललेनमा झण्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ । हिजो बिदेशी पाहुना आउँदा गरिने रातारातको कामलाई यतिबेला फेरि निरन्तरता दिएपछि भने काममा परिवर्तन देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो । हिजोका दिनमा राजधानीका सडकको खाल्डाखुल्डी पुर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अबस्था थियो तर पनि ठेकेदारले काम गर्दैन थिऐ । गृहमन्त्रीले भन्दा समेत ठेकेदार गल्दैन थिए । अहिले सरकारले कडीकडाउ गरेपछि भने बल्ल कामले नतिजा देखाएको छ । दिउँसो काम गर्नुभन्दा रातारात काम गर्नु बुद्धिमानी देखिएको छ । किनभने दिउँसो जताततै सवारीसाधन, हजारौं मान्छेको आवातजावतले गर्दा काम गर्न कठिनाई हुने गर्छ, अहिले रातारात काम भएको छ । बिहान हेर्दा सडक चिल्लो भएको देखेपछि चमत्कार साबित भएको छ । मन्त्री नेवाङको जोसजाँगर अझै ३ बर्षसम्म यसरी नै रह्यो भने बल्ल बिकास भएको अनुभुति जनताले पाउने छन् ।
कोरोना भाइरसको आतंक
साच्चै भन्ने हो भने नेपालीलाई पशुपतिनाथले रक्षा गरिरहेको कुरा निश्चित हो । अहिले जताततै कोरोना भाइरसले नागरिकको मृत्युु भइरहेको बेला नेपालमा भने यसको खासै प्रभाव परेको छैन । चीनबाट सुरु भएको कोरोना भाइरसले अहिले विश्वका ९० मुलुकमा प्रभाव देखाइसकेको छ । विदेशी आवागमन प्रभावित भएको छ । सबै मुलुकले विदेशबाट भित्रिने विदेशी पर्यटकलाई कडाई गरेका छन् । अन्तराष्ट्रिय उडान प्रभावित बनेपछि ठूलो आर्थिक नोक्सानी हुन थालेको छ । जोखिम मोलेर विदेश यात्रा गरेकाहरु पनि समस्यामा परेका छन् । नेपालबाट वैदेशिक रोजगारीका लागि पोर्चुगल हिँडेका ३ नेपालीलाई कोरोनाको लक्षण देखिएपछि फ्रान्समा रोकिएको थियोे । ज्वरो आउने र अन्य लक्षण देखिएपछि फ्रान्समा रोकेर स्वास्थ्य परिक्षण गरिएको थियोे । चीनबाट उत्पन्न भएको कोरोना भाइरस दक्षिण कोरियामा थप ५१८ जना नयाँ संक्रमित फेला परेको तथ्यांक सार्वजनिक भएको छ । अहिले चीनभन्दा दक्षिण कोरिया र इरानमा प्रभावितको संख्या बढेको देखिन्छ । अहिले दक्षिण कोरियामा कूल संक्रमितको संख्या ६ हजार २८४ जना पुगेको छभने ४३ जनाको निधन भइसकेको पुष्टि त्यहाँको संचारमाध्यमले जनाएको छ ।
नेपाल चीनको छिमेकी देश भएकोले यहाँ कोरोनाको उच्च जोखिममा रहेको बिश्व स्वास्थ संगठनले सुचित गरेपनि नेपालमा अहिलेसम्म कोरोनाको बिरामी देखा परेको भने छैन । नेपालमा जतिसुकै बेला पनि कोरोना देखा पर्न सक्छ भनेर सरकारले प्रत्येक जिल्ला अस्पतालमा आइसोलेसन वार्ड निर्माण गर्न निर्देशन दिएपछि धमाधम त्यसको तयारी गरेपनि खासै उपलब्धि भने देखिदैन । अहिले जसरी बिदेशमा महामारीको रूपमा फैलिएको छ, यसरी नै नेपालमा फैलिएको खण्डमा हजारौं नेपालीले ज्यान गुमाउने निश्चित छ । कोरोना भाइरसबाट बच्न बाहिर हिडडुल नगर्न, माक्स प्रयोग गर्न डाक्टरले सल्लाह सुझाव दिएपछि बजारमा माक्सको कालो धन्दा सुरू भएको देखिन्छ । बजारमा भएको माक्स ब्यापारीले लुकाएर कृत्रिम अभाव सृजना गरेर कालोबजारी गरिरहेको भन्दै हरेक दिन सरकारले जिल्ला जिल्लामा कार्वाही गर्दै जरिवाना गरिरहेको छ ।
कोरोना संक्रमण भित्रिन नदिन नेपाल सरकारले सीमा नाका, विमानस्थललगायत भाइरस भित्रिन सक्ने स्थानमा स्वास्थ्य जाँचलगायत सतर्कता अपनाएको छ । नेपालका धेरै जनालाई कोरोना संक्रमण आशंका गरिए पनि अहिलेसम्म कसैमा संक्रमण पाइएको छैन । संक्रमण आशंका गरिएका व्यक्तिलाई टेकु अस्पताल भर्ना गरी रगत तथा ¥याल परीक्षण समेत गरिएको छ । यसअघि कोरोनाको परीक्षण गर्न नमुना विदेश नै लैजानुपर्ने बाध्यता थियो । विश्वका विकसित एवं शक्तिशाली राष्ट्रलाई समेत कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न निकै मुस्किल परिरहेका बेला कसैगरी नेपालजस्तो अल्पविकसित एवं स्वास्थ्य सुविधा कमजोर रहेको देशमा यो संक्रमण फैलियो भने ठूलो क्षति हुने अनुमान गरिएको छ । यतिबेला सबै मिलेर यसको रोकथाम गर्नुनै सबैभन्दा ठूलो बुद्धिमानी हुनेछ । नेपालमा अहिलेसम्म रोग नदेखिनु सुखद पक्ष हो तर हामी सबै सतर्क रहन जरुरी छ ।
कृत्रिम अभाव ः लुटको धन्दा
यतिबेला देशमा कोरोना भाइरस फैलिने हल्ला चलेपछि बजारमा दैनिकी उपभोग्य बस्तुको कृत्रिम अभाव हुन थालेको छ । मान्छे यतिबेला कतिबेला मरिने हो कोरोना लागि भनेर त्रसित भएको बेला केही ब्यापारीहरूले यहीँ बेला लुटको धन्दा मच्चाउन ब्यस्त देखिदैछन् । साँच्चै आम नेपाली उपभोक्ता समेत भोलीका दिनलाई नुनतेल, चामलदाल र ग्यास आदिको जोहो गर्न थालेपछि ब्यापारीले भाउ बढाउन थालेका छन् । प्रशासनले बजार अनुगमन गर्न नसक्दा झन् महंगीको मारमा आम उपभोक्ता परेका छन् । सरकारले जतिसुकै बजारमा दैनिक उपभोग्य बस्तु अभाव छैन भनेर प्रचारप्रसार गरेपनि त्यो मात्रै नारा साबित भएको छ । अहिले देशमा तीन तहको सरकार बनेको छ, बजार नियन्त्रणदेखि अनुगमन राम्रोसँग गर्ने हो भने कृत्रिम अभावलाई न्युनिकरण गरेर जान सकिन्छ ।




