बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अस्तित्वको लडाईँबीच नेकपाको अभियान

अस्तित्वको लडाईँबीच नेकपाको अभियान


  • सज्जन कुमार सिँह
  • चैत्र ४ २०७६, मंगलबार

एफएम रेडियोमा लामो समयदेखि एउटा विज्ञापन अनवरत रुपमा सुनिदै आएको छ । महिलालाई गर्भको जोखिम कम गर्न तिन महिने संगिनी सुई लगाउने । एक पटक लगाए तिन महिनासम्म ढुक्क । संगिनी सुई जस्तै नेकपाले पनि पार्टिभित्रको किचलो र पार्टि एकता, सुदृढिकरणको लागि तिन महिने अभियान सुरु गरेको छ । यो तिन महिने अभियानलाई पार्टि एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान नाम दिइएको छ । नाममा के छ यार ! नाम जे दिएपनि यसको मुख्य उद्धेश्य चाहिँ पार्टिलाई सशक्त बनाउने नै हो ।
(नेकपा) केन्द्रिय कमिटिबाटै केन्द्रदेखि स्थानीय नेता कार्यकर्तालाई विभिन्न आचारसँहिता सार्वजनिक गरियो । ति बुँदाहरुमा आफ्ना परिवारका सदस्यलाई पनि तपाई भन्ने, आफ्नो जीवनशैलीलाई सरल र सहज बनाउने । विवाह, ब्रतबन्ध लगायतका क्रियाकलापमा तडकभडक नगर्ने आदि लामा बुँदाहरु थिए । तर, केन्द्रिय निर्णयलाई स्वयम् केन्द्रिय नेता र मन्त्रीहरुले नै मजाक बनाएका घटनाहरु एकपछि अर्काे गर्दै रिलिज भए । नेताहरु साँस्कृतिक रुपमा विचलित हुँदै गएका छन् । मानौँ, कम्युनिष्ट नेताहरु पुर्ण धार्मिक गुरुजस्ता भएका छन् । उनीहरुको बानी, व्यवहार र उठबस पनि राजामहाराजाको शैलीमा हुँदै गएको छ । नेताहरु तरुनी, मदिरा र गलत मान्छेका गोटी बन्दै गएका घटना एपिसोडका रुपमा आउँदै छन् । कम्युनिष्ट नेता, कार्यकर्ताहरु आफ्ना नातीनतिनाको भात खुवाई पनि पार्टि प्यालेसमा लाखौँ खर्च गरेर नेकपाकै सँहितालाई बन्चरो हान्न उद्वत छन् ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री खड्का प्रसाद ओलीले भ्रष्टचारीको अनुहार नै हेर्दिन भन्ने अभिव्यक्ति दिन छुटाएका छैनन् । तर, उहाँकै मन्त्रीमण्डलका अति विश्वास पात्रहरु भ्रष्टचार र गलत सम्बन्धको मेघाजालमा जेलिएर प्रधानमन्त्रीको अभिव्यक्तिको धज्जी उडाएका छन् । लाग्छ, आफ्नै विश्वास पात्रहरुको यो गलत कदमले प्रधानमन्त्रीका चर्का आवाजलाई मधुर बनाईदिएको छ । तिन तहमै नेकपाको दरिलो सरकार भएपनि नेपालमा भ्रष्टचार बढ्दै गएको भन्ने गुनासो सुनिदै आएको छ, ती केही सत्य छन् र केही विरोधका लागि भएका छन् । पार्टि र सरकारले समृद्धिका लागि सुन्दर नारा कुँदेको छ तर केही मन्त्री र नेताहरु चाहिँ ती नाराहरुलाई धमिल्याउदै, बिगार्ने काममा पनि लागेका छन् । जसको कारण समृद्ध नेपालको सुन्दर कल्पनाहरु एकाएक धराशायी बन्दै गएकाबारे टिप्पणी हुँदै आएको छ । सरकार तथा स्थानीय निकायको दुई बर्षे कार्यकालले त्यति राम्रो सँकेत गर्दैन ।
नेकपाबाट देश बनाउन स्थानीय तहमा पुगेका प्रतिनिधीहरुप्रति पनि पार्टि तथा नागरिकमा गुनासो चुलिदै गएको छ । प्रतिनिधीहरु सुविधाभोगी बन्दै गएको, सलामी, गुलामी, सम्मान र माला खादाप्रेमी बन्दै गएकोप्रति पनि पार्टि चिन्ताको भुमरीमा परेको छ । दुई पार्टि एकतापछि नेता कार्यकर्तामा एकअर्काको अस्तित्व स्वीकार्न कठिन परेको छ । दुई बाघहरुमा को ठुलो भन्ने घमण्डले एकताको गहिरो मर्म धरातलमा आएको छ । केन्द्रमा समेत प्रचण्ड एउटा शिराबाट अघि बढ्ने र पार्टि सचिवालयले गरेको निर्णयलाई अर्का अध्यक्ष तथा प्रम ओलीले अस्वीकार गर्ने जस्ता विमतीका बीच अस्तित्वको जुँगा तानतान हुँदै आएका छन् । यसको तरँगले सिँगो पार्टि समेत तरँगित भएको छ । पुर्व एमाले र पुर्व माओवादी बिचको अहंम्ताको गानोगोला तुसको रुपमा झाँगिदै गएको छ । संयोजनपछि केन्द्रदेखि स्थानीय तहसम्म जिम्मेवारी नपाएका नेता कार्यकर्तामा प्रतिशोधको लुतोले ढाक्दै गएको छ । धेरै स्थानीय टोलहरुमा पार्टि कमिटी प्यारालाइसिस लाएजस्तै निष्क्रिय छ । पार्टि सदस्यता लगायतको समस्या अझै छ । कार्यकर्ताहरु कुहिरोभित्रका काग जस्ता भएका छन् ।
सरकार तथा स्थानीय जनप्रतिनिधीले गरेका धेरै राम्रा विकास र परिवर्तनका कामभन्दा बढि नकरात्मक प्रचार भएको छ । सरकारले गरेका जनप्रिय कामहरुलाई पार्टि र कार्यकर्ताले नागरिकसमक्ष पुराउन सकेनन् भन्ने गुनासो सरकार संचालकहरुको छ । त्यस्तै, पुराना सरकारहरुले गरेका गलत कामहरुलाई यहिँ सरकारसँग टाँसी दिएर सरकार, पार्टिको बदनाम गर्दै विपक्षीहरुले जनतामा भ्रम सिर्जना गर्ने काम गरेको पनि नेताहरुको गुनासो छ । स्थानीय प्रतिनिधी र पार्टि पनि भैसी र जोगी जस्ता बनेका छन् । एकले अर्कालाई देख्दा तर्सने । दुई बर्षे कार्यकालमा भएका राम्रा, गलत कामको समिक्षा तथा अब आउने आर्थिक बर्षमा लिइने निती तथा कार्यक्रममा पार्टिको तल्लो तलहदेखि सुझाव संकलन गरिनुपर्ने अपेक्षा छ ।
अहिले विश्व कोरोना भाइरसको चेपेटामा परेको छ । यो परिस्थितीमा सिँगो पार्टिसँगै सरकारलाई यसको चुनौती थपिएको छ । स्थानीय प्रतिनिधी, नेता कार्यकर्ता, मन्त्रि, प्रधानमन्त्री सबैको एकैखाले लय र हिडाई, एउटै प्रतिबद्धताले मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्न सकिन्छ भन्ने पार्टिले निस्कर्ष निकालेको छ । यहिँ सपनाका जगलाई दरिलो पार्ने एउटा अस्त्र यो तिन महिने अभियान हो । नेता, कार्यकर्ता, जनप्रतिनिधीलाई पार्टिको नीति र सिद्धान्तलाई अक्षरस पालन गर्न, आपसी मनमुटावको खाल्डो पुर्न, भ्रष्टचार र अनियमितता कम गर्न, कोरोना भाइरसविरुद्ध लड्न तथा पार्टिका सबै अंगहरुलाई स्फुर्तः रुपमा सन्चालन गर्न, पार्टि र जनप्रतिनिधीबीच विकासमा सल्लाह सहकार्य गर्न, नेकपाको सरकारलाई सफल पार्दै समृद्ध नेपालको सपना साकार पार्ने यो तिन महिने अभियानले लक्ष्य राखेको छ । पार्टिले यो अभियानलाई प्रत्येक बस्ती–बस्तीमा पुराएर आम नागरिकको विश्वास र माया पाउँदै अझै केहि बर्ष नेकपाले नै सत्ता चलाउने वाताबरण बनाउन, अब आउने चुनावमा पनि सानदार जित हासिल गर्न अभियान सफल बन्न यो तिन महिने अभियानको सुई नेता, कार्यकर्ता र प्रतिनिधीको दिमागमा प्रभावकारी बन्न सकोस् । नागरिकमा बाँडिएका सपनाहरु परलय नहुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->