बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जागिर नपाएपछि लेखक !

जागिर नपाएपछि लेखक !


  • सुविन भट्टराई
  • चैत्र ४ २०७६, मंगलबार

‘म जागिर खानको लागि जन्मिएकै होइन रैछ,’ लेखक सुविन भट्टराईले आफ्नो विगत सुनाए । केही समयअघि पोखरामा आयोजना भएको ‘आइएमई नेपाल लिट्रेचर फेस्टिभल’मा भेटिएका थिए,उनी । मास्टर्स डिग्री सकिइ सकेपछि कामको लागि कति ठाउँमा एप्लाई गरे । तर, उनले कतै काम पाएनन् । जागिरको लायक कसैले सम्झेनन् ।उनलाई । जागिर नपाएरै लेखक बनेका हुन् रे, सुविन !
पढाई सकेर जागिर नपाउनु जत्तिको भयावह अवस्था अरु के हुनसक्ला र ? कसैले पनि जागिरको लायक नसम्झिएपछि खालि समयमा सुविनले कथा लेख्न सुरु गरे । लेखेका कथाको फाइल बनाएर किताबको स्वरुपमा ढाले । र, प्रकाशन गरे कथा संग्रह ‘कथाकी पात्र’ ।
‘सायद, जागिर खानको लागि म नालायक नै थिएँ,’ त्यो बेलामा जागिर नपाएर दुःखी बनेका सुविन अहिले खुसी हुँदै सुनाउँछन्, ‘जागिर नहुनले एकदमै राम्रो काम ग¥यो, मलाई । जागिर भएको भए, १०–५ को समयमा अल्मलिएर, एकदमै निराशा, कुण्ठा, दिक्दारी पालेर बस्थेहोला !’
अहिले सुविन स्वतन्त्र छन् । आकाशमा कावा खाँदै उड्ने प्याराग्लाइडिङजस्तै उन्मुक्त छन् । उनमा कति पनि कुण्ठा छैन । कुण्ठा भइहाले पनि शब्दामा पोख्न सक्छन् । जागिर नपाउनाले राम्रै काम गरे जस्तो लागेको छ रे, उनलाई । युवापुस्तामाँझ चर्चित उपन्यास ‘समर लभ’ सहित ५ कृति प्रकाशित भइसकेका छन् उनका । फुलटाइम लेखनमा व्यस्त सुविन नयाँ किताबको तयारीमा छन् ।
‘के आउँछ, कस्तो आउँछ भनेर चाही नसोधौं । भर्खर बन्दैछ,’ सुविनले बठ्याईँ खेलिहाले, ‘पुनर्लेखनको काम हुँदैछ । पछि त्यस्को स्वरुप परिवर्तन हुन पनि सक्छ । पाठकलाई ठग्यो भन्ने लाग्ला । सामाजिक विषयबस्तुमाथि युवा पुस्तालाई टार्गेट गरेर नयाँ किताब लेखिरहेको छुँ ।’ उसो त, सुविनका प्रकाशित कृतिहरु युवा पुस्तालाई नै केन्द्रमा राखेर लेखिएका छन् । युवा पाठकहरुलाई सुविन विश्वास पनि गर्छन् । यसको मतलब यो होइन कि, अर्को पुस्ताले किताबै पढ्दैनन् । युवाहरुमा रिडिङ इनर्जी पनि हुने भएकाले युवा पाठकहरुमाथि विश्वास बढेको रे, उनलाई । आफूपनि युवा नै भएको हुनाले युवा पुस्ता केन्द्रित किताब लेख्दै आएको बताउँछन्, सुविन । ‘म पनि युवा नै भएको हुनाले, उनीहरुको मनलाई छुनसक्छु, कतै न कतै भेटाउन सक्छु भनेर नै युवा पुस्ता टार्गेट गरेर किताब लेख्दै आएको छु,’ उनी भन्छन् ।
सुविन युवा पुस्ता केन्द्रित गरेर पुस्तक लेख्छन् । युवा पुस्ता बाहेकको पुस्तक लेख्न नसक्ने आरोप पनि छ,सुविनमाथि । यही प्रश्न सुविनलाई सोध्दा सुविन अरु विषयमा पनि लेख्दै गरेको सुनाए । सबै विधामा कलम चलाउछन् । केही समयपछि अरु विषयमा पनि किताब पढ्न पाइन्छ रे, उनको । ‘भर्खर लेखनमा बामे सर्दैछुँ । सिक्दैछु । पहिला सिक्नु प¥यो । अनुभव हुनुप¥यो । लामो समय हुनुप¥यो । पढ्नुप¥यो । त्यसपछि आइहाल्छ ।’

अहिले सुविन नेपालकै टप ‘बेस्ट सेलर राइटर’को रुपमा दरिएका छन् । उनलाई नै ‘आइडल’ बनाएर लेखनमा आउन चाहने नयाँ पुस्ता पनि उत्तिकै छन् । लेख्न कसरी सुरु गर्ने होला ? लेखी सकेपछि कसरी प्रकाशन गर्ने ? जिज्ञासा पनि पोखिरहेका हुन्छन् । लेखनीमा आउँदा ‘बेस्ट सेलर राइटर’ बन्छु भनेर आएका थिएनन् रे, सुविन । थोरै भए पनि पाठकको मन जितौँ भनेर आएका थिए रे । ‘बेस्ट सेलर राइटर बन्ने कुनै शुत्र छैनन् । तपाईंले राम्रो लेख्ने हो । धेरै पाठकको मनमा बस्न सरल मार्ग पछ्याउने हो,’ उनी भन्छन्, ‘सबैलाई कनेक्ट गर्न सक्ने विषयबस्तुमाथि लेख्ने हो । यसरी नै कोही लेखक सफल हुन्छ ।’
सानैदेखि कथा, कविता कोर्न सुरु गरेका सुविन मास्टर्स डिग्री सकेपछि फुलटाइम लेखक बने । एउटा किताब आयो । पाठकहरुले रुचाइदिए । राम्रै समीक्षा पनि भयो । तब पो प्रेरणा मिल्यो । अर्को किताब पनि लेखे । फुलटाइम लेखक बने । अहिले लेखेरै जिविका चलाइरहेका छन् ।
लेखकै बन्छु भन्ने सपना नदेखेका सुविनलाई अहिले त लेख्नको लागि नै बनेको जस्तो लाग्छ रे । ‘मेरो बाल्यकालका दिनहरु सम्झिँदा पनि महशुस हुन्छ,त्यही अनुसार मेरो हुर्काइ, बढाई पनि भयो । मेरो बनौट नै लेखक हुनको लागि भए जस्तो लाग्छ,’ उनी भन्छन्, ‘संसारमा म किन छु भनेर लेख्नकै लागि छुजस्तो लाग्छ ।’ लगभग ३ महिनामा त किताबको पहिलो ड्राफ्ट तयार पारिसक्छन्, उनी । पहिला लेखनको खाका तयार पार्छन् । अनि लेख्न बस्छन् । त्यसलाई पुनर्लेखन गर्न त वर्षैभरि लाग्दो रहेछ । ‘ग्याप हुन्छ, आराम गरिन्छ । तुरुन्तै काम गर्न मन लाग्दैन । पुनर्लेखन गर्दा पनि कतिपय कुरामा चित्त बुझेको हुँदैन,’ उनी भन्छन्, ‘कहिलेकाहिँ लेख्दालेख्दै रद्दि भैदिन्छ । दोहो¥याएर लेख्यो । पटक–पटक लेखिन्छ ।’ लेखनमा आउन चाहने नयाँ पुस्तालाई हतार गरेर लेखनमा नआउन सुझाउँछन्,सुविन । लेखिहाले पनि प्रकाशन गर्न हतार नगर्न सुझाउँछन्, उनी । परबाट लेखकको चार्म देखेर किताब प्रकाशन गर्ने होडमा लाग्न नहुने उनको सुझाव छ । ‘लेखन भनेको विशुद्ध साधना हो । धेरैभन्दा धेरै पढ्नु पर्छ,’ उनी भन्छन् ।
लेखक बनि सकेपछि कतिले सुविनलाई कतिले भेट्न अफर गर्छन् । कहिलेकाहिँ बाटोमै पनि भेटिन्छन् । अस्पतालको शैय्यामा, सरकारी कार्यालय जाँदा कामको थकान बिर्सेर उनलाई देखिसकेपछि कर्मचारीहरु मुस्कुराउँछन् रे! उनी पनि भेटमा पाठकसँग मुस्कान साटासाट गर्छन् । पाठकसँग यसरी भेट भएर मुस्कुराउन पाए उनकोे दिन नै राम्रो हुन्छ रे । ‘बनेको पनि छ । एकदम उर्जा मिल्छ । पब्लिक ठाउँमा जाँदा कोही न कोही भेटिइ रहनुहुन्छ । फोटो खिचौंँ भन्नुहुन्छ,’ उनी सुनाउँछन्, ‘सायद, मैले राम्रो लेखेर नै उहाँहरुलाई छोए होला भन्ने लाग्छ ।’ प्रेम कथालाई मिहिन तरिकाले उन्न माहिर सुविनको उपन्यास ‘समर लभ’माथि फिल्म पनि बन्यो । तर, किताबले जति चर्चा फिल्मले पाएन । फिल्म युनिटको अडानले गर्दा भने जस्तो फिल्म बन्न नसकेको सुविनको दाबी छ ।

प्रस्तुति : श्याम राना मगर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->