बागलुङ, १७ चैत – यतिवेला सारा विश्व एउटै उदेश्य र सोचकासाथ एकतावद्ध रुपमा अगाडि बढ्दैेछ, त्यो हो कोराना भाइरस संक्रमण विरुद्धको महाअभियान । यो अभियानमा विकासोन्मुख राष्ट्रदेखि समपन्न र शक्तिशालीसम्म सवै राष्ट्र एकठाउँमा छन । अन्तरद्वन्द्व, द्धेय, इस्र्या र कटुतालाई चटक्कै विर्सेर उनीहरु एउटा युद्ध जित्नै पर्ने अवस्थामा छन । कोरोना भाइरस संक्रमण विरुद्धको लडाई जित्न सवै आफ्नै गतिमा मैदानमा छन् । त्यो मैदानमा जसले जे गर्न सक्छ, त्यसरी नै सहभागिता जनाइरहेका छन् । नेपाल राष्ट्र पनि यो अभियानमा सवैलाई सहभागिता गराउदैछ ।
आइतवार वेलुका सरकारले एउटा निर्णय गर्यो, शहर बजारका घरधनीलाई एक महिनाको घर भाडा छुट गर्न अनुरोध गर्ने । सरकारको यो अनुरोधलाई धेरैले उपहास गरे । अनुरोध गरेर कसरी कार्यान्वयन हुन्छ प्रश्न उठाए । तर नेपाल सरकारका पूर्व राज्यमन्त्री (गरिबी निवारण तथा सहकारी मन्त्रालय¬) चम्फादेवी खड्काले त्यसलाई कार्यान्वयन गर्ने मात्रै होइन, अझ अगाडि बढेर गाउँबाट लिएको भाडा समेत छुट गर्ने घोषणा गरिन् । बागलुङ लालीगुराँशचोक निवासी खड्का दुर्घटनामा मृत्यु भएका संविधानसभाका सदस्य हरिवहादुर खड्काका श्रीमति हुन् ।
खड्काले बागलुङबजारको चल्तीकोचोक लालीगुराँशमा रहेको घर र जग्गा, बागलुङ नगरपालिका–१ रामरेखामा रहेको जग्गा र म्याग्दीको मंगला गाउँपालिकास्थित बावियाचौरमा रहेको जग्गाबाट मासिक भाडा लिदै आएकी छिन् । लालीगुराँशचोकमा रहेको घर र छाप्रा ब्यसायिक प्रयोजनमा छन् भने रामरेखाको जग्गामा दालमोट उधोग र ग्यारेज छन् । बावियाँचौरको जग्गा पनि ब्यवसायिक प्रयोगमा छ । यी सवै ठाँउबाट आउने मासिक भाँडा रु. १ लाख ७९ हजार छुट गरेको घोषणा गरेकी हुन् ।
‘कोरोना भाइरस विरुद्ध मुलुक नै ठप्प छ, यस्तोवेला मेरोतर्फ पनि सक्दो सहभागिता हुनुपर्छ भनेर मासिक रुपमा आउने सवै भाडा छुट गर्ने निर्णय लिएकी हुँ, हाल अमेरिकाको एट्लान्ट राज्यमा छोरासंगै रहेकी पूर्व राज्यमन्त्री खड्काले टेलिफोनमा ढोरपाटनलाई भनिन, समस्या परेको वेला एकले अर्काेलाई सहयोग गर्नुपर्दछ ।’ उनी छोरासंग भेटघाटका लागि एकमहिना पहिले मात्रै अमेरिका पुगेकी हुन् । ‘अमेरिकामा पनि सेल्फ लडकडाउनमा छौ, लकडाउनको पिडा मैले पनि वुझेकी छु, खड्काले भनिन्, संकटको वेला राज्यलाई अरु पनि सहयोग गरौं भन्ने थियो, यता भएकाले सकिन् । अहिलेलाई चैत महिनाको सवैतिरबाट आउने रु. १ लाख ७९ हजार भाडा छुट गरेकी छु ।’ अरु कुरा परिस्थितिमा निर्भर हुने वताईन ।
भाडा छुटले यहाँका ब्यवसायी सवैलाई खुशी बनाएको छ । भन्ने र गर्ने विचमा दुरी वढिरहको समयमा उनको हितकारी कदमले घर र जग्गा भाडामा लिएकाहरु हर्षित भएका छन् । उनको सटरमा लामोसमयदेखि कपडा तथा फेन्सी पसल गर्दै आएका बलराम गौतमले उनको घोषणाबाट आफुलाई ठूलो राहत मिलेको वताए । बजार ठप्प भएको बेलामा भएको घोषणाले हामीलाई खुशी बनाएको छ, गौतमले ढोरपाटनसंग भने, ‘उहाँको मनकारी सोच नै ठूलो कुरा हो । विगतमा पनि उहाँले हामीलाई घरभाडा छुट गर्नु भएको थियो ।’ गौतमले खड्कालाई मासिक २० हजार रुपैयाँ घरभाडा वुझाउथे ।
हितकारी मनकी धनी पूर्व राज्यमन्त्री खड्काले पहिला पनि घरमा वहालमा वस्नेहरु सवैलाई एक महिनाको घरभाडा छुट गरेकी थिइन । त्यतिवेला मुलुक लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा थियो । १९ दिने जनआन्दोलनको समयमा बजार वन्द थिए । त्यसबाट ब्यापारीहरुलाई ठूलो राहत मिलेको थियो ।
खड्काले सर्वसाधारणलाई सहयोग गर्ने मात्रै होइन, राज्यलाई तिर्ने कर पनि समयमा नै दिने गर्थिन । बागलुङ नगरपालिकाले त उनलाई नियमित करदाताको रुपमा सम्मान नै गरेको थियो । नगपालिकाले निर्धारण गरेको कर, नियमित र सवैभन्दा बढि वुझाई नगरको विकासमा महत्वपूर्ण योगदान पुराएकोमा नगरपालिकाले उनलाई आर्थिक बर्ष ०७२/०७३ मा नै सम्मान गरेको हो ।
बागलुङ-२ का जनप्रतिनिधी वडासदस्य अर्जुन घिमिरेले श्रीमानको सहयोगी भावनालाई उनले निरन्त्तरता दिइरहेको वताए । ‘वहाँले भौतिक सामग्री पनि सहयोग गर्ने चाहना राख्नु भएको थियो, घिमिरेले ढोरपाटनसंग भने, टाढा भएर अहिले त्यो सम्भव भएन, छिट्टै अर्काे सहयोग हुन्छ होला ।’





