तनहुँ, १८ चैत – कोभिड–१९ को जोखिम कम गर्न घोषणा गरिएको लकडाउनले उत्पन्न गरेको खाद्य सामग्रीको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन जिल्लाको म्याग्दे गाउँपालिकाले आपूर्ति अनुगमन समिति गठन गरेको छ । मंगलबार सम्पन्न गाउँ कार्यपालिकाको ८० औ बैठकले गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा उपाध्यक्ष बालकृष्ण घिमिरे, ७ वटै वडाका अध्यक्ष, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि भीमलाल श्रेष्ठ, नेपाल प्रहरीका प्रतिनिधि, उपभोक्ता हित संरक्षण प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख, सञ्चारकर्मी र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला रहेका छन् ।
समितिले दैनिक अत्यावश्यक वस्तु औषधि, खाद्यान्न, इन्धन, ग्याँस, पानी, पशुपंक्षीको आहारा लगायतका सामानहरुको सहज आपूर्ति व्यवस्था मिलाउने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । उपभोक्तालाई उचित मूल्यमा र सहज रुपमा खाद्य तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तु उपलब्ध गराउन आवश्यक प्रबन्ध गर्ने, दैनिक अत्यावश्यक वस्तुको विक्री वितरण गर्दा ग्राहक र विक्रेताबीचको भौतिक दूरी कायम गर्न सहजीकरण गर्ने, न्यूनतम एक मिटरको दूरी कायम गरी विक्री वितरण गर्ने लगायतका काम समितिले गर्नेछ ।
गाउँपालिकाले प्रत्येक वडामा वडाध्यक्षको संयोजकवमा वडा सदस्य, प्रहरी, उपभोक्ता हित संरक्षण समितिका प्रतिनिधि रहने गरी वडास्तरीय आपूर्ति समिति समेत गठन गरेको छ । गाउँपालिकाले ५० थान पिपिई, २५ हजार थान मास्क, ५ हजार थान स्यानीटाइजर, १४ थान थर्मल गन र ५ हजार थान पञ्चा प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
वडास्तरीय समितिले वडाभित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिको लगत सङ्कलन गर्ने निर्णय गरेको प्रवक्ता शिवशरण वाग्लेले जानकारी दिए । उनका अनुसार स्टोर्स वा विक्रेताले विक्री गर्दा दैनिक उपभोग्य वस्तुहरु रहने गरी कम्बो प्याकेज बनाई विक्री वितरण गर्ने, गाउँपालिकाभित्र घर भाडामा लगाउने धरनीलाई चैत महिनाको घर भाडा मिनाहा गर्न अनुरोध गर्ने निर्णय समेत भएको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा रु. २५ लाख विनियोजन गरी उक्त कोषबाट राहत उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष रानाले वताए ।
आफूखुशी राहत वितरण गर्न रोक
गाउँपालिकाले जथाभावी राहत वितरण गर्न रोक लगाउँदै गाउँपालिकाको स्वीकृतिले मात्रै राहत वितरण गर्न पाउने निर्णय गरेको छ । कुनै पनि निकाय, सङ्घसंस्था, व्यक्तिले सहायता दिन चाहेमा गाउँपालिकामा सम्पर्क गर्नुपर्नेछ । गाउँपालिकाको स्वीकृतिमा सहयोग सामग्रीहरु वडा स्तरीय समिति मार्फत् वितरण गरिनेछ । राहत वितरणलाई प्रभावकारी र पारदर्शी बनाउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नागिलाले वताए ।





