जोमसोम, १० चैत – धार्मिक र पर्यटकीय रुपमा प्रख्यात रहेको हिमालपारिको जिल्ला मुस्ताङमा रहेका बिभिन्न धार्मिक स्थलहरुलाई अर्को सूचना जारी नहुने बेलासम्मको लागि अनिश्चितकालिन बन्द गरिएको छ । हिन्दुहरूको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर, बौद्ध गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाटलाई मङ्गलवारदेखि अनिश्चित कालका लागि बन्द गरिएको हो ।
मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने नेपाली र भारतीय धार्मिक पर्यटकहरूको सङ्ख्यामा कमी नआउँदा कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्ने देखिएकोले सर्वपक्षीय बैठकबाट अनिश्चित कालका लागि धार्मिक स्थलहरू बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।
‘२५ जनाभन्दा बढीको समूहमा नहिँड्ने भनेर सरकारले नै बताइरहेको छ तर हामीहरू अनुगमनमा जाँदा कागबेनी घाट, मुक्तिनाथ मन्दिर र बौद्ध गुम्बाहरूमा भिडभाड देख्यौँ ।’ उनले भने, ‘मुक्तिनाथ मन्दिर र कागबेनी घाटमा भारतीय तीर्थालुहरुको उपस्थिति बाक्लो थियो। यही कारण बन्द गर्नुपरेको हो ।’ मुक्तिनाथ परिसरमा रहेका होटेल व्यवसायी तथा कागबेनी धर्मशालामा बस्दै आएका गुरुहरूले पनि भारतीय पर्यटकहरु आइरहँदा कोरोना सङ्क्रमणको उच्च जोखिम रहेकोले आपूmहरुलाई मन्दिर गराइदिन अनुरोध गरेको प्रजिअ अर्यालको भनाई छ ।
बाह्रगुङ मुक्तिनाथ गाउँपालिका १ मा रहेको मुक्तिनाथ मन्दिर र त्यहाँबाट १० किलोमिटर तल रहेको कागबेनी घाटमा नेपाली सहित भारतीय धार्मिक पर्यटकहरु धेरै पुग्ने गरेका छन् । औँसी तिथिमा दिवङ्गत भएकाहरूलाई पिण्ड दान गर्नका लागि कागबेनी घाट पुग्ने हिन्दु धर्मावलम्बीहरूको सङ्ख्या धेरै छ । औँसी तिथि नजिकिँदै गएकोले घाटमा पिण्ड दान गर्न जानेहरूको सङ्ख्या झनै बढ्न सक्ने आकलन गरेर पनि घाट र मन्दिरहरूमा जान रोक लगाइएको हो ।
भ्रमण वर्ष अन्तर्गत गण्डकी प्रदेशका सदस्य नीरज थकालीले बौद्ध गुम्बाहरूमा प्रार्थना र अवलोकनका लागि कसैलाई पनि नआउन आह्वान गरिएको बताए । मुस्ताङमा धेरै देशका पर्यटकहरु जाने भएका कारण सङ्क्रमित व्यक्ति छिर्न सक्ने भएकोले कोरोनाको सन्त्रास कायम रहने बेलासम्म धार्मिक स्थलहरू बन्द रहने उनको भनाई छ।





